+
+

‘प्रकाश’को पोस्टर सेयर गर्दै दीयाले भनिन्- अभिनेत्री बन्ने यो सुन्दर समय !

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १३:२५

काठमाडौं । अभिनेत्री दीया मास्केले नेपाली फिल्ममा प्रस्तुत गरिने महिला चरित्रलाई लिएर असन्तुष्टि जनाएकी छन् । आफू अभिनित फिल्म ‘प्रकाश’को पात्र पोस्टर बुधबार सार्वजनिक गर्दै उनले पछिल्ला फिल्ममा महिला चरित्रलाई फिल्म आख्यानमा स्थापित गर्न लागिएको समेत बताएकी छन् ।

उक्त पात्र पोस्टरमा दीयालाई हलोजुवा बोकेर उभिएकी जुम्लाकी महिलाको चरित्रमा देख्न सकिन्छ । पोस्टरमा पात्र रुपान्तरण आकर्षक लाग्छ । फिल्ममा दीयाले सीता नामक चरित्र निर्वाह गरेकी छन् ।

साहित्य चेत बढेसँगै फिल्म अभिनयमा गहिराइ आउन थालेको भन्दै दीयाले महिला पात्र उपस्थित जनाउने पात्र मात्र नभएर चलचित्र न्यारेटिभको अंग भएको टिप्पणी गरेकी छन् ।

दीयाबाट सीता बन्दा छायांकनस्थलमा रहेर त्यहाँको भाषा सिक्नु, रहनसहनसँग बानी पार्नु सजिलो नभएको अनुभव पनि उनले बाँडेकी छन् । ‘आज प्रकाशको पोस्टर सेयर गरिरहँदा मन ढुक्क फुलेको महसुस गर्दैछु । यो सीताप्रतिको मेरो लगाव र गर्व दुवै हो,’ उनी लेख्छिन् ।

उनी अघि लेख्छिन्, ‘केही चलचित्रमा महिला पात्रहरु केवल कोटा भर्न उभ्याइएका सहभागी पात्रहरु जस्तो प्रतीत हुन्छ । हामी उनीहरुको चारित्रिक विशेषता खोज्नेतर्फ शून्य बराबर नै समय खर्चिन्छौं । मात्र यति भन्छु– समय बदलिएको छ ।’

‘अहिले सिनेमामा एकपछि अर्को सशक्त भूमिकाद्वारा सिनेमालाई धान्ने शक्तिको रुपमा महिला पात्रलाई सिनेमा आख्यानमा स्थापित गर्न थालिएको महसुस भएको छ । यसैले मनदेखि नै भन्न मन लाग्छ । यसकारण नेपाली फिल्मको अभिनेत्री बन्ने यो सुन्दर समय हो,’ उनी लेख्छिन् ।

दिनेश राउत निर्देशित फिल्ममा प्रदीप खड्का र दीयाको मुख्य भूमिका छ । दुर्गम ठाउँ र विपन्न परिवारको युवकले शिक्षक बनेर सपना पूरा गर्न खोज्ने संघर्षलाई फिल्ममा चित्रण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?