+
+

अछाम घटनाका दोषीमाथि कारबाही गर्न सभामुखको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १२:०३

२५ जेठ, काठमाडौं । सभामुख अग्नि सापकोटाले अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले उक्त घटनाबाट आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

आजको बैठकको विशेष समयमा सांसद यज्ञबहादुर बोगटीले शाहीको मृत्युको घटनामा प्रहरीले जाहेरीसमेत लिन नमानेको भन्दै सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए । उनले भनेका थिए, ‘त्यहाँको प्रशासनले टेरेको अवस्था छैन, हत्यारालाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेको छैन, मुद्दा दर्ता गरेको छैन, लासको पोष्टमार्टम गरेको छैन ।’

त्यसपछि सभामुख सापकोटाले भने, ‘माननीय सदस्यले उठाउनु भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’

यसअघि मंगलबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संयुक्त विज्ञप्ति जारी गरी पीडित पक्षको किटानी जाहेरी दर्ता गर्न, दोषीलाई पक्राउ गरी कारबाही अघि बढाउन मागसमेत गरेका थिए ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।

पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी मृत भेटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?