+
+

पालिका नेतृत्वमा आफ्नो बलियो उपस्थिति भएको शेखर समूहको निष्कर्ष

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते २०:२४

२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले स्थानीय तहका जनप्रतिनिधिमा आफ्नो बलियो उपस्थिति भएको दाबी गरेको छ । पालिका प्रमुख र उपप्रमुखमा टिकट पाएका आफ्नो पक्षका ५८ प्रतिशत जितेको यो समूहले बताएको छ ।

कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखरले ४० प्रतिशत मत कटाएपनि केन्द्रीय कार्यसमितिमा कमजोर उपस्थिति छ । जिल्ला सभापतिमा पनि ३३ जनाले संस्थापनइतरबाट जित निकालेका थिए । तर स्थानीय तहमा आफूहरुको उपस्थिति बलियो भएको शेखर समूहका नेताहरुको दाबी छ ।

निर्वाचन आयोगका अनुसार कांग्रेसले पालिका प्रमुखमा ६१३ र उपप्रमुखमा ५३४ गरी ११४७ उम्मेदवार उठाएको थियो । उनीहरुमध्ये ६४२ जना संस्थापन पक्ष र ४०७ जना आफ्नो पक्षको भएको शेखर समूहको दाबी छ । ‘१४ औं महाधिवेशनमा हाम्रो पक्षमा खुलेकाको आधारमा हाम्रो समूह मानिएको हो’, एक नेता भन्छन् ।

पालिका प्रमुख र उपप्रमुखका उम्मेदवारमध्ये ६२५ निर्वाचित भए । यो कुल उम्मेदवारको ५४ प्रतिशत हो । संस्थापन पक्षका करिव ५० र आफ्नो समूहका ५८ प्रतिशत निर्वाचित भएको शेखर पक्षको दाबी छ ।

संस्थापन पक्षका नेताहरु पार्टीबाट चुनिएका जनप्रतिनिधि कसको पक्ष भनेर नहेरेको बताउँछन् । यद्यपि शेखर समूहले दाबी गरे जस्तो धेरै जितेको मान्न तयार छैनन् । ‘केन्द्रीय समितिमा उहाँहरुको धेरै कमजोर हुनुहुन्छ । जिल्ला सभापति धेरै संस्थापन पक्षका छन्,’ सभापति शेरबहादुर देउवा समूहका एक नेता भन्छन्, ‘प्रदेश सभापतिमा लुम्बिनीका मात्रै शेखर पक्षका हुन् । टिकट बाँड्ने सबै जसो देउवा पक्षका भएपछि ४०७ जनाले टिकट कसरी पाउँछन् ?’

शेखर समूहका नेताहरुले भने संस्थापन र आफ्नो बाहेक अरु समूहको पनि हिसाब निकालेको छ ।

दुबै पक्षले आफ्नो भनि दाबी गरेका ५ मा ३ जनाले जित निकालेको शेखर पक्षले बताएको छ । पूर्वउपसभापति विमलेन्द्र निधि निकट १० उम्मेदवारमा ३ जना विजयी भएका छन् । पार्टीका दुबै पक्षमा कतै पनि नखुलेका ३ जना नै पराजित भएको आकंडा निकालिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला निकट उम्मेदवारलाई भने संस्थापन पक्षमै जोडिएको छ ।

मधेस र गण्डकीमा सोचे जस्तो भएन

शेखर पक्षका नेताहरु मधेस र गण्डकी प्रदेशमा आशा गरे अनुुसार नतिजा नल्याएको बताउँछन् ।

‘प्रदेश १ मा नतिजा राम्रो आयो । मधेसमा सोचेजस्तो हुन सकेन’, शेखर निकट नेता भन्छन्, ‘गण्डकीमा हाम्रै पक्षको सभापति भएपनि कमजोर रह्यो ।’ दुबै प्रदेशमा अपारदर्शी क्रियाकलाप भएको गुनासो आएको नेताहरु बताउँछन् ।

यो समूहका नेता डा. शेखरले सत्तारुढ दलहरुसँग चुनावी तालमेलको चर्को आलोचना गरेका थिए । तर तालमेलले कांग्रेससँगै अन्य दललाई पनि लाभ पुगेको शेखर पक्षको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?