+
+

एसपीपीलाई राष्ट्रियतासँग जोडेर एमालेले आक्रमण गरेको महतको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १२:२९

५ असार, वीरगञ्ज । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीलाई राष्ट्रियतासँग जोडेर एमालेले आक्रमण गर्न खोजेको आरोप लगाएका छन् । वीरगञ्जमा भएको पत्रकार भेटघाटमा उनले एमालेले आक्रमण गर्न खोजे पनि अहिले त्यो विफल भएको दावी गरे ।

‘स्थानीय चुनाव हारेको अवस्थामा फरि कुनै एउटा राष्ट्रियतासँग जोडिएको मुद्दा खोजेर आक्रमण गर्दा सहज हुन्छ कि भनेर आक्रमण गरेका रहेछन्,’ उनले भने, ‘आरोप प्रत्यारोपको कुनै अर्थ छैन । सम्पूर्ण कुरा थाहा भइसकेको छ ।’

नेपाली कांग्रेस र कांग्रेसको नेतृत्वका सरकार नेपालको स्वार्थ र हितलाई केन्द्रित गरेर मात्रै परराष्ट्र नीति सञ्चालन गर्ने बताउँदै उनले स्टेट पार्टनरसीपको विषयमा पनि त्यसै हुने उनको दावी छ ।

स्टेट पार्टनरसीप प्रोग्राम कुनै सैन्य गठबन्धन नभएको दाबी गर्दै पूर्व परराष्ट्रमन्त्रीसमेत रहका उनले भने, ‘सैन्य गठबन्धनतर्फ उन्मुख हुन्छ कि भन्ने चासो र चिन्ता हुन्छ । त्यसलाई ध्यानमा राखेर सहभागी नहुने कुरा प्रधानमन्त्रीले भनिसक्नुभएको छ ।’

संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धनको आवश्यकता

महतले संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धनको आवश्यकता रहेकोमा जोड दिए । कुनै एउटा दलले पूर्ण बहुमत ल्याउने कुरा कठिन रहेको बताउँदै उनले चुनाव अघि नै गठबन्धनका लागि सहमति हुनुपर्नेमा जोड दिए ।

प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले चुनावपछि सरकार बनाउन दल खोज्दै हिँड्नु भन्दा अहिले नै गठबन्धन गरेको राम्रो हुने सुझाव दिए ।

स्थानीय तहमा भएको गठबन्धन तालमेलमा भएका कमीकमजोरीको समीक्षा गरेर कसरी अघि जाने भनेर निर्णय गर्नुपर्ने उनको भनाइ छ । केपी ओली सरकारले कोभिड–१९ को राम्रोसँग व्यवस्थापन गर्न नसकेको, भ्रष्टाचार बढेको र संवैधानिक मर्यादा कायम राख्न नसकेकोले गठबन्धन गरेको बताउँदै उनले त्यसको निरन्तरता आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?