+
+

विकासका लागि कोरियाको विकास मोडेलबाट केही सिक्ने कि ?

स्वदेशी उत्पादन, स्वदेशी गहना, कपडा स्वदेशी, भाषा–संस्कृति र सँगै लगिने सभ्यताले देश समृद्धिको बाटोमा जाँदो रहेछ।

शालिकराम गौतम शालिकराम गौतम
२०७९ जेठ १८ गते ८:२४
Photo Credit : Pixabay

कोरियाली विकासमा सेमाउल उन्दोङ्ग (नयाँ गाउँ बनाउँ) को योगदान महत्वपूर्ण मानिन्छ। नेपालमा पनि विकास प्रयासमा विभिन्न मोडेलहरूको प्रयास नभएका भने होइनन्। तर, ती विकास मोडेलहरू नेपालको आफ्नैपन भएको विकासे मोडेलको रूपमा विकास गर्न सकिएन।

विभिन्न चरणमा ‘गाउँ फर्क अभियान’, ‘आफ्नो गाउँ आफैं बनाऔं’ जस्ता सोही प्रकृतिका विभिन्न देशहरूको सफल मोडेलहरू समेत यहाँ सञ्चालन भए र चल्दै समेत छन्। ती मोडेलहरू सफलतापूर्वक सफल हुनसकेका छैनन्। देश सङ्घीयतामा गएको अवस्थामा स्थानीय तह र प्रदेशमा प्रतिस्पर्धात्मक मोडेल र केही क्षेत्रमा संरक्षित क्षेत्र घोषणा गरी विकासमा लाग्नुपर्ने देखिन्छ।

कोरियाको विकास मोडेलबाट सिक्न सकिने महत्वपूर्ण पक्ष भनेको देश विकासका लागि चेतना विकास महत्वपूर्ण रहेछ। चेतना विकाससँगै उत्पादनमा आत्मनिर्भरताको खोजीसहित उद्योगको विकासमार्फत आफ्नो देश विशेषको महत्वपूर्ण वस्तु निर्यात नै देश विकासको बाटो हो। नागरिकमा राष्ट्रियता, देश निर्माण गर्ने मनोभावना र हुटहुटीले देश विकासतर्फ लम्कन्छ। स्वदेशी उत्पादन, स्वदेशी गहना, कपडा स्वदेशी भाषा र संस्कृति र सँगै लगिने सभ्यताले देश समृद्धिको बाटोमा जाँदो रहेछ।

आत्मनिर्भरताको खोजी नभएर परनिर्भरतामा रम्न थालेको देशमा स्वदेशी उत्पादन महङ्गो भए पनि किन्ने संस्कृति र भावनाको विकास हुन जरूरी छ। यसका लागि स्थानीय तहदेखि प्रदेश र सङ्घीय सरकारले सोही अनुसारको नीतिगत निर्णय गर्न जरूरी छ।

सामाजिक विकास र चेतनाको विकास

सन् १९७० देखि १९८० सम्मको दशक दक्षिण कोरियाको चेतना विकास र समृद्धिको आधारको दशकको रूपमा हेरिन्छ। कोरियामा विकासको जग बसाउने पार्कचुङ्ग राष्ट्रपतिको शासन अवधि नै सेमाउल उन्दोङ्गको विकास भएको चरणको रूपमा लिइन्छ र त्यसपछि मात्र कोरियामा उद्योगको विकास र औद्योगीकरणको बाटोमा लागेको पाइन्छ। सन् १९९० पछि दक्षिण कोरिया एक सफल औद्योगिक निर्यात गर्ने मुलुकको रूपमा विकास भएको हो। दक्षिण कोरियाका राष्ट्रपति पार्कचुङ्गले असल शासन र प्रतिस्पर्धात्मक मोडेलमा नयाँ गाउँ बनाउने र गाउँको मुहार कृषि क्रान्तिबाट सफल बनार्इ आत्मनिर्भरताको जग बसाए।

गाउँ गाउँमा नयाँ गाउँ बनाउने, आफू र घर परिवारसँगै पूरै गाउँको नै रूप फेर्ने बाटोमा लागेको पाइन्छ। चेतना विकास र सामाजिक अभियानले नै समाजमा रूपान्तरण ल्याउन सकिन्छ भनेर गाउँ बस्तीमा प्रतिस्पर्धाको आधारमा केन्द्र सरकारले सहयोग गर्ने र सो सहयोगको उपयोग र समाजमा देखिएको परिवर्तनका आधारमा थप सहयोग गर्ने प्रणालीको विकास र स्थानीय तहबाट जनप्रतिनिधि र कर्मचारीको विकास भएमा मात्र देश आत्मनिर्भरतामा जाने विश्वास लिइयो र सोही अनुसार लागियो।

