+
+

माओवादीबाट दोहोरिएका जनप्रतिनिधि भन्छन् : जनताको सेवक बन्यौं

रामकुमार डिसी रामकुमार डिसी
२०७९ जेठ २१ गते १४:१२

२१ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिका लागि हालै काठमाडौंमा दुई दिने अभिमुखीकरण कार्यक्रम चलायो ।

राजधानीको कुमारी हलमा बुधबार र बिहीबार आयोजना गरिएको कार्यक्रमपछि हामीले दोस्रो पटकका लागि निर्वाचित केही जनप्रतिनिधिसँग भेट गर्‍यौं । र उनीहरुले अघिल्लो कार्यकालमा गरेको काम र दोहोरिन सफल हुनुको कारण र यो कार्यकालको योजना लगायतका विषयमा काुराकानी गरेका थियौं ।

रेनु दाहाल
प्रमुख, भरतपुर महानगरपालिका, चितवन

०७४ सालमा म निर्वाचित हुँदा एकदमै नयाँ परिवेश थियो । स्थानीय तहमा काम कारवाही पनि नयाँ थियो । अधिकारसम्पन्न स्थानीय सरकारका रुपमा असहजता बीचमा हामीले कार्यसम्पादन सुरु गरेका थियौं ।

स्थानीय जनप्रतिनिधि पहिले त आफू इमान्दार र जनताप्रति उत्तरदायी बन्नुपर्छ । धेरै विज्ञ भएर, विषयमा पोख्त भएर होइन कि निष्ठावान हुनुपर्‍यो । म गर्छु भन्ने अठोट, काममा लगनशीलता, पारदर्शिता स्पष्ट भिजन हुनुपर्‍यो । यसरी अगाडि बढ्यो भने हामीलाई बाधा अड्चन आउँदैन भन्ने मैले अनुभूत गरेँ ।

त्यस अनुसार काम गर्दा सुशासन, जवाफदेहिता, पारदर्शिता, बेरुजु फर््छ्यौट, न्यायिक समितिबाट न्याय सम्पादन गर्ने क्षेत्रमा हामी अब्बल बन्न सफल भयौं ।

हामीले यो पाँच वर्षको अवधिमा महानगरभित्रका सामुदायिक विद्यार्थी संख्या सात हजार बढाउन सफल भयौं । विद्यालयका पूर्वाधार प्रविधिमैत्री र सुविधासम्पन्न बनाउँदा सरकारी स्कुल पनि आकर्षणको केन्द्र बन्दो रहेछ । विगतमा सरकारी स्कुलमा विद्यार्थी घट्दो क्रममा थिए, विद्यालय मर्ज हुनुपर्ने अवस्थामा थिए । हामी निर्वाचित भएपछि पहिलो वर्षदेखि नै शिक्षाको क्षेत्रमा केही न केही सुधार ल्याउनुपर्छ भनेर सोच्यौं र हामीले शिक्षामा जोड दियौं ।

पाँच वर्षको अवधिमा यहाँनेर कमी कमजोरी भयो, नेतृत्व लिन सकेन, विकास गर्न सकेन, आर्थिक मितव्ययता भएन भनेर कसैले औंला उठाउन सकेन ।

उमेशप्रसाद भट्ट
अध्यक्ष, अजयमेयरु गाउँपालिका, डडेलधुरा

अघिल्लो कार्यकालमा हाम्रो गाउँपालिकामा सुत्केरी र नवजात शिशुको मृत्यु भएन । सबै गर्भवतीले स्वास्थ्य संस्थामै बच्चा जन्माए, सबै बच्चाले खोप लगाए ।

हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एउटा पनि जवाफ लेख्नुपरेन, मुद्दा पनि झेल्न परेन । बेरुजु सुदूरपश्चिम प्रदेशमै हाम्रो सबैभन्दा कम रह्यो ।

समृद्धि र सुशासनको व्यवहारिक प्रत्याभूति दिलाउन सकिएको छ भन्ने लाग्छ । सार्वजनिक सुनुवाइ हुँदा आलोचना भन्दा सुझाव र प्रशंसाका कुरा मात्रै आए । विपक्षीहरुले अहिलेसम्म एक दिन पनि तालावन्दी, ज्ञापनपत्र, ध्यानकर्षण पत्र र मागपत्र नबुझाएको कुराले हामी सन्तुष्ट बनाउन सफल भएका छौं भन्ने लागेको छ ।

