+
+
चुनावी समीक्षाः :

अन्तर्घात कि भोट क्रसिङ ?

जनता दल र तीसँग सम्बन्धित उम्मेदवार छान्ने प्रक्रियादेखि असन्तुष्ट रहेछन्। उम्मेदवारको रूपमा देखिएका अनुहारप्रति मोहभंग भैसकेको रहेछ। चुनावी परिणामले त्यस्तै छनक दिन सक्यो। गढहरू भत्किए। त्यो गढको नाममा रकमी उम्मेदवार छनोट गर्ने दलहरूको घमण्डमा थप्पड लाग्यो।

आरसी न्यौपाने आरसी न्यौपाने
२०७९ जेठ २२ गते १०:२१

अन्ततः स्थानीय चुनाव २०७९ पनि सकिएको छ। चुनावी परिणाम पनि लगभग आई नै सकेको छ। तालमेलको नाफाघाटाको हिसाबकिताब र विश्लेषण पनि भइरहेको छ। तर, खास मुद्दा यो हुँदैहोइन। यहाँ मतदानको प्रवृत्ति (प्याट्रन)को विश्लेषण गर्न खोजिएको छ।

मतको रुझान अनुसार यस पटकको स्थानीय निर्वाचन परिणाम चर्चा गर्न लायक छ। कहींकतै पैसाको खेल, कहींकतै गठबन्धनको झेल। कहीं विवेकको मत त कहीं भोजभतेरको। विगतको जस्तो आम मतदातालाई मासु–रक्सीमा बिकेको आरोप प्राय: छैन। यसपटकको निर्वाचन परिणामले कोही हौसिएका छन् त कोही शर्मनाक पराजयको कारण विश्लेषण गर्न थालेका छन्।

प्रमुख प्रतिपक्षी दल एमालेले त पार्टी पङ्क्तिको अन्तर्घातले चुनावमा सिट संख्यामा खुम्चिनुपरेको भनेर बारम्बार स्वघोषणा गरिरहेको छ। सत्ता पक्षका कतिपय दल एकअर्काको मतदाताको मत प्रयोग अनुचित तवरले गरिएको आरोप–प्रत्यारोपमा छन्। कोही अर्को पार्टीको उम्मेदवारलाई इमानदारीपूर्वक मत नसरेको भन्ने आरोप लगाउन व्यस्त छन् त कोही कहीं कतै जे जे भए पनि आफ्नो अस्तित्व, स्वत्व जोगाइएकोमा मक्ख छन्। जित्नेका त के कुरा सिकन्दरै भइहाले।

अघिल्लो २०७४ को स्थानीय निर्वाचनमा मेरो मतदानको कर्तव्य पूरा गर्नुपर्छ भन्ने आत्मबोध जागेन। कारण थियो उम्मेदवारहरूको अनुहार, भावभङ्गी। आशा कसैप्रति थिएन बालेनको जस्तै। निराशामै यो ५ वर्ष बित्यो पनि। अहिलेको सन्दर्भ पनि उस्तै छ। तर यसपटक भने मतदान गर्ने निर्णय गर्नुमा, चुनावी रमिता अवलोकन गर्ने र समीक्षा गर्ने लक्ष्यसँग सम्बन्धित रह्यो। मेरो बुझाइ अलग हो कि साँच्चै मत रुझानका आधारमा म यो चुनावी परिणामलाई अन्तर्घात भन्न रुचाइरहेको छैन। तर यो पनि ठाउँ विशेष। किनकि कतिपय ठाउँमा अन्तर्घात पनि विल्कुल भएकै छ, सप्रमाण।

यसैले यो चुनावी नतिजाले न मलाई कुनै पार्टीलाई वाह् ! भन्ने जोस छ न त कसैलाई उफ् ! भन्ने जाँगर नै। एकातिर सिट संख्याको चर्चा छ त अर्कोतिर लोकप्रिय मतको वाहवाही। वास्तवमै कसले जित्यो कसले हार्‍यो खुट्याउन गाह्रो भएको छ यदि हामी दलगत विश्लेषणतिर लाग्यौं भने।

खैर यो त विश्लेषणयोग्य कुरा हो भन्ने पनि लाग्दैन। म अन्तर्घात र भोट क्रसिङ भन्ने शब्दमा खासै बेमेल पाउँदिन। अँ भन्न सक्नुहुन्छ अन्तर्घात कार्यकर्ताले गर्छन्, भोट क्रसिङ चाहिं आम मतदाताले। त्यो आम मतदाताभित्र कार्यकर्ता पनि पर्छन्।

