+
+

घर लैजाउ भन्दा प्रेम विवाह गरेका श्रीमानले लगाए करेन्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते १७:४७

३ असार, जनकपुरधाम । उनी बोल्नै सक्दिनन् । केहि बोल्न खोजे पनि उनको आँखाबाट आँशु बग्न थाल्छ । पछिल्लो दुई सातादेखि अस्पतालको बेडमा रहेकी सिन्धुलीको गोलञ्जर गाउँपालिका २ की राधिका कार्कीको अवस्था हो यो ।

उनी मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भर्ना छिन् । उनको शरीरका विभिन्न भाग करेन्टले जलेको छ । ८ महिनाअघि विवाह गरेका श्रीमान्ले हात, गोडा, पेटसहितका ठाउँमा करेन्ट लगाएको उनले बताएकी छिन् ।

सिकिस्त भएकी उनलाई अस्पतालमा भर्ना गरिएको छ । दुई दिनअघि मात्रै उनको होस खुलेको छ । थोरै कुरा गर्न सक्ने अवस्थामा आएकी छिन् उनी । यद्यपी कुरा गर्ने क्रममा उनी भक्कानिन्छिन् । र, उनको आँखाबाट आँशु बग्छ । त्यसपछि उनी अगाडि बोल्नै सक्दिनन् ।

अस्पतालमा दुई सातादेखि भर्ना रहेकी उनको हेरचा गर्ने परिवारजन या कुनै आफन्त छैनन् । अस्पतालका नर्स र प्रहरीले नै उनको हेरविचार गर्दै आएका छन् । खाना दिनेदेखि औषधि खुवाउनेसम्मको काम उनीहरुले नै गर्दै आएका छन् ।

कसरी भयो घटना ?

एक वर्षअघि २२ वर्षीया राधिकाको धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर निवासी २८ वर्षीय अरुण साहसँग विवाह भएको थियो । दुबैले एकअर्कालाई मन पराउन थाले । यसपछि दुबैले विवाह नै गरे ।

विवाहपछि अरुणले राधिकालाई जनकपुरधाम ल्याए । थापा चोकमा कोठा भाडामा लिएर दुबै बस्न थाले । यस क्रममा राधिका जानकी मेडिकल कलेजमा काम गर्न थालेकी थिइन् ।

१६ जेठमा उनले लैजान अरुणलाई आग्रह गरिन् । तर यो आग्रह विवादमा परिणत भयो । ‘घर लैजाउ भन्नेवित्तिकै रिसमा आएर मेरो शरीरमा बिजुलीको नाङो तारले करेन्ट लगाए’ उनी भन्छिन्, ‘करेन्ट लगाउँदा बेहोस भएँ । अस्पतालसम्म कसरी आएँ मलाई पनि थाहा छैन् ।’

करेन्ट लागेको जानकारी पाएपछि प्रहरीले नै उनलाई अस्पतालमा भर्ना गराएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्री बताउँछन् ।

करेन्ट लगाएर अरुण फरार भएको भन्दै प्रहरीले उनको खोजी भइरहेको जनाएको छ । ‘राधिकाका एक जना भाइ यहाँ आएका छन् । तर, लिखित जाहेरी हालसम्म कसैले दिएका छैनन्’ क्षेत्रीले भने, ‘हामीले आफ्नोस्तरबाट अन्य अनुसन्धान गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?