कार्यतालिका र क्यालेन्डर निर्माण गरेर हामीले काम अगाडि बढाएका थियौं । समयको व्यवस्थापन हामीले मिलाएका थियौं । अतिरिक्त समय काम गर्दा कर्मचारीलाई प्रोत्साहन भत्ता दिने व्यवस्था मिलाएका थियौं ।

विज्ञहरुको रोष्टर हामीले निर्माण गरेका थियौं । अफलाइन र अनलाइनबाट हामीले उहाँहरुको सुझाव लिने गरेका थियौं ।

पाँच वर्षको अवधिमा ३४ महिना एकजना प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्नुभयो । अर्को प्रमुख प्रशासकीय अधिकृत ३० महिनादेखि त्यहीँ हुनुहुन्छ । अझैं एक वर्षजति बस्छु भनेर प्रतिवद्धता गर्नुभएको छ ।

भौतिक विकासलाई मात्रै विकास भन्ने मान्यतालाई हामीले चिरेका छौं । प्रभावकारी अनुगमन गरेका छौं, सार्वजनिक सुनुवाई गर्‍यौं । प्रविधिको उच्च प्रयोग गर्‍यौं ।
न्यायिक समितिले गरेको फैसलामा एउटा पनि पुनरावेदन परेन । क्षतिपूर्तिसहितको बडापत्र हामीले पहिलो बैठकबाट लागू गरेका थियौं । एक जना कर्मचारीलाई क्षतिपूर्ति तिराएका छौं । हामीले दण्ड र पुरस्कार गरेका छौं ।

मासु, दुध र तरकारीमा हामी आत्मनिर्भर भएका छौं । हाम्रो गाउँपालिकाका खसी काठमाडौंसम्म आइपुग्छन् । कुखुराको मासु र तरकारी सुदूरपश्चिमका बजारमा गइरहेको छ । पहिले एउटा टनेल पनि थिएन, अहिले पाँच सयवटा टनेलमा खेती भइरहेको छ ।

एक घण्टा भित्रै सबै स्वास्थ्य संस्थामा जनताको पहुँच हुन्छ । एक घण्टाभन्दा बढी हिँड्नु पर्दैन । गाउँको पैसा गाउँमै रोकौं भन्ने नारा हामीले लिएका छौं । सामूहिक कृषि गर्ने युवालाई हामीले बिना ब्याज ऋणको व्यवस्था गरेका छौं ।

भरत थापा
प्रमुख, बागमती नगरपालिका, सर्लाही

हामीले नेतृत्व लिइसकेपछि भ्रष्ट्राचार गर्नु हुँदैन र गर्न दिनु पनि हुँदैन भनेर लाग्यौं । हामी मालिक होइन, नोकर बन्नुपर्छ, जनता मालिक हो भनेर बुझ्नुपर्छ ।

आफ्नालाई विश्वास गर्ने बानी गर्नुपर्छ र विपक्ष्ीालाई माया गर्नुपर्छ । हामीले गाउँलाई सहर बनाउने नीति लियौं र हाम्रो नगरमा भएका सबै गरिब र झुपडीमा बसोबास गर्ने जनतालाई धनी कसरी बनाउन सकिन्छ भन्ने सोचेर काम गर्‍यौं भने जनताको मन जित्छौं ।

महिला र पुरुषबीच विभेद थियो, त्यसैले हामीले सुत्केरी भत्ता वितरण गर्‍यौं । छोरा र छोरीमा विभेद नहोस् भनेर हामीले छोरी पाउनेलाई पाँच हजार, छोरा पाउनेलाई तीन हजार रुपैयाँ सुत्केरी स्याहार खर्च दियौं ।

