+
+

प्रधानमन्त्रीले समय मागेर मन्त्री हेरफेर रोकिएको हो : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २४ गते १५:१०

२४ जेठ, सप्तरी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट छिट्टै मन्त्री परिवर्तन हुने बताएका छन् ।

पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिन मंगलबार सप्तरी आएका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले समय मागेकाले तत्काल मन्त्री हेरफेर रोकिएको बताएका हुन् । ‘त्यो नाम प्रधानमन्त्री समक्ष गइसकेको छ । छिट्टै हुन्छ भन्ने आशा राखेको छु’ उनले भने ।

नेता नेपालले अघि भने, ‘टिम परिवर्तन गरी नयाँ नाम पठाएपछि प्रधानमन्त्रीले हामीलाई पनि यसो मिलाउनुपर्नेछ त्यसका लागि केही समय दिनुस् भनेर आग्रह गर्नुभएको छ, नमान्ने कुरै छैन । पार्टीले निर्णय गर्ने र प्रधानमन्त्रीले नमान्ने कुरा परिकल्पनाभन्दा बाहिरको कुरा हो ।’

एकीकृत समाजवादीबाट संस्कृति, पर्यटन नागरिक तथा उड्डयन मन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्य तथा जनसंख्या मन्त्रीबाट विरोध खतिवडा, शहरी विकास मन्त्रीबाट रामकुमारी झाँक्री र श्रम तथा रोजगार मन्त्रीबाट कृष्णकुमार श्रेष्ठ मन्त्रिपरिषदमा छन् ।

उनीहरुलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई शहरी विकास, भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्री र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउन एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई नाम पठाएको छ ।

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन भने अगाडि बढिरहने बताए । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका निम्ति उम्मेदवारको व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा गठबन्धनमा छलफल हुने उनले बताए । ‘गठबन्धनका सबै घटक छलफल अघि बढाउनुपर्नेमा तयार छन्’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?