+
+
फिल्म समीक्षा :

‘कबड्डी ४’ : कमेडी र संवादमा टिकेको फिल्म

विष्णु शर्मा विष्णु शर्मा
२०७९ जेठ १५ गते २०:२०

तपाईं कस्तो फिल्म हेर्न चाहनुहुन्छ ? (क) हिरोले एउटै मुक्कामा दर्जनौं गुण्डालाई ढालेको, (ख) नवीन र गम्भीर दृश्यभाषामा आधारित, (ग) टाइमपास र पपकर्न फिल्म । तपाईं ‘ग’ वर्गमा अटाउने दर्शक हुनुहुन्छ भने ‘कबड्डी ४’ योग्य हुनसक्छ ।

चौथो श्रृंखलासम्म आइपुग्दा फिल्मको मूल आत्मा उही छ, वीरकाजी (दयाहाङ राई)को बिहे हुन्छ कि हुँदैन ? निकै हाइपसहित रिलिज भएको फिल्मको बटमलाइन काजीकै बिहेलाई लिएर हुने तानातान हो । समग्रमा यो फिल्म बिहेमा असफल मामुली पात्रको कथा हो ।

कथाको एकातिर वीरकाजी छ, जसको जीवनमा मैंया र सोल्टिनी आए अनि गए । बिहे मण्डपबाटै बेहुली भागेपछि वीरकाजी विरक्तिएको छ । सांसरिक मोहभंग भएको ऊ लामा बन्न गुम्बा पुग्छ, तर वंश जोगाउन घरबाटै दबाब छ । अर्कोतर्फ एउटा बिहे असफल भइसकेको, तर क्रुद्ध स्वभावको बमकाजी (सौगात मल्ल) छ ।

बिहेप्रति आकर्षण हराएको वीरकाजी र केटी देखेपछि पागल हुने बमकाजीजस्ता दुई विपरीत चरित्रको जीवनमा शान्ति (मिरुना मगर)को प्रवेशपछि आउने उथलपुथल फिल्मको कथा हो । भगाएर बिहे गर्ने चलन रहेको थाकखोलामा शान्तिलाई कसले भगाएर बिहे गर्ला ? वीरकाजी वा बमकाजी ? यो थाहा पाउन सिनेमा हलमा नै पुग्नुपर्छ ।

प्राविधिक तथा अभिनयको पक्षमा ‘कबड्डी ४’ औसत फिल्म हो । तपाईंलाई कमेडी ड्रामा विशेषतासहितका सामाजिक कथावस्तुमा आधारित फिल्म मनपर्छ भने ‘कबड्डी ४’ तपाईंका लागि योग्य हुनसक्छ । टाइमपास कमेडी फिल्म रुचाउने दर्शकलाई ‘कबड्डी ४’ रुचिकर हुनसक्छ ।

फिल्ममा नयाँपन के छ ?

फिल्म अघिल्ला तीन श्रृंखलाकै निरन्तरता हो । आवरणमा हेर्दा यसमा खास नयाँपन छैन । थकाली समाजमा रहेको जबर्जस्ती भगाएर विवाह गर्ने परम्पराकै विकसित रुप हो चौथो श्रृंखला । विवाहलाई लिएर थकाली समाजमा रहेको पितृसत्ताको एउटा स्वरुप पनि फिल्मले चित्रण गर्छ ।

दर्शकले बाहिरबाट हेर्दा अघिल्ला तीन श्रृंखलामा चित्रण भएजस्तै केटीलाई लिएर हुने भागदौड, खोसाखोस, चरित्रले बाँचिरहेका थाकखोलको परिवेश देख्न पाउँछन् । पन्च-लाइन ट्रेन्डसेटरको रुपमा ‘कबड्डी’कै मूल विशेषता पनि यसमा छ । कमेडी संवाद र दृश्यले दर्शकलाई इन्गेज तुल्याउँछ । अर्को शब्दमा भने चौथो श्रृंखलाको हिरो पनि यसको ‘पन्च-लाइन’ नै हो ।

आवरणमा त्यस्तो भव्य चीज छैन । आत्मा पनि वीरकाजीकै बिहेलाई लिएर हुने रस्साकस्सी हो । संसारका ठूला ब्रान्ड र सिक्वेलको फाइदा के हो भने कमजोरीलाई लुकाउन सकिन्छ । फिल्मको लेख्य संरचनाको समस्यालाई कमेडी र संवादका तत्वले लुकाइदिएका छन् ।

आत्माको पक्षमा चाहिं वीरकाजी, बिके, छन्त्याल र बमकाजीजस्ता चरित्रमा आएको मनोवैज्ञानिक परिवर्तन हो । अघिल्ला श्रृंखलामा केटीलाई पछ्याउने, लडाकु स्वभावको वीरकाजी चौथो श्रृंखलामा बिहेप्रति सकारात्मक छैन । ऊ प्रेम र बिहेलाई बोझ ठान्छ । बुद्धत्व पछ्याउँदै ऊ हिंसाविरोधी बनेको छ । ऊ नरम र दार्शनिक सुनिएको छ ।

केही नयाँ चरित्रको प्रवेश भएको छ । आवरणमा हेर्दा थाकखोलामा मोटरसँगै विकास पनि घुसेको छ । सुरुवाती सिक्वेलमा घोडामा कुद्ने वीरकाजी चौथो सिक्वेलसम्म आइपुग्दा मोटरमा बत्तिन्छ । सुविधाको पहुँच भए पनि चरित्र र उनीहरुको दृष्टिकोण उस्तै छ । चौथो श्रृंखलासम्म आइपुग्दा चरित्र सहरमैत्री छैनन् । सहरभन्दा गाउँमै बस्ने आकर्षण उनीहरुमा देखिएको छ ।