जेहोस् अन्तर्घात भनौं या भोट क्रसिङ चाहिं भएकै छ। लालकिल्ला, गढ लगायत शब्द सुन्न हामी अभ्यस्त थियौं। यसपटक दलको ‘कोर एरिया’ हराए। र त, यसपटकको प्रायः समाचारले भनिरह्यो- ‘पूँजीवादी पार्टी’को गढमा कम्युनिस्ट विजयी भयो र लालकिल्लामा ‘पूँजीवादी पार्टी’ लोकतान्त्रिक शक्ति विजयी भए।

२०६२/६३ को आन्दोलनपछि दलीय एजेण्डाको ओइरो लाग्यो। माओवादी भन्ने शक्ति आजको नेपालको सारा एजेण्डा आफ्नो भन्दै चिच्याइरहेको छ। तर माओवादीलाई शान्ति प्रक्रिया हुँदै संसदीय भासमा डुबाएकोमा गर्व गर्छ कांग्रेस।

अर्कोतिर रह्यो माओवादी र कांग्रेस दुवैलाई गाली गर्नसक्ने एमाले। यो पार्टीले कार्यकर्तामा जबर्जस्त माओवादी र कांग्रेस नेपालको अहित सोच्ने भीड हो भन्ने भाष्य स्थापित गर्न प्रयत्न गर्‍यो। यही दुई ध्रुवमा विभाजित बीचको भिडन्त बन्यो यो स्थानीय निर्वाचन। यो रोचक भिडन्तमा केही स्वतन्त्र उम्मेदवारको उदय भएको छ। उनीहरूले शक्तिशाली राजनीतिक दललाई घोरिन बाध्य तुल्याएका छन्।

राजनीतिक दलहरू कतिसम्म ढिट छन् भने आफूले पैदा गरेको नैराश्यताले स्वतन्त्रको क्रेज बढ्यो भन्ने स्वीकार्ने आँट गर्दैनन्। बरु भिडाइदिन्छन् कार्यकर्ता पंक्तिमा कि फलानोको अन्तर्घातको कारण हारियो। त्यसो त स्वतन्त्र जनप्रतिनिधिहरूको पनि राजनीतिक असंलग्नताको आधार पुष्टि गर्न सजिलो छैन। विगत उनीहरूको पनि छ। कतिपय बागी स्वतन्त्र छन्।

बालेन साह र हर्कहरू आजको शहरी विकास, सुविधा र समृद्धिको लागि अनुमोदित पात्र हुन्। त्यति मात्र होइन दलहरू र शीर्ष नेता गणमा पलाएको व्यक्तिवादी चरित्र, मतदातालाई हेप्ने प्रवृत्ति, घमण्ड, अहंकार, दम्भमाथिको झापड हो। जनसंख्या र भूगोलको आधारमा नगर, उप र महानगर घोषणा गर्ने तर त्यो संरचना बन्न आवश्यक न्यूनतम पूर्वाधार निर्माणको पहलसम्म गर्ने योजना नभएका व्यक्ति उम्मेदवार बनाएर रजगज गर्ने कुत्सित योजना माथिको प्रहार हो। बुख्याँचा खडा गरेर तल्लो निकायसम्म आफ्नो नियन्त्रण कायम गर्ने ध्येयमाथिको प्रहार हो।

देश धर्मनिरपेक्ष, संघीय गणतन्त्र कायम भएको संविधान जारी भएपछि राजनीतिक दलहरू विकास र समृद्धिको नारा घन्काउन अभ्यस्त छन्। यहाँसम्म दलहरूको रणनीतिमा कुनै असमर्थन छैन। कुनै विस्मय छैन। तर उम्मेदवार छनोटको प्रक्रिया हेर्दा प्रतीत हुन्छ कि यहाँ ठूलै रकमको चलखेल हुनुपर्छ। निर्वाचन त्यत्तिकै खर्चिलो छ।

