+
+

वीरगञ्ज महानगरले दैनिक ज्यालादारीका ६४ कर्मचारी हटायो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते २०:५६

३१ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले दैनिक ज्यालादारीमा कार्यरत ६४ जना कर्मचारीलाई हटाएको छ ।

नव निर्वाचित नगर प्रमुख राजेशमान सिंहले निवर्तमान नगर प्रमुख विजय कुमार सरावगीको कार्यकालमा दैनिक ज्यालादारीमा राखिएका कर्मचारीलाई हटाएका हुन् ।

२०७८ वैशाखदेखि वीरगञ्ज महानगरमा कम्प्युटर अपरेटर २१ जना, कार्यालय सहयोगी १६ जना, कुचिकार ६ जना, फायरमैन ५ जना, चौकीदार, सब इन्जिनियर, स्टाफ नर्स, अमिन, हेभी सवारी चालक, अहेब २/२ जना, माली, मेकानिकल हेल्पर, सुपरभाईजर, चैनमैन १/१ जना गरी ६४ जना कर्मचारी दैनिक ज्यालादारीमा कार्यरत रहेको प्रशासन महाशाखा प्रमुख रामकुमार कुशवाहले जानकारी दिए ।

०७८ वैशाखदेखि नियुक्त भई दैनिक ज्यालादारीमा कार्यरत उनीहरुलाई असार १ गतेदेखि काममा नआउन भनिएको छ । प्रमुख प्रशासकीय अधिकृत बलराम ढकालद्वारा जारी सूचनामा वीरगञ्ज महानगरपालिकाको कार्यालय, अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य चौकी/केन्द्रमा २०७८ वैशाखमा नियुक्त भई दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई अर्को व्यवस्था नभएसम्म ०७९ असार १ गतेदेखि लागु हुनेगरि ज्यालादारी सेवाबाट हटाइएको उल्लेख छ ।

प्रमुख प्रशासकीय अधिकृत ढकालले महानगरलाई आवश्यकता परेको समयमा ज्यालादारीमा काम लिने र आवश्यक नपरेको समयमा हटाउनु सामान्य प्रक्रिया भएको बताए ।

तर नगर प्रमुख राजेशमान सिंहले भने ज्यालादारीमा कार्यरत कर्मचारीहरुले सन्तोषजनक काम नगरेकोले हटाउनुपर्ने अवस्था आएको बताए ।

‘विशेषगरि दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरु कार्यालयमा १२/१ बजे आउने हाजिर गर्ने, काममा ध्यान नदिने समस्या देखियो’ उनले भने, ‘त्यसलै हटाउने निर्णयमा पुगेका हौं ।’

नव निर्वाचित नगर प्रमुख सिंहले कर्मचारीहरुलाई समयमा कार्यलय आउन र कार्यलय समयसम्म बसेर सेवा दिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?