+
+

गठबन्धन प्रभावकारी नहुँदा र अन्तर्घातले १२० सिट गुम्यो : कांग्रेस

लिलु डुम्रे लिलु डुम्रे
२०७९ जेठ २६ गते २०:१०

२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको कांग्रेसले गठबन्धन प्रभावकारी नहुँदा र पार्टीभित्रको अन्तर्घातले १२० सिट कम आएको ठहर गरेको छ ।

स्थानीय तहको निर्वाचनको अनुमगन, मूल्यांकन तथा सुपरीवेक्षण गर्न बनेको उपसमितिका संयोजक केन्द्रीय सदस्य प्रदीप पौडेलले बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै गठबन्धन प्रभावकारी नभएको बताए ।

‘तालमेल बलियो बनेको भए र पार्टी भित्रको समस्या समाधान गर्न सकेको भए ४५० स्थानमा कांग्रेसले जित्ने थियो’ उनले भने । गठबन्धनमा रहेका दलहरुले निर्वाचन पश्चात प्राप्त मत परिणाममा असन्तुष्टि जनाएकाले संघ र प्रदेशमा तालमेलको हुनेमा आशंका रहेको पौडेलको भनाइ छ ।

तालमेल प्रभावकारी हुन नसकेका स्थान र अन्तर्घात कहाँ कहाँ भएको भन्ने विषयमा बिहीबार सार्वजनिक प्रतिवेदनमा खुलाइएको छैन । यो विषय समेटेर उपसभापति पूर्णबहादुर खड्कालाई छुट्टै प्रतिवदेन बुझाइएको छ । अन्तर्घातका कारण र आन्तरिक समस्या समाधान गर्ने विधि समेत उल्लेख गरी मूल प्रतिवेदन खड्कालाई बुझाइएको केन्द्रीय सदस्य पौडेलले जानकारी दिए ।

७५३ पालिकामध्ये सत्तारुढ दलहरुबीच ३२४ वटामा तालमेल भएको कांग्रेसले जनाएको छ । यीमध्ये २०९ वटामा कांग्रेसले प्रमुख पदको उम्मेदवार पाएको थियो, जसमध्ये १२८ वटा जितेको छ । तालमेल भएका स्थानीय तहमध्ये प्रमुखमा ६१ प्रतिशत र उपप्रमुखमा ७४ प्रतिशत निर्वाचित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अन्य दलसँगको सहकार्य गर्नुको कारणबारे मतदातालाई बुझाउन आवश्यक देखिएको उपसमितिले प्रतिवेदनमा उल्लेख गरेको छ । पार्टीको राजनीतिक र चुनावी एजेण्डा कार्यकर्तामा प्रभावकारी रुपमा पुग्न नसकेको उपसमितिले ठहर गरेको छ ।

टिकट वितरण क्रममा विधानको पालना नगरिएको पनि उपसमितिले प्रतिवेदनमा उल्लेख छ । टिकट वितरण गर्दा स्वच्छ छवि, उर्जाशीलता, लोकप्रिय व्यक्ति र आन्तरिक सर्वेक्षण जस्ता विजयलाई मानक बनाउन उपसमितिले सुझाव दिएको छ ।

कांग्रेसले देशभरका १० जिल्लामा भने चुनावी परिणाम निराशाजनक रहेको निश्कर्ष निकालेको छ । दार्चुला र पूर्वी रुकुममा कांग्रेसले कुनै पनि पालिकामा जित निकाल्न सकेन । त्यस्तै मुस्ताङ, डोल्पा, सिरहा, महोत्तरी, गोरखा, रोल्पा, कालीकोट र कैलालीमा तालमेल प्रभावकारी नहुदा र आन्तरिक कारणले पराजय भोग्नुपरेको प्रतिवेदनमा उल्लेख छ ।

कांग्रेसले डोटी, पाँचथर, बाँके, पर्वत, डडेलधुरा, अछाम, ललितपुर, काठमाडौं, सोलुखुम्बु र ओखलढुङ्गामा भने सन्तोषजनक नतिजा ल्याएको उल्लेख गरेको छ ।

कांग्रेसले तालमेल नगरी प्रमुख वा अध्यक्षमा उम्मेदवारी दिएका ४२३ पालिकामध्ये २१० वटामामा जित निकालेको छ । प्रमुख र अध्यक्ष गरी ४७.५ प्रतिशतले जित निकालेको कांग्रेसले जनाएको छ ।

अघिल्लो पटक जितेका कांग्रेसका १४० जना यसपटक दोहोरिएका छन् । २०७४ मा जितेको १२५ पालिकाको नेतृत्व भने कांग्रेसले यसपटक गुमाएको छ । अघिल्लोपटक कांग्रेस पराजित भएको १८९ पालिकामा यसपटक कांग्रेस उम्मेदवार निर्वाचित भएका छन् । यसपटकको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा २ हजार ६६५ जना निर्वाचित भएका छन् ।

हेर्नुस् प्रतिवेदन

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?