+
+

विवादमा तानिइन् राज्यमन्त्री बिमला

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ जेठ ३१ गते १३:३१

३१ जेठ, दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री बिमलाकुमारी खत्री वली पुनः विवादमा तानिएकी छन् ।

मंगलबार बिहान मन्त्री वलीले नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलका नेता एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती मीना भण्डारी र पाँच बर्षकी छोरीलाई हातपात गरेकी छन् । राज्यमन्त्री वलीलाई प्रहरीले एकराजकै घरबाट नियन्त्रणमा लिएको छ ।

घटना के हो ?

राज्यमन्त्री वली मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका–५ सब्जीमण्डी नजिकै वाइसीएलका नेता एकराज बस्नेतको घरमा पुगेकी थिइन् । सहयोगीसहित लु १ झ ५३७ नम्बरको सरकारी गाडीमा त्यहाँ पुगेकी उनले एकराजकी श्रीमती मीना भण्डारीसँग एकराज खोई भनेर सोधेकी थिइन् ।

‘बिहानै गेट खोल भन्दै उहाँ (वली) आउनु भयो । गेट खोलेर भित्र आएपछि एकराज खोइ भन्दै खोज्नुभयो’, भण्डारीले सञ्चारकर्मीहरुसँग भनिन्, ‘त्यसपछि भित्र आएर दराजमा भएका लुगाहरु फालिदिनु भयो । मलाइ गालामा हिर्काउनुभयो । मेरो कपडा पनि च्यातिदिनु भयो ।’

मंगलबार विहान एकराज भने घरमा थिएनन् । बिहान भण्डारीमाथि कुटपिट भएपछि आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले वलीलाई नियन्त्रणमा लिएको थियो । विहान ११ बजेतिर पीडित पक्षले न्यायको माग गर्दै प्रहरी कार्यालय बाहिर नाराबाजी समेत गरेका थिए ।

अहिले नाराबाजी रोखिएको छ भने पीडित पक्षले राज्यमन्त्री वलीका विरुद्धमा जाहेरी दिने तयारी गरेको छ । राज्यमन्त्री वलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट जिल्ला प्रहरी कार्यालय घोराहीमा ल्याइएको छ ।

राज्यमन्त्री विमला वली नेकपा एमालेबाट दाङ ३ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तरकुमार वलीको श्रीमती हुन् । उनका श्रीमान उत्तरकुमारको दुर्घटनामा मृत्यु भएपछि सोही क्षेत्रमा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाबाट विमला सांसद निर्वाचित भएकी थिइन् । नेकपा विभाजनपछि उनले माओवादी केन्द्र रोजेकी थिइन् ।

गत वर्ष वली लुम्बिनीमा सरकार जोगाउनुपर्ने नेकपा एमाले र नयाँ सरकार बनाउने तयारी गरेको नेकपा माओवादी केन्द्रको तानातानमा परेकी थिइन् । त्यस क्रममा आफूलाई तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले बन्धक बनाएको आरोप लगाउँदै उनले पत्रकार सम्मेलन गरेकी थिइन् । पोखरेलले राजीनामा दिएपछि बनेको कुलप्रसाद केसी नेतृत्वको सरकारले वलीलाई स्वास्थ्य राज्यमन्त्री बनाएको थियो ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?