+
+

एकीकृत समाजवादीबाट मन्त्री बन्न लागेका ५ नेता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते २१:०७
एकीकृत समाजवादीबाट मन्त्री बन्न लागेका नेताहरु बाँयाबाट क्रमश: जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, मेटमणि चौधरी, भवानी खापुङ र हिरा केसी ।

२२ जेठ, काठमाडौं । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीले मन्त्रिपरिषदमा आफ्नो भागमा रहेका पाँच जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्‍मा एकीकृत समाजवादीको भागमा परेका ६ मध्ये ५ जना मन्त्रीलाई हेरफेर गर्ने निर्णय गरेको हो ।

यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामा विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा प्रेमबहादुर आले, शहरी विकासमा रामकुमारी झाँक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामा कृष्णकुमार श्रेष्ठ मन्त्री थिए । स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ थिए ।

अब भवानी खापुङ स्वास्थ्यमन्त्री बन्नेछन् भने जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर सामाजिक सुरक्षामन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नेछन् । एकीकृत समाजवादीबाट नै कानुनमन्त्री बनेका गोविन्द बन्दीको पद भने यथावत छ ।

जीवनराम श्रेष्ठ

नेकपा एकीकृत समाजवादीका उपमहासचिव जीवनराम श्रेष्ठ हेरफेर भएको मन्त्रिपरिषद्मा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नेछन् । यसअघि एकीकृत समाजवादीकै नेता प्रेमबहादुर आलेले पर्यटन मन्त्रालयकै जिम्मेवारी सम्हालिरहेका थिए ।

नयाँ मन्त्री बनेका श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित प्रतिनिधिभा सदस्य हुन् । उनले २०७० मा भएको दोस्रो संविधानसभाको चुनावमा कांग्रेस नेता नविन्द्रराज जोशीसँग निकटतम प्रतिद्वन्द्वी भएका थिए । उनले ०७४ को आम निर्वाचनमा उनै जोशीलाई पराजित गरेका थिए ।

नेकपा एमाले विभाजनपछि एकीकृत समाजवादीका उपमहासचिव बनेका श्रेष्ठ त्यसअघि पार्टीको केन्द्रीय समिति सदस्य थिए । पार्टी विभाजनका समयमा अध्यक्ष माधव नेपाललाई साथ दिएका उनी सक्रिय रूपमा एकीकृत समाजवादीको गठन र संगठन विस्तारका काममा लागेका थिए ।

उनी एकीकृत समाजवादीको प्रतिनिधिका प्रमुख सचेतकसमेत हुन् । ०४२ देखि नेकपा (माले)मा प्रवेश गरेर राजनीतिक यात्रा थालेका उनी तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सदस्य, केन्द्रीय सचिव, विदेश विभाग प्रमुख हुँदै केन्द्रीय उपाध्यक्षसम्म बने । तत्कालीन नेकपा (एमाले) को बुटवलमा सम्पन्न आठौँ महाधिवेशनले वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिएको थियो ।

उनी एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपाको काठमाडौं इञ्चार्ज समेत थिए । त्यसअघि ०५३ र ०६४ मा गरी दुईपटक राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव बनेका थिए ।

मेटमणि चौधरी

शहरी विकासमन्त्री बन्न लागेका मेटमणि चौधरी एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पार्टीको लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष हुन् । उनी दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूबाट राजनीति सुरू गरेका चौधरी पार्टीको नवौं महाधिवेशनबाट केन्द्रीय समिति सदस्यमा चयन भएका थिए । विद्यार्थी संगठनका विभिन्न कमिटीमा बसेर सक्रिय राजनीति गरेका उनले स्कूल विभागको केन्द्रीय सदस्य भएर समेत काम गरेका थिए । उनी २०५९ सालमा जेलमा समेत परेका थिए ।

यसबाहेक उनी मानव अधिकार जागरण मञ्च दाङको संयोजक, कमैया मुक्ति मञ्च नेपालको केन्द्रीय सदस्य, थारु विद्यार्थी समितिको केन्द्रीय कोषाध्यक्ष र थारु कल्याणकारी संघको केन्द्रीय सदस्यको जिम्मेवारी समेत पूरा गरेका थिए ।

उनले राजनीति शास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन गरेका छन् ।

भवानी खापुङ

स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्न लागेका भवानी खापुङ यसअघि सोही मन्त्रालयमा राज्यमन्त्री थिए । उनको पार्टी एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने क्रममा उनलाई राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा गरेको छ ।

खापुङ एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन् भने तेह्रथुम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । राजनीतिमा आउनु पहिले शिक्षण पेशामा रहेका उनी ०५४ को स्थानीय चुनावमा मोराहाङ गाविस अध्यक्षमा निर्वाचित भएका थिए ।

त्यसपछि ०६४ को संविधानसभा निर्वाचनमा पराजित भएका खापुङ ०७० मा तेह्रथुमबाटै निर्वाचित भएका थिए ।

शेरबहादुर कुँवर

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्न लागेका कुँवर राष्ट्रियसभाका पूर्वसदस्य हुन् । उनको चार वर्षे कार्यकाल गत वर्ष २० फागुनमा सकिएको थियो । त्यसअघि उनी एकीकृत समाजवादीको राष्ट्रियसभा तर्फका प्रमुख सचेतक समेत थिए ।

कुँवर ०३८ सालदेखि नेकपा एमालेको संगठन अनेरास्ववियूमा आबद्ध भएर राजनीतिमा लागेका थिए । त्यसपछि ०४७ सालमा अछाम जिल्ला कमिटीको अध्यक्ष बनेका उनी ०४९ सालमा एमालेको जिल्ला कमिटी सचिवालय सदस्य बनेका थिए ।

एमालेमा रहँदासम्म पार्टी केन्द्रीय समिति सदस्य र एमालेको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रहेका कुँवर एकीकृत समाजवादीको प्रदेश कमिटी उपाध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?