+
+

मधेश प्रदेशमा सांसदको संख्या घट्यो, १०१ कायम

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते १८:१७

२० जेठ, जनकपुरधाम । मधेश प्रदेशमा सांसदको संख्या घटेको छ । सुरुमा कुल १ सय ७ सांसद रहेको प्रदेशमा अहिले १ सय १ सांसद मात्रै छन् ।

स्थानीय तह निर्वाचनअघि दुई जना सांसदले राजीनामा दिएका छन् । रौतहटको क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित शेष अबुल कलाम आजाद र सर्लाहीको क्षेत्र नम्बर २ (ख) बाट र्विाचित उपेन्द्रप्रसाद कुशवाहाले राजीनामा दिएका छन् । केही दिनअघि मात्रै प्रदेश सांसद डिम्पल झाको निधन भएको थियो ।

त्यसअघि नेकपा माओवादी केन्द्रले नेकपा एमालेतिर लागेको भन्दै आफ्ना तीन जना सांसदलाई बर्खास्त गरेको थियो ।

कुन पार्टीसँग कति सांसद ?

कुल १०१ जना सांसद रहेको मधेश प्रदेशमा सबैभन्दा बढी सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का सांसद छन् । यसअघि ३७ सांसद रहेको जसपाका शेष अबुल कलाम आजादले राजीनामा दिएपछि यो पार्टीमा सभामुख र उपसभामुख गरी अब ३८ जना सांसद छन् ।

नेपाली कांग्रेसका यसअघि १९ सांसद थियो । उपेन्द्र कुशवाहले राजीनामा दिएपछि १८ जना बाँकी छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १६ जना सांसद थिए, डिम्बल झाको निधनपछि १५ जना सांसद छन् ।

नेकपा एकीकृत समाजवादीको १३, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ८/८ जना र नेपाल संघीय समाजवादी पार्टीका १ जना सांसद छन् ।

निर्वाचन आयोगलाई जानकारी

मधेश प्रदेश सभा सचिवालयले दुई जना सांसदको स्थान रिक्त भएको जानकारी निर्वाचन आयोगलाई गराएको छ ।

राजीनामा दिएका शेष अबुल कलाम आजाद र उपेन्द्र प्रसाद कुशावाहले राजीनामा दिएपछि दुबैको स्थान रिक्त भएको छ । आजाद र कुशवाहाको राजीनामापछि उनीहरु निर्वाचित स्थान रिक्तता सम्बन्धमा प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले निर्वाचन आयोगलाई पत्र पठाउँदै जानकारी गराएका छन् ।

१९ जेठमा बसेको प्रदेश सभा बैठकमा पनि सभामुख सरोज कुमार यादवले दुई जना सांसदको स्थान रिक्त भएको जानकारी गराएका थिए ।

उनीहरु दुबै जनाले पालिकाको प्रमुखमा उम्मेदवारी दिन प्रदेश सांसदबाट राजीनामा दिएका थिए । स्वतन्त्र उम्मेदवार भई प्रदेश सांसदमा निर्वाचित आजाद पछिल्लो समय जनता समाजवादी पार्टी जसपामा प्रवेश गरेका थिए ।

उनी गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदबार बन्न सांसद पदबाट राजीनामा दिएका थिए । यद्यपी उनी पराजित भएका छन् ।

नेपाली कांग्रेसबाट प्रदेश सांसदमा निर्वाचित कुशवाह कांग्रेसबाटै सर्लाहीको गोडैटा नगरपालिका मेयर पदमा उम्मेदवारी दिन राजीनामा दिएका थिए । उनी पनि निर्वाचनमा पराजित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?