+
+
देउवामाथि प्रचण्ड दबाव :

दम्भ देखाए एमालेलाई झैं ठेगान लगाउने धम्की

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते २१:३५

१८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले दम्भ देखाए एमालेलाई झै ठेगान लगाउने चेतावनी दिएका छन् ।

नेकपा एमालेले गठबन्धन टुटाउन प्रयास गरिरहेका बेला प्रचण्डले दिएको अभिव्यक्तिले सत्तारुढ गठबन्धन टुट्न लागेको त होइन भन्ने प्रश्न उठेको छ । तर माओवादी र कांग्रेस नेताहरुले भने यसलाई प्रचण्डको दबाव दिने ‘चाल’ भनेका छन् ।

माओवादीका नेताहरुका अनुसार प्रचण्ड पाँचदलीय गठबन्धन तोडेर नेकपा एमालेसँग मिलेर वाम गठबन्धन बनाउन तयार देखिएका छैनन् । एमाले नेताहरुले अनौपचारिक रुपमा सम्वाद थालेपनि प्रचण्ड अझै पाँचदलीय गठबन्धनकै पक्षमा दृढ छन् ।

तर स्थानीय चुनावमा तालमेल प्रभावकारी नभएको मात्र होइन, रुकुम, रोल्पा लगायतका आफ्ना ‘आधार इलाका’हरुमा नेकपा एमालेसँग मिलेर हराउन खोजेकाले कांग्रेससँग असन्तुष्ट पनि छन् । यही अवस्था कायम रहे आगामी प्रदेश र प्रतिनिधिसभा चुनाव आफ्नो अनुकुल नहुने भएकाले प्रचण्डले कांग्रेसलाई दबाव दिने रणनीति लिएको माओवादी केन्द्रका नेताहरु बताउँछन् ।

प्रचण्डको असन्तुष्टि

माओवादी, एकीकृत समाजवादी लगायतका दलहरुले स्थानीय चुनावमा देशभर गठबन्धन गर्न चाहेका थिए । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि त्यही आश्वासन दिएका थिए । तर थुप्रै पालिकामा तालमेल हुन सकेन ।

तालमेल भएका कतिपय ठाउँमा ‘भोट ट्रान्सफर’ भएका कारण कांग्रेस उम्मेदवार जित्दा आफ्नो दलका उम्मेदवार हारेको माओवादी नेताहरु बताउँछन् ।

रोल्पा, रुकुम लगायतका जिल्लामा त माओवादीविरुद्ध कांग्रेस, एमाले र विप्लव समूहको समेत तालमेल भयो । बुधबार पार्टीबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममा प्रचण्डले यसप्रति असन्तुष्टि जनाए ।

‘महानगर र उपमहागरमा निकै बल गरेर (गठबन्धन) गरियो । मुलभूत रुपमा सफल भयो, तर त्यहाँ पनि शतप्रतिशत सफल भएन । तल गएपछि त गठबन्धन झण्डै झण्डै गठबन्धन जस्तो नरहेको देखियो,’ प्रचण्डले भनेका छन्, ‘जहाँ हामी बलियो छौं, त्यहाँ के कांग्रेस, के एमाले, के विप्लव सबै मिलेर हराउने प्रयास गरियो । रुकुम रोल्पा, कालीकोट जस्ता थुप्रै ठाउँमा त्यसो गरियो ।’

यद्यपि पाँचदलीय गठबन्धन पुरै असफल भयो भन्ने निष्कर्षमा आफू नरहेको उनले सुनाए । ‘जे उद्देश्यका निम्ति गठन भएको हो, त्यो कायमै छ । त्यसकारण गठबन्धन कायमै रहेन छ’, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेका छन्, ‘तर गठबन्धनभित्र हाम्रो संघर्षको स्वरुप बदल्नुपर्ने देखिएको छ ।’

कांग्रेसलाई दबावमा राख्ने रणनीति

स्थानीय निर्वाचनमा माओवादी केन्द्रले कतै गठबन्धनको बलमा त कतै एक्लै चुनाव जितेको छ । १२२ पालिकामा प्रमुख र १२८ पालिकामा उपप्रमुख जितेको माओवादी तेस्रो शक्ति बनेको छ । माओवादी अध्यक्ष प्रचण्ड भन्छन्, ‘१२२ त्यस्तो हो, जोसँग देशको राजनीतिलाई प्रभावित गर्न सक्ने तगत छ ।’
यही तागत देखाएर प्रचण्ड, सत्तारुढ कांग्रेसमाथि दबाव बढाउने रणनीतिमा देखिन्छन् । दम्भ देखाए एमालेलाई झै ठेगान लगाउने चेतावनीको शक्ति त्यही १२२ हो ।

एमालेमा जस्तै दम्भ कांग्रेसले देखाउँला कि भन्ने डर पैदा भएको भन्दै उनले भनेका छन्, ‘हामीले मिहिनेत गरेर प्रधानमन्त्री बनाएको हो, भइराख्नुस् भन्ने पनि छ । तर एमाले जस्तै अहंकार र दम्भ चुलिएर माओवादीलाई ठेगान लगाउने भन्यो भने एमालेलाई जस्तो ठेगान लगाउने दिन नआओस् ।’

माओवादी नेताहरुका अनुसार कांग्रेससँग चुनावी तालमेलबारे पार्टीमा प्रश्न उठेको छ । बुधबारको सम्बोधनसँगै उनले आम कार्यकर्तालाई माओवादी, कांग्रेससँग टाँसिएको छैन भन्ने सन्देश मात्र दिएका छैनन्, कांग्रेसलाई पनि दबाव दिएका छन् ।

‘कांग्रेससँग गठबन्धन तोड्नेभन्दा पनि अझ खदिलो भइदेओस्, भोट ट्रान्सफरको रेट बढोस् भन्नेमा हुनुहुन्छ । त्यसका लागि कांग्रेसलाई दबावमा राख्नुभएको छ,’ प्रचण्डको भाषणको अर्थ केलाउँदै माओवादीका एक नेता भन्छन्, ‘माओवादी कांग्रेससँग टाँसिएको छैन, आवश्यक पर्दा कुनै पनि पोजिसनमा जान सक्छ भन्ने सन्देश कार्यकर्तालाई दिनुभएको छ, जुन उहाँको स्वभाव पनि हो ।’

शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दा पनि प्रचण्डले ‘ओलीको अहंकार बाहेक एमालेका अरु नेतासँग समस्या छैन’ भनेर सहकार्यको ढोका खुला छ भन्ने सन्देश दिएका थिए ।

बुधबारको चेतावनीले प्रधानमन्त्री देउवालाई थप दबावमा राख्ने कांग्रेस नेताहरु पनि स्वीकार गर्छन् । देउवाले फेरि वाम गठबन्धन हुन्छ भनिरहने गरेको भन्दै एक नेता भन्छन्, ‘यस्तो कुरा जति बाहिर आउँछ, शेरबहादुर दाइ त्यति डराउनुहुन्छ । त्यसमा प्रचण्डजीले छिटो चुनाव गरेर धेरै सिट लिऊँ भन्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?