कृषि क्रान्ति र रूपान्तरण

कृषि क्षेत्रमा कोरियाले देश सुहाउँदो बाली तथा बिरूवाका जातहरूको अध्ययन, अनुसन्धान गरिरहेको र सोही अनुसार उपयुक्त वातावरणमा हुने बाली र जातहरूको विकास गरी उत्पादन र उत्पादकत्व वृद्धिमा लागेको पाइन्छ। माटो सुधार, सिंचाइमा सुधार र आधुनिक प्रणालीको विकास, कम लागतमा उत्पादन हुने गरी फार्म मेशिनहरूको अध्ययन, अनुसन्धान गरी आधुनिक मेशिनहरूको विकास मार्फत सहज, सुलभ बीउ, बेर्नासहित बजार पूर्वाधारको विकास गरेको पाइन्छ।

कृषिमा फार्मको आम्दानी बढाउन स्थानीय उत्पादनमा खाद्य उत्पादनको पहुँचमा वृद्धि हुन जरूरी छ भने कन्भर्जेन्स कृषिको द्रुतदर विकास गरी कृषि बाहेकको फार्मको उत्पादन र आम्दानी बढाउनुपर्छ। स्मार्ट फार्महरूका माध्यमबाट उत्पादकत्व वृद्धिमा जोड दिऐ कृषि आयमा वृद्धि गर्नुपर्छ। साना र मझौला किसानहरूको बाहुल्य बढी भएकोले उनीहरूको उत्पादन र उत्पादन सामग्रीहरूमा पहुँच वृद्धि गराउन जरूरी छ। कन्भर्जेन्सका लागि विशेष शिक्षा, व्यक्तिगत तहमा सल्लाह, बेचविखनमा सहयोग आवश्यक मानिन्छ।

आत्मनिर्भर कार्यक्रम

सन् १९२० देखि १९४५ सम्म दक्षिण र उत्तरकोरिया जापानको शासनबाट ग्रसित हुन पुग्यो। त्यसपछिको गृहयुद्ध र उत्तर र दक्षिण कोरिया टुक्रिनु र अस्थिर र अराजक सरकारहरूको निर्माणले दक्षिण कोरिया खाद्य संकटमा पर्नुपर्‍यो। सन् १९७२ मा नेपाल सरकारले दक्षिण कोरियाका लागि खाद्यान्नमा सहयोग गरेको पाइन्छ। देशमा खाद्य संकट थपिंदै जानुले देश अस्थिर र अराजक बन्दै गएको र देश अस्तव्यस्त बनेको पाइन्छ। तसर्थ, देश कृषि उत्पादनमा र अन्य क्षेत्रको उत्पादनमा आत्मनिर्भरताको बाटोमा लागेन भने आयातमा रम्नुपर्ने र चाँडो कङ्गालको बाटोमा लाग्ने हुन्छ।

तसर्थ उत्पादन क्षेत्रमा राज्यको लगानी भएन भने अस्थिरता चाँडो आउन सक्छ। उद्योगको विकासले देशलाई आर्थिक रूपान्तरण र रोजगारीमा रूपान्तरण ल्याउँछ र सामाजिक द्वन्द्व समेत कमि भएर जान्छ।

हाम्रो जस्तो कम विकासशील देशले आत्मनिर्भरको बाटोको खोजीमा अब पनि नलाग्ने हो भने विश्वमा देखिंदै गइरहेको खाद्य संकट र अस्थिर राजनीतिक वातावरणले कुनै पनि समयमा नेपाललाई असहज, अराजक व्यवस्थातर्फ लैजाने देखिन्छ। तसर्थ, संरक्षित कृषि क्षेत्रको विकास मार्फत नै उद्योगको विकास गरी आत्मनिर्भरको बाटोमा लाग्नुपर्छ।

(दक्षिण कोरियाबाट कृषि विषयमा स्नातकोत्तर लेखक हाल कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेशमा बाली विकास अधिकृतस्तर आठौं तहमा कार्यरत छन्।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?