+
+

गण्डकीको बजेटमा सत्तापक्षकै असहमति, संसद बैठक अनिश्चित

अमृत सुवेदी अमृत सुवेदी
२०७९ असार ४ गते १९:३३
गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल

४ असार, पोखरा । गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७९–८० को बजेटमाथि सत्तारु दलकै असन्तुष्टीका कारण प्रदेशसभा बैठक अनिश्चित बनेको छ ।

असार १ गते अर्थमन्त्री रामजी बरालले पेश गरेको बजेटप्रति सत्तारुढ गठबन्धनमै रहेका दलको असन्तुष्टी देखिएपछि सरकार नै प्रदेशसभामा तत्काल बजेटमाथि छलफल सुरु गर्न अनिच्छुक देखिएको हो ।

आइतबारबाट बजेटमाथि छलफल गर्ने गरी संसद बैठक आह्वान गरिएको थियो । तर, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तत्काल बैठक नराख्न आग्रह गरेका हुन् ।

‘सरकारको अनुरोधमा तत्काल बैठक नराख्न भनेपछि अर्को सूचना जारी नभएसम्मका लागि भोलिको (वैशाख ५) गतेको बैठक स्थगित गरिएको छ,’ प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलले भने, ‘अर्को बैठक कहिले बोलाउने सरकारकै अनुरोधपछि मात्र टुंगो लाग्ने छ ।’

५ गतेका लागि बैठक आह्वान गरी निम्तो गरिएको तर शनिबार साँझ सचिवालयले अनिश्चित कालका लागि बैठक स्थगित भएको सूचना पठाएको माओवादीका सांसद दीपक कोइरालाले जानकारी दिए । अर्थमन्त्री बरालले पेश गरेको बजेटप्रति मुख्यमन्त्री र सरकारका सबैजसो मन्त्री रुष्ट छन् ।

मन्त्रिपरिषद बैठकबाट पारित भएको कार्यक्रम हटाएर अर्थमन्त्री बरालले बजेट पेश गरेको भन्दै मुख्यमन्त्रीले स्पष्टीकरण नै सोधेका थिए भने सत्तापक्षका मन्त्री र सांसदसमेत असन्तुष्ट बनेका छन् ।

‘निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम मन्त्रिपरिषदबाट पारित भएर पनि बजेटमा आएन । अर्थमन्त्रीले संसदीय विधि र कानुनकै बर्खिलाप हुने गरी बजेट पेश गरे । सरकारकै मुख्यमन्त्री, मन्त्रीदेखि सत्तापक्षका सांसदहरुबीचमै असहमति छ’, एक मन्त्रीले भने, ‘यस्तो अवस्थामा बजेट छलफलमा जाँदा सरकारमाथि नै प्रहार हुन सक्ने भएकाले तत्काललाई बैठक स्थगित गर्न लगाइएको हो ।’

बजेटका विषयमा सत्ता पक्षकै मन्त्री र सांसदहरुबीच पनि सहमति कायम गरेर जानुपर्ने र वार्षिक कार्यक्रम पुस्तिकासमेत आइनसकेकाले बैठक स्थगित गरिएको आफूले जानकारी पाएको सरकारका प्रवक्ता कुमार खड्काले बताए ।

वार्षिक कार्यक्रम पुस्तिकाबिना बजेटको छलफल थाल्दा धेरैको गुनासो र प्रश्न आउने भएको कारण देखाइए पनि मुख्यरुपमा सत्तापक्षकै सांसदहरु कसरी जाने भन्ने सहमति नभएकाले बैठक स्थगित गरिएको अर्का एक मन्त्रीले बताए ।

अर्थमन्त्री बरालले बजेट ल्याउँदा गम्भीर त्रुटी गरेको भन्दै नेकपा माओवादी केन्द्र भित्र पनि असन्तुष्टी छ । बजेट र अन्य विषयमा छलफल गर्न आइतबार माओवादीले संसदीय दलको बैठक बोलाएको छ ।

‘मुख्य बजेटकै विषयमा छलफल गर्नुपर्ने भएकाले दलको बैठक बोलाइएको छ । आइतबार बिहान ८ बजे बैठक बस्ने छ,’ माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले भने । कांग्रेसले पनि बजेटकै विषयमा छलफल गर्न छिट्टै संसदीय दलको बैठक राख्ने तयारी गरेको छ ।

गण्डकी प्रदेश सरकारले यसपटक झण्डै ३६ अर्ब रुपैयाँको बजेट ल्याएको छ । बजेटप्रति सत्तापक्षकै मन्त्रीले असन्तुष्टी जनाउँदै आएका छन् । बजेटमा गठबन्धनका सांसदका खल्तीबाट ५/५ करोड रुपैयाँको योजना राखिएको भन्दै मन्त्रीले नै आलोचना गरेका छन् ।

साना छिरलिएका योजनामा बाँड्ने गरी निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम हटाएर लोकप्रिय हुन खोजेको तर सांसदका खल्तीबाट योजना राखिएको, अधिकार क्षेत्र मिचेको, आफ्नै मन्त्रालयमा ठूलो रकम राखेकोजस्ता आरोप अर्थमन्त्रीमाथि छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?