स्थानीय चुनावको मतपरिणामले नागरिक दलीयकरणबाट राजनीतीकरणको बाटोमा अग्रसर भएको संकेत मिलेको छ। पार्टी सदस्यको कागज च्यातेर विवेकको प्रयोग गर्ने मतदाता बढिरहेको भान हुन्छ। अझ अध्ययन र रोजगारीको सिलसिलामा विदेशमा रहेका युवा मतदाता स्वदेश आउन सके राजनीतिमा ठूलै खैलाबैला हुने सम्भावना देखिन्छ। विदेशमा हुनेले राजनीति नगर्ने र स्वदेशमा हुने केवल दलको झण्डा मात्रै बोक्ने अवस्थाबाट देशले मुक्ति खोजेको संकेत यो निर्वाचन परिणामले देखाएको छ। युवा कुनै झन्डाको पहरेदार नभए नेपालमा टिक्नै नसक्ने अवस्थाको अन्त्य हुने संकेत देखाएको छ।

मैले राजनीतिक दलमा खासगरी तीनथरी कार्यकर्ता देखेको छु –

इमानदार कार्यकर्ता

यो समूहमा ४० वर्ष नाघिसकेका कार्यकर्ता पर्छन् जो २०४६/४७ तिर काङ्ग्रेस/कम्युनिस्टको रूपमा विभक्त भएका थिए। कतिपय चर्चित आदर्शवादी नेताका भाषणको भरमा परेका उनीहरूले चुनाव चिन्ह चिनेका छन्। पार्टीले उठाएको उम्मेदवारको सोधीखोजी गर्दैनन्। तुलनात्मक रूपमा एउटा आशामा बाँचेका छन्। समाजका लागि पाच्य दुईचार जनाले पत्याउने खालका छन्। यो पंक्तिको विशेषता भनेको आँखा चिम्लेर आफ्नो आस्थानुकूल मतदान गर्नु हो। आफ्नो राय मान्नेहरूलाई आफ्नो आस्थामा आधारित भएर मतदान गराउन उनीहरूले मद्दत गर्दै आएका छन्।

अवसरवादी कार्यकर्ता

यो भीडको व्याख्या २-४ लाइनमा गर्नै सकिन्न। यो भीडको आफ्नो विशेष विशेषता भनेको आफ्नो फाइदानुकूल जनमत निर्माण गर्नु हो। यो भीडसँग कुनै एकदलीय पृष्ठभूमि पाउन गाह्रो छ। यो भीड उम्मेदवारसँग रकममा, फाइदामा आस्था बेचेर जनमत बनाउन क्रियाशील छ। यो भीडसँग कुनै राजनीतिक/सामाजिक मूल्य, मान्यता छैन। यो भीड उदण्ड, अराजक, अराजनीतिक प्रतीत हुन्छ।

सचेत कार्यकर्ता

काठमाडौंका मेयर विजेता बालेन र धरान उप-महानगरका विजेता हर्कले स्वतन्त्रसँगै पार्टीका समर्थक र केही कार्यकर्ताको पनि मत पाएका छन्। किनकि कम्तीमा एक घर एक कार्यकर्ता रहेको गाउँमा कार्यकर्ताको मत नपाई चुनाव जित्न मुस्किल छ। यद्यपि, शहरमा द्विविधाग्रस्त मतदाता भेट्नै मुस्किल छ। यो जमात कहीं न कहीं उम्मेदवार छनोटमा उम्मेदवारको नाडी छाम्न विवेकी छ। सुसूचित छ। जिम्मेवार छ। यो जमात लोपोन्मुख छ यो पुँजीवादी, अवसर खोज्ने मानव भीडमा।

यो जमातले पार्टी र आस्थाप्रति अन्तर्घात त पक्कै गरेका छन् तर जिताएका अनुहार अनुकरणीय छन्। उदाहरण दिनलायक छन्। कम्तीमा चुनाव खर्च गरेर, मतदाताको मानसपटलमा, विवेकमा खेलेर, चुनाव चिन्ह देखाएर जितिन्छ र त्यसको लागि जुनसुकै नीति अपनाउँदा पनि ठिक हुन्छ भन्ने अराजक, जिम्मेवारविहीन सोचका उम्मेदवार हराए। यसैले म विवेकसंगत मतदानलाई अन्तर्घात भन्दिनँ, यसलाई भोट क्रसिङ भन्छु।

