+
+

काठमाडौं महानगरका वडा अध्यक्षको गुनासो : मेयर अनुगमनमा आउँदा थाहै दिइएन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते १०:५१

२९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह स्थलगत अनुगमनमा जाँदा सम्बन्धित वडाका वडा अध्यक्षहरुले आफूहरुसँग समन्वय नगरेको गुनासो गरेका छन् । काठमाडौं महानगरपालिकाको आज बसेको कार्यपालिका बैठकमा सहभागीहरुले मेयर आफ्नो वडामा अनुगमन गर्न आउँदा आफूहरुलाई थाहै नदिइएको गुनासो गरेका हुन् ।

वडा अध्यक्षहरुको गुनासोपछि मेयर साहले अबदेखि जानकारी गराउने प्रतिबद्धता जनाए ।

कसले के भने ?

काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनले शनिबारको दिन मेयर साह सुन्धारा क्षेत्रको अवलोकनमा आएको बेला आफूलाई थाहै नदिइएको गुनासो गरे । ‘मेयरसाप हिजो सुन्धारा पुग्नु भएको रहेछ । मलाई थुप्रै साथीहरुले हिजो तिमी कहाँ थियौ भनेर सोध्नुभयो, यहाँको उपस्थितिमा मेरो अनुपस्थितिबारे धेरै साथीहरुको प्रश्नको मैले जवाफ दिन सकिनँ,’ उनले भने, ‘मैले थाहा पाएको भए मेयरसापलाई फूलमाला लिएर स्वागत गर्न तयार थिएँ । हाम्रो संकटा बजारमा थुप्रै फूलमाला अहिले पनि बेचिरहेको होला ।’

धरहरा बन्ने तर सुन्धारा डम्पिङ साइट हुनेजस्तो स्थिति नआवस् भनेर आफू सक्रिय रहेको भन्दै उनले मेयर सोही क्षेत्रमा आउँदा आफूले थाहा नपाएको भन्दै उनले दुखेसो पोखे ।

वडा अध्यक्ष पनि मेयरकै प्रतिनिधि भएको भन्दै उनले अबदेखि स्थानीय वडा अध्यक्षहरुसँग समन्वय गरेर अनुगमनमा आउन सुझाव दिए । उनले भने, ‘पशुपति दर्शन गर्न जाँदा, संकटा दर्शन गर्न जाँदा सल्लाह गर्नुपर्छ भन्ने होइन तर महत्वपूर्ण विषयमा जाँदा समन्वय गर्नुपर्छ ।’

काठमाडौं महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष विमल कुमार होडाले पनि मेयर साह आफ्नो वडामा अनुगमन गर्न आउँदा थाहै नपाएको बताए । उनले अबदेखि आफूलाई जानकारी दिन आग्रह गरे ।

मेयर साहले शनिबारको दिन भएकाले दुःख नदिने भनेर खबर नगरेको प्रष्टीकरण दिए । उनले अबदेखि यस्ता ठाउँमा जाँदा खबर गर्ने प्रतिबद्धता जनाए ।

बैठकमा वडा अध्यक्षहरुले प्लास्टिक उद्योगहरुसँग समन्वय गरेर घर-घरमा फोहोर राख्ने भाँडो उपलब्ध गराउन, ढल सफाइका लागि हरेक वडावालाई एक-एक वटा जेट मेसिन उपलब्ध गराउन, राजश्व लिएर फुटपाथको उचित व्यवस्थापन गर्न, कबाडी संकलन तथा बिक्री गर्ने स्थान हटाउन लगायतका विषयमा सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?