+
+

पार्टी जोगाउन आलोपालो मन्त्री

रामकुमार डिसी रामकुमार डिसी
२०७९ जेठ २२ गते २१:१६

२२ जेठ, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भएको करिब ८ महिनापछि नेकपा एकीकृत समाजवादीले मन्त्रीको ‘सेट’ नै हेरफेर गरेको छ ।
आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले यसअघिका (स्वास्थ्य राज्यमन्त्री) बाहेक सबैलाई फिर्ता पठाउँदै नयाँ नाम सिफारिस गरेको हो ।

प्रधानमन्त्री देउवालाई पठाइएको नाममा जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा रहेका छन् ।

यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका खापुङ स्वास्थ्य मन्त्रीमा बढुवा भएका छन् भने स्वास्थ्य राज्यमन्त्रीका रुपमा हिरा केसीले मन्त्रिपरिषदमा प्रवेश पाउने भएका छन् ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार सर्वोच्च अदालतको आदेशबाट विस्थापित भएपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा गत असोजमा विरोध खतिवडाको नेतृत्वमा एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री सरकारमा पठाएको थियो ।

खतिवडा स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए भने शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी थिए ।

नेता झलनाथ खनालका अनुसार पहिलो चरणमा मन्त्री हुनेहरुको कार्यावधी ६ महिनाको मात्रै थियो ।

अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया र पूर्व निर्धारित विषय भएको प्रतिक्रिया दिएका छन् । ‘यो नियमित प्रक्रिया हो,’ अध्यक्ष नेपालको भनाइ छ, ‘सुरूदेखि नै छ महिनाका लागि भनिएको हो । यो रेगुलर प्रोसेस हो ।’

पार्टी जोगाउन हेरफेर

देउवा सरकारमा सहभागि दलहरुको शक्ति सबैको हारहारीको छैन । तर, मन्त्रिपरिषदमा सहभागिता भने नेपाली कांग्रेसबाहेक दलको उस्तै हैसियतमा भएको छ ।

एकीकृत समाजवादी भन्दा झण्डै दोब्बर ठूलो रहेको माओवादी केन्द्र र एकीकृत समाजवादीले मन्त्रिपरिषदमा पठाएको मन्त्रीको संख्या समान (पाँच) हो ।

आफ्नो पार्टी बन्ने क्रममा रहेकाले त्यसलाई बुझिदिन अध्यक्ष नेपालले आग्रह गरेपछि एकीकृत समाजवादीलाई पनि राम्रै संख्यामा मन्त्री दिइएको थियो ।

सरकारमा पठाउँदा पनि नेपालले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्न संख्या पु¥याउन भूमिका खेलका नेतालाई प्राथमिकता दिएका थिए ।

पर्यटनमन्त्री बनेका प्रेम आले र श्रम मन्त्री बनेका किसान श्रेष्ठले एमालेबाट धेरै संख्यामा सांसद ल्याएकाले उनीहरुलाई पुरस्कार स्वरुप पहिलो लटमै बनाइएको चर्चा चलेको थियो । त्यसका लागि उतिखेर मन्त्रीका लागि चर्चामा रहेका मेटमणि चौधरी लगायतलाई अन्तिम समयमा रोकिएको थियो ।

मन्त्रीका आकांक्षी भए पनि मन्त्री बन्न नपाएकाहरुलाई ६ महिनापछि पालो आउने भन्दै अध्यक्ष नेपालले थुमथुम्याएका थिए । उति बेला पठाउँदा नै ६ महिनाको भाका राखेर पठाइएकाले कुनै पनि बेला फर्किनु पर्नेमा सबै मानिसिक रुपले तयार भएको उपमहासचिव गंगालाल तुलाधर बताउँछन् ।

‘हाम्रो पार्टीबाट जुन मन्त्रीहरु मन्त्रिमन्डलमा हुनुहुन्थ्यो, उहाँहरु यो भन्दा अगाडि नै मानिसकरुपमा फर्किनुपर्छ कुनै दिन भनेर तयार हुनुहुन्थ्यो,’ उनको भनाइ छ ।

६ महिनाको भाका कटेपछि नयाँ आकांक्षीले मन्त्रीपरिषदबाट नेताहरुलाई फिर्ता बोलाउनका निम्ति अध्यक्ष नेपाललाई निकै दवाव दिएका थिए । नेपालले स्थानीय चुनावका बेला मन्त्री हेरफेर गर्नु राम्रो नहुने भन्दै बजेट आउनेबलासम्म कुर्न भनेर थमथम्याएका थिए । यो बीचमा आफूलाई मन्त्री नबाउने भए एमालेमै फर्किने धम्की समेत अध्यक्ष नेपाललाई दिएको बताइन्छ ।

पुरानालाई बजेटमार्फत् आफ्ना कुरा ल्याएपछि फिर्ता बोलाइएको र नयाँ आकांक्षीलाई सरकारमा पठाएकाले एकीकृत समाजवादी भित्र जान सक्ने सम्भावित पहिरो रोकिने कतिपय नेताको भनाइ छ ।

भएन मूल्यांकन

आठ महिनाअघि सरकारमा पठाएका मन्त्रीहरुको कार्यप्रगति मिश्रित खालको थियो । दरबार संग्राहालय र पशुपतिनाथमा रहेको धर्मशालामा निजी व्यवसाय गर्ने अनुमति पाएको बतास समूहलाई त्यहाँबाट निकालेकोमा पर्यटन मन्त्री प्रेमबहादुर आलेको चर्चा भएको थियो । कतिपयले राम्रो काम गरेको भनेर उनको प्रशंसा समेत गरेका थिए ।

आलेसमेतलाई फिर्ता बोलाएको एकीकृत समाजवादीले कसैको मुल्यांकन नगरेको र मन्त्री आफैंले स्वमूल्यांकन गर्न सक्ने बताएको छ । ‘केहीको पफर्मेन्स एकाध मिडियाले हल्ला गरेका कारणले राम्रो भन्न पनि सकिएला । र, केहीको जति हुनुपर्ने थियो, त्यति भएन भन्न पनि सकिएला । तर, हामी त्यो रुपमा गएका छैनौं,’ उपमहासचिव तुलाधर भन्छन्, ‘व्यक्तिको स्वमूल्यांकन एउटा कुरा हो । उहाँहरुलाई पनि स्वमूल्यांकन गर्नुहोस् भनेर हामीले भनेका छौं ।’

सरकारबाट फिर्ता बोलाएका केही मन्त्रीहरुले भने आफूलाई किन र कुन कमिटीबाट फिर्ता बोलाइएको भन्ने जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?