निर्देशन र पटकथा

निर्देशनको हिसाबले ‘कबड्डी’को चौथो श्रृंखला अघिल्ला तीनभन्दा अब्बल चाहिं छैन । दोस्रो र तेस्रो सिक्वेलमा जुनखालको निर्देशकीय सघनता निर्देशक रामबाबु गुरुङले पेश गरेका थिए, यसमा उनी ‘सिक्वेल कम्फर्टेबल’बाट मुक्त हुन नसकेको देखिन्छ । सिक्वेल निर्माणको सबैभन्दा फाइदा के हो भने प्रिक्वेलमा द्वन्द्व र चरित्र स्थापना भइसकेपछि नयाँ श्रृंखलामा त्यो झन्झट गरिरहनुपर्दैन ।

‘लिनियर’ कथावाचनमा चरित्रको आन्तरिक भोगाइमा आएको मनोवैज्ञानिक परिवर्तनबाहेक नयाँपन छैन । निर्देशक गुरुङले कोरोना महामारीपछि उद्योगलाई चलायमान बनाउने उद्देश्यले चौथो सिक्वेलमा अघि बढेको बताइसकेका छन् । उनको यो अभिव्यक्तिलाई केलाउँदा, कबड्डी चार सिर्जनात्मक पक्षभन्दा बक्स अफिस अंकगणितको उद्देश्यले अघि बढेको देखिन्छ । गुरुङको यो स्टेटमेन्टको प्रभाव निर्देशकीय आयाममा परेको महसुस गर्न सकिन्छ ।

फिल्मको मुख्य समस्या यसको पटकथामा देखिएको छ । फिल्म थ्री-एक्टको संरचनामै भए पनि द्वन्द्वको विकासक्रम र चरित्रको बहुचरित्रकरणमा समस्या छ । पटकथा लेखकले प्लटको ट्रिटमेन्टमार्फत दर्शकलाई इन्गेज तुल्याउन त खोजेका छन्, तर संरचनामा द्वन्द्वका ठूला इभेन्ट छैनन् । चौथो सिक्वेलको आयाम अघिल्लाभन्दा फराकिलो छैन । साँघुरो क्यानभासमा यसपटक रंगमंचको अभिनय शैली हाबी भएको देखिन्छ ।

अभिनय र प्राविधिक पक्ष

यसपटक वीरकाजीको चरित्रमा दयाहाङमा नयाँपन महसुस गर्न सकिन्छ । अघिल्ला तीन सिक्वेलभन्दा चौथोमा दयाहाङले ‘स्टेरियोटाइप’ तोड्न प्रयत्न त गरेका छन्, तर यो पर्याप्त छैन । अभिनयको आवरण र मनोवैज्ञानिक आयाममा यसपटक दयाहाङ चित्रित छन् । बमकाजीको चरित्रमा सौगात मल्ल लाउड छन् । सौगातको अभिनयमा रंगमञ्चको अभिनय शैली हाबी देखिन्छ ।

फिल्मको कथावस्तु शान्ति (मिरुना)कै वरपर घुमेको छ । अघिल्ला फिल्ममा भन्दा यसमा मिरुनाको अभिनयमा परिपक्वता देखिन्छ । क्लोज-सटमा समेत मिरुनाको चारित्रिक मिहिनता देख्न सकिन्छ । डेब्यु गर्ल गौमाया गुरुङको नन-एक्टर अभिनयले निराश तुल्याउँदैन । बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ र कविता आले चरित्रमा अब्बल छन् ।

अघिल्ला ‘कबड्डी’मा ध्वनि र छायांकन विधा पनि उत्कृष्ट थिए । चौथो श्रृंखलामा क्यामेरा र पाश्र्वध्वनि अपेक्षाकृत उत्कृष्ट लाग्दैनन् । सम्पादनले निराश तुल्याउँदैन । संगीत फिल्मको सशक्त पक्ष हो । ‘केशरी’ गीतले फिल्मको कथावस्तुलाई मर्मस्पर्शी तुल्याएको छ । गीतले बमकाजी र शान्ति चरित्रबीच सम्बन्ध स्थापनामा भूमिका खेलेको छ ।

प्राविधिक तथा अभिनयको पक्षमा ‘कबड्डी ४’ औसत फिल्म हो । तपाईंलाई कमेडी ड्रामा विशेषतासहितका सामाजिक कथावस्तुमा आधारित फिल्म मनपर्छ भने ‘कबड्डी ४’ तपाईंका लागि योग्य हुनसक्छ । टाइमपास कमेडी फिल्म रुचाउने दर्शकलाई ‘कबड्डी ४’ रुचिकर हुनसक्छ । गम्भीर दर्शकको लागि चाहिं यो फिल्म सकसपूर्ण हुनसक्छ ।

निर्माण कम्पनी : बाँसुरी फिल्म्स

निर्देशक : रामबाबु गुरुङ

कलाकार : दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल

छायांकन : शैलेन्द्र डी कार्की

सम्पादक : निमेष श्रेष्ठ

संगीत : कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्मा

लम्बाइ : २ घण्टा १७ मिनेट

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?