+
+

हेटौंडा उपमहानगरका वडामा थपियो ५ करोड ७० लाख बजेट

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १०:३०

५ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेटमा १९ वटै वडाले पाउने रकम बढाउने भएको छ ।

आगामी आव २०७९/०८० मा १९ वडामा पाँच वर्षदेखि तोकिएको सिलिङभन्दा ५ करोड ७० लाख रुपियाँ थपिने भएको हो ।

चालु आर्थिक वर्षमा वडा तहमा तोकिएको सिलिङमा बजेटले विकास निर्माणको काममा असहज भएको भन्दै नवनिर्वाचित नगर प्रमुख मिनाकुमारी लामाले १९ वटै वडाको सिलिङमा ३०/३० लाख रुपैयाँ वृद्धि गराएकी हुन् ।

०७४ देखि बजेट सिलिङमा एकरुपता भएपछि मेयर लामाको अध्यक्षतामा जेठ २६ गते बसेको स्रोत अनुमान समितिको बैठकले प्रति वडा ३०/३० लाख रुपैयाँ सिलिङमा थप गरेर पठाउने निर्णय गरेको थियो ।

थपिएको रकमले विकासका कामलाई सहज बनाउन मद्दत पुग्ने मेयर लामाको दाबी छ । बजेट सिलिङ तयार गरेर वडाहरुमा तयारीका लागि पठाएको उपमहानगरले गएको ५ वर्षमा पहिलो पटक नयाँ नेतृत्वसँगै बजेट सिलिङमा वृद्धि गरेको हो ।

सिलिङ थप गरेसँगै हेटौंडा उपमहानगरपालिकाले १९ वटै वडाका लागि ३६ करोड ५० लाख रुपैयाँ बजेट पठाएको छ । चालु आर्थिक वर्षहरूमा उपमहानगरका वडाहरूले गरेको कार्यक्रम तथा योजनाहरुको कार्यान्वयनको आधारमा बजेट सिलिङ थप गरेर पठाइएको मेयर लामाले बताइन ।

वडागत बजेट सिलिङ तोकिएर वडाहरुमा गएसँगै योजना छनोटको कार्यहरु चलिरहेको छ । वडामा टोल विकास संस्थामार्फत प्रतिनिधित्व रहने गरी योजना छनोटको कार्यहरू भइरहेको हेटौंडा ८ का अध्यक्ष रामकृष्ण थापाले बताए ।

वडाहरुवाट बजेट सिलिङ आएपछि हेटौंडा उपमहानगरपालिकाले असार १० गते नगर परिषद् भेलाको आयोजना गरेर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।

वडा र विविध व्यवस्थापनका लागि वडागतरुपमा ५/५ लाख रुपैयाँको बजेट सिलिङ तयार पारिएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले बताए । १९ वटै वडाका लागि वडा व्यवस्थापनतर्फ ९५ लाख रुपैयाँ र विविध व्यवस्थापनकातर्फ पनि ९५ लाख रुपैयाँको बजेट सिलिङ तयार पारिएको हो ।

सिलिङ अनुसार वडा नम्बर १, १२, १३, १४ ,१५, १६ र १७ मा २/२ करोड १०/१० लाख बजेट सिलिङ तोकिएको छ भने वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १० र ११ मा १ करोड ८५ लाख रुपैयाँ तोकिएको छ ।

सिलिङअनुसार वडा नम्बर १८ मा २ करोड २५ लाख र वडा नम्बर १९ भने २ करोड ५० लाख रुपैयाँको बजेट सिलिङ तयार गरिएको उपमाहानगरले जनाएको छ ।

३८ करोड ४० लाख रुपैयाँको बजेट सिलिङ रहेकोमा ३६ करोड ५० लाख रुपैयाँ बराबरको मात्र बजेट सिलिङ तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले बताए ।

वित्तीय समानीकरण, राजश्व बाँडफाँट संघीय सरकार, राजश्व बाँडफाँट प्रदेश सरकार र आन्तरिक स्रोतमा २५/२५ प्रतिशत बजेट सिलिङ रहेको छ । जसमा वडागतरुपमा आन्तरिक स्रोतबाट ४६ लाख २५ हजार रुपैयाँदेखि ६५ लाख रुपैयाँको दरले बजेट सिलिङ तयार गरिएको छ ।

चार्जिङ स्टेशनलाई जग्गा दिने निर्णय

हेटौंडा- हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको बैठकले हेटौंडा-१५ मा विद्युतीय सवारी चार्ज गर्ने स्टेशन निर्माणको लागि जमिन दिने निर्णय गरेको छ ।

पुर्वपश्चिम राजमार्ग भएर गुड्ने विद्युतीय सवारीलाई लक्षित गर्दै हेटौंडा- १५ को रातोमाटे लच्का नजिकै चार्जिङ स्टेशन निर्माणका लागि जमिन दिने निर्णय भएको हो ।

वडा कार्यालय, स्थानीय बासिन्दा, सामुदायिक वन उपभोक्ता समूहले जमिन दिनका लागि समस्या नभएको निर्णयपछि उपमहानगरको कार्यपालिका बैठकले स्टेशन निर्माणको लागि करिब ५ कठ्ठा जमिन दिने निर्णय कार्यपालिका बैठकले गरेको वडा अध्यक्ष सुनिल मोक्तानले बताए ।

नेपाल सरकारले देश भर ५१ वटा चार्जिङ स्टेशन निर्माण गर्दा मकवानपुरको लागि हेटौंडा-१५ को रातोमाटे लच्का छेउको ठाउँलाई उपयुक्त ठानेकाले कार्यपालिका बैठकबाटै जमिन दिने निर्णय भएको अध्यक्ष मोक्तानले बताए ।

चार्जिङ स्टेशनमा अहिले एक पटकमा ३ वटा सवारी चार्ज गर्ने क्षमता रहने बताइएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने स्टेशनको चार्जिङ क्षमता वृद्धि गर्दै लैजाने तयारी रहेको अध्यक्ष मोक्तानले बताए ।

कार्यपालिका बैठकले हेटौंडा-१२ पुर्नवा आयुर्वेदिक अस्पताललाई पनि जग्गा दिने निर्णय गरेको छ । बैठले उपमहानगरको विकट क्षेत्रमा रहेर शैक्षिक गुणस्तर वृद्धिमा लागेका शिक्षकलाई भत्ता दिने, हेटौंडा उपमहानगरको प्रवक्ताको जिम्मेवारी हेटौंडा-१ का वडा अध्यक्ष सबिन न्यौपानेलाई दिने लगाएका निर्णय गरेको छ । बैठक हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?