बालेनको समर्थनमा काठमाडौंका सचेत युवाको ठूलै जमात थियो। बौद्धिक वर्ग खटिएका थिए, परिवर्तनको लागि। जनता दल र तीसँग सम्बन्धित उम्मेदवार छान्ने प्रक्रियादेखि असन्तुष्ट रहेछन्। उम्मेदवारको रूपमा देखिएका अनुहारप्रति मोहभंग भैसकेको रहेछ। चुनावी परिणामले त्यस्तै छनक दिन सक्यो। गढहरू भत्किए। त्यो गढको नाममा रकमी उम्मेदवार छनोट गर्ने दलहरूको घमण्डमा थप्पड लाग्यो। वडाध्यक्षको लागि लाखौं र मेयरका लागि करोडौं खर्च गर्ने एकप्रकारको गलत प्रवृत्तिमा यी विजेताहरूले राम्रो पाठ पढाएका छन्। विना भीडभाड, नगन्य रुपैयाँको खर्च, विना प्रचारप्रसार, हर्क राईहरूले जित्दा खुसीको आँसु झारेर रुन मनलाग्दो रहेछ।

अन्यत्र पनि यस्ता धेरै उम्मेदवार छन्, जसलाई जनताले पत्याएका छन्। भलै स्वतन्त्र नहोलान् तर गढ र किल्ला भत्काउन भूमिका खेलेका छन्। दलहरूको चुनावी चिन्हको घमण्डलाई चकनाचुर बनाइदिएका छन्। अराजक, विवेकहीन, गलत पृष्ठभूमि भएका र स्थानीय मतदातासँग कहिल्यै नजोडिएका उम्मेदवार अस्वीकृत भएका छन्। कुनै कार्यक्षमता देखाउन नसकेका, कार्यकर्ता र पार्टी पोस्ने व्यवहार र आचरण देखाउने, जनगुनासोको अनादर गर्ने र समस्या हल गर्न भन्दा कमाउ धन्दामा व्यस्त रहने नेता पनि अस्वीकृत भएका छन्। जनताको करको दुरूपयोग गर्ने, भिजन नभएका, आकाशे खेती तुल्य भ्यु टावर विशेष काममा बजेट सकेका, डोजर आतंक मच्चाएर यही हो विकास भन्ने प्राय: कुपात्र बढारिएर नयाँ पात्र आउनु कसरी अन्तर्घात हुनसक्छ ? यो त सरासर भोट क्रसिङ हो।

२०६४ को संविधानसभा निर्वाचनमा माओवादी पहिलो शक्ति बन्यो। २०७० को निर्वाचनमा त्यही शक्ति तेस्रो भयो। यो निर्वाचनसम्म आइपुग्दा पनि तेस्रो शक्तिकै रूपमा देखा परेको छ। यसरी संगठन र मताधारमा उभिएर हेर्ने हो भने र अहिलेको १५ प्रतिशत आसपासको मतभार भएको पार्टी २०६४ मा किन ठूलो भयो ? यसको जवाफ अन्तर्घातमा खोज्ने कि भोट क्रसिङमा ? यसको फरक कसरी बुझ्ने ?

सजिलो छैन स्वतन्त्रलाई

अर्कोतिर मतपरिणाम अनुसार हौसिएका स्वतन्त्र विजयीहरूलाई यो कार्यकाल फलामे चिउरा चपाउन झैं कठिन हुने देखिन्छ। काठमाडौं नगरसभाको पहिलो बैठक र फोहोर व्यवस्थापनको समस्याले यही संकेत गरेको छ। आफ्नो गढ र किल्ला भत्किएको पीडा दलहरूले पोख्न सक्छन्। संख्याको समीकरण पनि त्यस्तै छ। नगर/पालिका सभामा बहुमत एउटा पार्टीको र मेयर अर्को पार्टी या स्वतन्त्र। काम गर्न असहज वातावरण त त्यत्तिकै हुने भैहाल्यो। यसमा विजयीहरूले जनमत प्राप्त गरेर जुन विश्वास आर्जन गरेका छन्, क्षमतामा आधारित भएर काम गर्न सक्नुपर्छ। राम्रो काम गरेर जनतालाई सँगै लिएर हिंड्नुको विकल्प छैन।

अन्त्यमा, घात, प्रतिघात, अन्तर्घात वा मैले भनेको भोट क्रसिङ जे भएर विजेता बनेका भए पनि विजेताहरूलाई बधाई र सफल कार्यकालको शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?