म निर्वाचित हुँदा २४ वटा सामुदायिक विद्यालय थियो । २५ सयको हाराहारीमा विद्यार्थी थिए । तर, हामीले शिक्षा ऐन कडाइका साथ जारी गर्‍यौं–सबै जनप्रतिनिधिले अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पठन पाठन गराउनुपर्ने । र, सबै कर्मचारीले पनि त्यहीँ पढाउनुपर्ने । हामीले गुणस्तरीय शिक्षा दिने भनेर कडाईका साथ ऐन जारी गरेपछि अहिले हाम्रो सामुदायिक विद्यालयमा भर्ना रोक्नुपर्ने अवस्था छ ।

हामीले रोग लाग्नु भन्दा रोग लाग्न नदिने कार्यक्रमको सुरुवात गरेका छौं । हामीले एक वडा, एक खेल मैदान भनेर काम अघि बढाएका छौं । हामीले उत्पादन सँगसँगै व्यवस्थापन र व्यवस्थापन सँगसँगै बजारीकरणमा जोड दिएका छौं ।

जति पनि पूर्वाधारका काम गर्छौं, जनतासँग जोडेर गर्ने हो भने आफैं सुशासन हुने रहेछ । उपभोक्ता समिति निर्माण गर्दा यो हाम्रो पार्टीको, यो अर्को पार्टीको भन्नु हुँदैन । समाजमा रहेका, समाजले चुनेका मान्छेलाई उपभोक्ता समितिमा जोडेर काम गरियो भने सबैलाई सुशासन सम्बन्धी ज्ञान हुन्छ ।

हामीले यो पालिका मेरो घर हो, घर जसरी चलाउँछु, त्यसरी अगाडि बढ्छु भन्ने सोच बनाउनुपर्छ । संसारले चिन्ने जसले नयाँ काम गर्छ, जसले नयाँपन दिनसक्छ, उसैलाई हो ।

भुपाल पोखरेल
प्रमुख, धुर्कोट नगरपालिका, गुल्मी

निर्वाचित हुनेबित्तिकै हामीले स्थानीय सरकार सञ्चालन ऐनबारे विज्ञबाट तालिम लिएका थियौं । सबै कर्मचारीलाई पनि तालिम दियौं । त्यसपछि कार्य सम्पादन मूल्यांकनमा हामी नेपालभर नै तेस्रो भयौं ।

हामीले ६ वटा कार्यपालिकाको बैठक चौरमा गरेका थियौं । अहिले आधुनिक भवन बनाएका छौं । गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाइसकेका छौं । दूधमा आत्मनिर्भर बनाउन जर्सी गाई वितरण गरिरहेका छौं ।

धुर्कोटमा सबैभन्दा ठूलो समस्या पिउने पानीको हो । ३५ सय घरधुरीमा २५ वटा लिप्ट आयोजना संचालन गरेर घरघरमा पानी पुर्‍ याएका छौं । यसले नागरिकमा खुसीयाली ल्याएको छ ।

निमबहादुर केसी
अध्यक्ष, दार्मा गाउँपालिका, सल्यान

कोभिड महामारी व्यवस्थापनमा गरेको कामले हामीलाई स्थापित गर्‍यो । कोभिडका बेला जनता सँगै रहेर काम गर्‍यौं । २५ वटा लिफ्ट प्रणालीबाट खानेपानीको व्यवस्थापन गरेपछि विशेष गरी महिलालाई धेरै राहत पुगेको छ । र, यसले हाम्रो जनमत सिर्जनामा पनि सहयोग पुर्‍यायो । हामीले सहकारीहरुलाई बढी प्रवद्र्धन गरेका छौं । दार्मा गाउँपालिकालाई दूध पकेट क्षेत्र बनाउने भनेर सहकारीमार्फत भैंसी पालनमा जोड दिएका छौं ।

२०७४ मा अरु सबै पार्टीको गठबन्धन एकातिर र हामी एक्लै हुँदा मुश्किलले चुनाव जितेका थियौं । अहिले हामीले हामीले ५२ प्रतिशत मतले जित्यौं । उम्मेदवार छान्दा पार्टीमा व्यापक छानविन गरेर सर्वसम्मत पठायौं ।

पार्टीको कमाण्डमा चल्ने र जनतालाई सानो–सानो कुरामा सेवा दिने हो भने सफल भइन्छ । आफ्नालाई छोड्नु भएन तर अरु जनतालाई समेट्ने कुरामा बढी ख्याल गर्नुपर्छ ।

