+
+

सत्तारूढ सांसदको गुनासो : पावरफुल मन्त्रीको क्षेत्रमा गनेर नसकिने योजना छ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते १७:४९

२९ जेठ, काठमाडौं । जुम्लाका सांसद गजेन्द्रबहादुर महतले शहरी विकास मन्त्रालयका धेरैजसो योजना मन्त्रीका निर्वाचन क्षेत्रमा मात्र पुगेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा उनले शहरी विकास मन्त्रालयको बजेट नेता र मन्त्री उन्मुख भएको टिप्पणी गरे । ‘हामीलाई असाध्यै हामीलाई हेपेर योजना बनाइएको छ । कहाँबाट कर्मचारीलाई कमिसन खुवाएर हो वा के भएर हो (कर्णालीमा) ५–६ वटा छिरेको छ’ उनले भने, ‘जो जो पावरफुल मन्त्री छन्, उनीहरुकोमा गन्नै नसकिने योजना छ ।’

उनले शहरी विकास मन्त्रालयको योजना मन्त्रीहरुको सेटिङमा बनेको पनि आरोप लगाए । ‘शहरी विकासका योजना मन्त्रीहरुको सेटिङमा बनेको छ । यसो हेर्दा मन्त्रीको आयु अनुसारको योजना बनेको पनि देख्छु’ उनले भने ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद महतले दुर्गमका बिरामीलाई अस्पतालसम्म आउँदाको यातायात खर्चमा अनुदान दिनुपर्ने बताए । कर्णालीबाट काठमाडौंसम्म उपचार गर्न आउँदा ४०–५० हजार खर्च हुने गरेको भन्दै मन्त्री महतले यो भाडामा ५० प्रतिशत वा २५ प्रतिशत अनुदान दिनुपर्ने माग गरे ।

उनले काठमाडौंमा बस्ने मन्त्रीहरुले दुर्गमको पीडा नबुझ्ने पनि टिप्पणी गरे । ‘तपाईहरु त जुन हस्पिटल गए पनि भइहाल्यो रोजीछाडी छ, मेडिसिटी जानुहुन्छ कि, वीर, टिचिङ, पाटन जानुहुहुन्छ कि ? हामीलाई कहाँ छ ?’ उनले भने, ‘मुगुबाट जुम्ला आउन २५ ३० हजार भाडा बुझाउनुपर्छ, जुम्लाबाट काठमाडौं आउँदा ४०–५० हजार खर्च हुन्छ । त्यो भाडा कसले व्यहोर्ने ?’

सांसद महतले दुर्गमका वासिन्दाले घर खेत बेचेर उपचार गर्छु भन्दा पनि नपाउने भन्दै सरकारले सहयोग गर्नुपर्ने धारणा राखे ।

‘हाम्रो त घरखेत पनि किन्दैनन् । तपाईहरुको काठमाडौंको जग्गा पो आँखा कान चिम्लेर किन्छन्, हाम्रो जग्गा त किन्दा पनि किन्दैनन्’ उनले भने, ‘हुनत नीति तथा कार्यक्रम गइहाल्यो, बजेट बनिहाल्यो, तर अहिले सुनाउँदा भोलिसम्म तपाईहरुको दिमागमा आउँछ कि ? दुर्गम क्षेत्रका मान्छेलाई ५० प्रतिशत वा २५ प्रतिशत बिरामीले भाडा पाउनुपर्‍यो ।’

उनले सरकारले बजेटमा घोषणा गरेको मृगौला प्रत्यारोपण निशुल्क हुने व्यवस्था साउन १ देखि नै कार्यान्वयन गर्नुपर्ने माग गरे । ‘कर्मचारीले खाइहाल्ने तपाईं हामीले खाइहाल्ने बिरामीले नपाउने भन्ने हुँदैन, मन्त्रीज्यू जाँदाजाँदै होस् या रहँदा होस् यो गरेर जानुस्’ सांसद महतले भने ।

उनले सरकारी अस्पतालमा बिरामीलाई निशुल्क खाना खुवाउन पनि माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?