+
+

कलाकारलाई विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न दिन पहल गर्छु : मन्त्री आले

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २१ गते १८:५५

२१ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कलाकारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्नको लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

शनिबार राजधानीमा आयोजित नेपाल चलचित्र संघको ४७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री आलेले अन्य विशिष्ट व्यक्तिलाई जस्तै कलाकारलाई पनि यस्तो सुविधा दिनेतर्फ प्रयत्न गर्ने बताए ।

‘सोमबार मन्त्रालयमा आउनुस्, म गृह मन्त्रालयलाई चिठी लेखेर पठाउँछु’ आलेले भने, ‘सञ्चार मन्त्रालयले मलाई यसबारे जानकारी दिइसकेको छ । म यसबारे फाइल अघि बढाउँछु ।’

सरकारले परिचत्र पत्र दिएका विशिष्ट कलाकारले मात्र विमानस्थलमा विशिष्ट कक्षको प्रयोग गर्न पाउने समेत मन्त्री आलेले बताए । चलचित्र विकास बोर्डले यसबारे संचार मन्त्रालयमा यसअघि नै मागपत्र बुझाइसकेको छ ।

नेपाललाई फिल्म छायांकनको गन्तव्यको रुपमा विकास गर्न आफूले चलचित्रकर्मीसँग सहकार्य गर्ने बताउँदै मन्त्री आलेले कोभिड-१९ को महामारीका कारण प्रभावित फिल्म हललाई विद्युतको डिमान्ड शूल्कमा छुट दिलाउने प्रस्ताव आफूले मन्त्रिपरिषद बैठकमा लैजानेसमेत बताए ।

सो अवसरमा मन्त्री आलेले अभिनेता तथा निर्देशक नीर शाह, अभिनेता शिव श्रेष्ठ लगायतलाई सम्मान प्रदान गरे । साथै, वितरक गोपाल कायस्थ, संघका कर्मचारीद्वय  हुतराज शर्मा र विक्रम राईलाई सम्मान प्रदान गरिएको छ ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले फिल्म र पर्यटनलाई जोड्नेतर्फ पहल गर्न मन्त्री आलेलाई आग्रह गरे । वरिष्ठ निर्देशक नीर शाहले अहिलेको अवस्थामा फिल्मकर्मी एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताए ।

साधारणसभाले नयाँ नेतृत्व र कार्यसमिति चयन गर्नेछ । चलचित्र हलहरुको छाता संस्था रहेको चलचित्र संघका सदस्यहरु सभामा भाग लिन राजधानीमा भेला भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?