असिम राई
अध्यक्ष, थुलुङ दुधकोशी गाउँपालिका, सोलुखुम्बु

सोलुखुम्बु जिल्लाको बिडम्बना के हो भने हामी सुत्दा दुई÷तीन लाख पैसा ओछ्यानमा राखेर सुत्नुपर्छ । कुन बेला के हुन्छ अनि हेलिकप्टर चार्टर्ड गरेर अस्पतालसम्म पुग्नुपर्ने हाम्रो बाध्यता छ ।

त्यस्तोमा स्वाथ्यका आधारभूत सेवा स्थानीय सरकारबाट उपलब्ध हुनुपर्छ भन्ने हिसाबले ५० शय्याको सामुदायिक अस्पताल हामीले सुरु गर्‍यौं । जनताको यति ठूलो सहभागिता बन्यो, जनताले १० करोड रुपैयाँ चन्दा दिनुभयो । हामीले ५० शय्याको प्रदेश १ कै आधुनिक अस्पताल निर्माण गरेका छौं ।

हामीले शिक्षालाई पनि प्राथमिकता दियौं । पढेकाहरु पनि बेरोजगार छन् भनेर प्राविधिक शिक्षा बढी दिनुपर्छ भन्ने हिसाबले प्रदेश नम्बर १ मै हामीले पहिलो बहुप्राविधिक विद्यालय स्थापना गरेका छौं । तीन वर्षे सिभिल इन्जिनियरिङ हामीले सुुरु गरेका छौं । कृषि विज्ञान सुरु गरेका छौं । यसले गर्दा आसपासका दुई/तीन वटा जिल्लाका विद्यार्थी हाम्रो पालिकामा आएर पढ्नुपर्ने अबस्था सिर्जना भएको छ ।

हामीले प्रदेश नम्बर १ कै नमुना रंगशाला पनि सञ्चालन गरेका छौं । स्वाथ्यसँग युवाहरुलाई जोड्नुपर्ने भएकाले पनि हामीले त्यसमा जोड दिएका हौं ।

पहिले मातृ मृत्युदर धेरै थियो । अहिले पनि एक जनाको पनि त्यस्तो घटना भएको छैन । हामीलाई सबैभन्दा गौरब त्यो कुरामा छ । एक घर, एक धारा सम्पन्न भएका छन् ।

कान्छाराम जिम्बा
अध्यक्ष, महाभारत गाउँपालिका, काभ्रे

निर्वाचित भएपछि हामीलाई अलिकति घमण्ड पनि पलाउँदो रहेछ । अनि आफू खुसी गर्न थालियो भने अर्को पटक हारिदो रहेछ । यस्ता धेरै अनुभव संगालिएको छ, हाम्रै पालिकामा केही वडा यही कारण गुम्यो ।

पार्टीले जे मार्ग निर्देशन दिन्छ त्यसलाई मानेर अगाडि बढ्दा हुने रहेछ भन्ने महसुस मैले गरेँ ।

मैले कार्यभार सम्हाल्दा ५७ वटा विद्यालयमा चार हजार ९ सय विद्यार्थी थिए अहिले ६ हजार ३ सय पुर्‍याएका छौं । हामीले निशुल्क औषधी पाउन घण्टौं हिँड्नपर्ने बाध्यता थियो । अहिले हामी ६८ प्रकारका औषधी निशुल्क दिन्छौं ।

हामीले त्यो औषधी प्रत्येक महिना घरदैलो अभियान चलाएर स्वाथ्य परीक्षण गर्दै वितरण गर्ने गरेका छौं ।

जुनसुकै काम गर्दा पनि हामीले जनताको सहभागितालाई पहिलो प्राथमिकता राख्यौं । हुन त अहिले देशैभरि उपभोक्ता समितिबाट काम गर्न हुन्न भन्ने कुरा आइरहेको छ । म चाहिँ त्यो भन्दा फरक छु । उपभोक्ता समिति गठन गर्दा आफ्नो कार्यकर्तालाई दियौं भने कुरा बिग्रन्छ, जनतालाई दियौं भने त्यस्तो नहुने रहेछ ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?