+
+

दिपायल सिलगढीमा बालश्रमिक राख्नेको नाम सार्वजनिक गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २४ गते १२:२२

२४ जेठ, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाले बालश्रममुक्त नगरपालिका बनाउने अभियानलाई फेरि अगाडि सारेको छ ।

विगत लामो समयदेखि बालश्रमविरुद्धको अभियान चलाएको नगरपालिकाले नगर क्षेत्रभित्र फेरि बालश्रमिकहरू भेटिएपछि अभियानलाई तीव्रता दिने भएको हो । ‘धेरै प्रयासपछि नगरपालिकामा बालश्रमिकहरूको संख्या शून्यमा झार्न सफल भएका थियौ’ नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले भने ‘समाजका अगुवाहरुलेनै फेरि बालश्रमिक राखेको तथ्याङ्क हामीले संकलन गरेका छौं, यो दुःखद कुरा हो ।’

जोशीले नगरपालिकाले पटक पटक गरेको आग्रहलाई अटेरी गरी बालश्रमिक राख्नेहरूको नाम नामेसी सञ्चारमाध्यमबाट सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘हामीले धेरै पटक उहाँहरूलाई सम्झाइसकेका छौं, उहाँहरूको घरमै गएर बालश्रमिकहरूको उद्धारसमेत गरेका छौं, तर फेरि गाउँबाट नयाँ बालबालिका ल्याएर श्रमिकको रुपमा काम गराउन थाल्नु भएको छ । अव कानुनी प्रक्रियामा पनि जानु पर्ने अवस्था आयो ।’

नगरपालिकाले बालश्रम मुक्त नगर बनाउन धेरै लगानी गरिसकेकोले अव अटेरी गर्नेहरुकाविरुद्ध कानुनी उपचार खोज्ने जोशीले बताए । उनले, ‘नगरपालिकाको कार्यदलले अनुगमन गरि सम्भव भएका वडाहरूलाई यसै आर्थिक वर्षभित्र बालश्रममुक्त वडा घोषणा गर्नेसमेत जानकारी दिए ।

नगरपालिकामा बालश्रमको हालको अवस्थाबारे छलफल गर्न सोमबार आयोजित कार्यक्रममा नगर प्रमुख विजय खड्काले नगरपालिकालाई बालश्रम मुक्त बनाउन सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे । उनले भने, ‘दिपायल सिलगढी नगरपालिकाभित्र बालश्रमिक छैनन् भन्ने सन्देश दिनु जरुरी छ, त्यसका लागि के के गर्नु पर्छ नगरपालिका तयार छ ।’

नगरपालिकाले बालश्रमको अवस्था अनुगमन गर्नका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको सामाजिक विकास अधिकृत जोशीले जानकारी दिए । उनले भने, ‘कार्यदलले नगरपालिकाको बर्तमान अवस्थाको विषयमा अनुगमन गरी प्रतिवेदन दिनेछ र सो आधारमा सम्भव भएका वडाहरूलाई बालश्रम मुक्त घोषणा गरिने तयारी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?