+
+

आईपीएलको उपाधिका लागि गुजरात र राजस्थान भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १२:५१

१५ जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १५औं संस्करणको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि पहिलो पटक आईपीएल खेलिरहेको गुजरात टाइटन्स र १४ वर्षपछि फाइनल पुगेको राजस्थान रोयल्स भिड्दैछन् ।

फाइनल खेल अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा राति ८:१५ बजे सुरु हुनेछ ।

हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात पहिलो पटक आईपीएल खेल्दा नै फाइनल पुगेर उपाधि नजिक पुगेको हो । लिगमा १४ मध्ये १० खेल जित्दै पहिलो भएको गुजरातले पहिलो क्वालिफायरमा लिगमा दोस्रो भएको राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेर फाइनलमा स्थान बनाएको थियो ।

क्वालिफायरमा पराजित भए पनि अर्को अवसरमा राजस्थानले रोयल च्यालेन्जर्स बेंगलोरलाई दोस्रो क्वालिफायरमा पराजित गरेर राजस्थानले फाइनलमा गुजरातसँग भेट पक्का गरेको हो ।

सन् २००८ मा भएको पहिलो संस्करणको च्याम्पियन राजस्थान त्यसयता पहिलो पटक फाइनल पुगेको हो । सन्जु सामसनको कप्तानीमा राजस्थानले यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

हार्दिकको कप्तानी रहेको गुजरातका लागि डेविड मिलर, रासिद खान, शुभमन गिल, ऋद्धिमान शाह, राहुल तेवाटिया, मोहम्मद शामी, लकी पर्गुसनल लगायतले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

राजस्थानको टिममा पनि यस पटक उत्कृष्ट खेलाडीहरु छन् । ओपनर जोस बटलरले यस सिजन चार शतक प्रहार गरिसकेका छन् र उनी उत्कृष्ट फर्ममा  छन् । कप्तान सन्जु सामसन पनि राम्रो खेलिरहेका छन् ।

लोअर अर्डर शिम्रोन हेटमायर र रियान परागले सम्हालिरहेका छन् । रियानको फिल्डिङ पनि उत्कृष्ट रहेको छ । बलिङमा रविचन्द्र आश्विन र युजभेन्द्र चहलको स्पीन जोडीले उत्कृष्ट प्रदर्शन गर्दा ट्रेन्ट बोल्ट र प्रसिद कृष्णाले फास्ट बलिङ सम्हालिरहेका छन् ।

लिग चरण र प्लेअफमा गरी गुजरात र राजस्थान दुई पटक भेट हुँदा दुवै पटक गुजरात विजयी भएको थियो । लिग चरणमा गुजरातले राजस्थानलाई ३७ रनले पराजित गरेको थियो ।

यसअघि राजस्थानमाथि हावी भएकाले गुजरातलाई फाइनलमा पनि केही फाइदा मिल्नेछ । यसअघिको लयलाई काम राख्दै पहिलो पटक उपाधि जित्ने लक्ष्यमा गुजरात छ । उता राजस्थानको लागि गुजरात विरुद्ध यसअघिका हारको बदला लिने अवसर आएको छ ।

यदि गुजरातले उपाधि जिते २०१६ पछि आईपीएलले नयाँ विजेता पाउनेछ । पहिलो संस्करणमा उपाधि जितेपछि फाइनल पुग्न १४ वर्ष कुर्नुपरेको राजस्थानले उपाधि जितेमा एक भन्दा बढी उपाधि जित्ने चौथो टिम बन्नेछ ।

अहिलेसम्म मुम्बई इन्डियन्सले सर्वाधिक ५ पटक उपाधि जित्दा चेन्नाई सुपर किंग्सले ४ र कोलकता नाइट राइडर्सले २ पटक उपाधि उचालेका छन् । राजस्थानसँगै डेक्कन चार्जर्स र सनराइजर्स हैदरावादले एक-एक पटक आईपीएलको उपाधि जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?