
१ असार, काठमाडौं । श्रीलंकामा आगामी महिना करिब ८ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ ।
जुलाईमा छिमेकी तथा अन्य विभिन्न मुलुकहरुबाट ८ लाख पर्यटकहरु भित्र्याउने लक्ष्यका साथ काम भइरहेको अधिकारीहरुले जनाएका छन् । श्रीलंका पर्यटन विकास प्राधिकरणले आर्थिक सङ्कट न्युनिकरणको महत्वपूर्ण उपायको रुपमा पर्यटनलाई लिएको छ ।
प्रधानमन्त्री रनिल विक्रमासिङ्घेसँग भएको बैठकमा प्राधिकरणका अधिकारीहरुले ती पर्यटकहरुबाट ८० करोड डलर रकम आउने अनुमान गरिएको जानकारी दिएका छन् । बैठकमा जाफ्ना विमानस्थललाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा समेत सहभागीहरुले जोड दिएका छन् ।
प्रधानमन्त्री विक्रमासिङ्घेले पर्यटन क्षेत्रमा युवाहरुलाई आकर्षित गर्न र नयाँ नयाँ भ्रमण प्याकेजहरु बनाउन सुझाव दिएका थिए । त्यसैगरी पर्यटकहरुलाई दिइने सेवा सुविधालाई गुणस्तरीय, विविधता र सन्तुष्टिपूर्ण बनाउन पनि उनले आग्रह गरे ।
पर्यटन उद्योगलाई महत्वपूर्ण उद्योग बनाउदै आएको श्रीलंका कोरोना भाइरसको महामारीका कारण थिलथिलो भएको पर्यटन उद्योगलाई फेरि सक्रिय बनाउने कसरत थालेको छ ।
श्रीलंकामा अहिले आर्थिक सङ्कट उत्पन्न हुनुमा महामारीका बेला पर्यटन उद्योगमा ठूलो घाटा लाग्नुलाई पनि मुख्य कारण मानिन्छ । आर्थिक संकटका कारणश्रीलंकामा राजनीतिक उथलपुथल भएको छ भने अहिले पनि मूल्यबृद्धि र अभाव सृजना भएको छ ।
-एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4