+
+

आले-अधिकारी विवाद प्रकरण : साँठगाँठबाट नियुक्ति, स्वार्थ बाझिएपछि निलम्बन

अच्युत पुरी अच्युत पुरी
२०७९ असार ७ गते १०:००

७ असार, काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्‍यो । कात्तिक २०७८मा नियुक्तिका बेलामा नै अधिकारीको छवी र कार्यक्षमतामा प्रश्न उठेकै थियो, तर संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले नेपाल एयरलाइन्स रुपान्तरणको नारा दिएर अधिकारीलाई भित्र्याएका थिए ।

अधिकारीलाई नियुक्त गर्ने समयमा निगमको नेतृत्वमा महाप्रवन्धक डीमप्रसाद पौडेल थिए । पौडेलको अधिकार खोस्ने गरी आलेले नै अधिकारीलाई नियुिक्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए ।

निगम स्रोतका अनुसार निगमबाटै अवकास पाएका अधिकारीको छवी विगतदेखि नै स्वच्छ थिएन । सेवाअवधिमा कार्यालयमा महिला कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोप लागेपछि लिखित रुपमै माफ माग्नु परेको विगत समेत थियो । ‘अधिकारी सरले काम गर्न सक्नुहुन्न भन्ने पहिल्यै थाहा थियो,’ निगम स्रोत भन्छ, ‘तर, त्यतिबेला निगमभित्र पुरानो नेतृत्व विस्थापित गरेर आफूखुसी संस्था चलाउने योजना बनाएर नियुक्ति दिइएको थियो ।’

अध्यक्षको रुपमा नियुक्त भएपछि हरेकजसो सार्वजनिक मञ्चमा पर्यटनमन्त्री आलेले ‘कम तलबमै काम गर्न मानेको’ भन्दै अधिकारीको प्रशंसा गर्ने गरेका थिए । तत्कालीन महाप्रवन्धक पौडेललाई मन्त्रालयमा तानेर अधिकारीलाई निगममा काम गर्न वातावरण बनाइदिएका थिए । तर, करिब ८ महिनामै अधिकारीसँग आलेको सम्बन्ध अश्लील शब्दमा मुख छाड्ने अवस्थामा पुग्यो ।

केही दिनअघि आलेले अधिकारीलाई दुर्व्यवहार गरेको अडियो सार्वजनिक भएको थियो । उनीहरुबीचको तिक्तताको संकेत दुई महिना अघिदेखि नै चले पनि अडियो सार्वजनिक भएपछि प्रष्ट भएको थियो । आलेले आफ्नो नैतिकतामाथि गम्भीर प्रश्न खडा गर्ने गरी अडियो सार्वजनिक हुँदा समेत अधिकारीमाथि कारवाहीको योजना फत्ते गरेका छन् ।

गत वैशाखमै परेको थियो ठाकठुक

गत वैशाखमा साउदी अरेवियामा पहिलो उडान गर्ने समयदेखि आले र अधिकारीबीचको सम्बन्ध बिग्रिएको संकेत देखिएको थियो । आफूलाई निलम्बन गर्ने प्रस्ताव मन्त्रिपरिषद् पुगेको थाहा पाएपछि अधिकारीले अडियो रेकर्ड सार्वजनिक गराएका थिए ।

निगमका एक कर्मचारीका अनुसार अधिकारीले साउदी उडानमा अधिकारीले एमाले सांसद महेश बस्नेतलाई सहभागी गराए । त्यसपछि आलेले टोलीमा रहेका आफ्ना सचिवालयका केही कर्मचारी र एकीकृत समाजवादी पार्टीका केही सांसदहरुको नाम काट्न लगाए । पहिलो उडानपछि अधिकारीलाई निगमको कार्यक्रममा असम्बन्धित र अनावश्यक मान्छे किन लगेको भन्दै स्पष्टीकरण सोधे । मन्त्री आले र अधिकारीको विवाद त्यतिमा रोकिएन । दुबैले निगमलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्न खोजेपछि विवाद उत्पन्न भएको कर्मचारीहरुको भनाइ छ ।

पर्यटन मन्त्री आले र अधिकारीको नेतृत्वमा नेपाल वायुसेवा निगम झन् ओरालो लाग्यो । निगमले यसबीचमा कर्मचारी संचय कोष र नागरिक लगानी कोषमा तिर्नुपर्ने किस्ता तिर्न सकेन । अहिले निगमको ऋण मात्र ४७ अर्ब रुपैयाँ पुगेको छ ।

निगमका एक कर्मचारीकाअनुसार निगममा एक सय जनाभन्दा बढी करारमा कर्मचारी राख्ने विषयमा दुई जनाबीच देखिने गरी विवाद थियो । ‘सुरुमा अधिकारीले मान्छे भर्ति गर्दै गए, त्यसको खबर मन्त्रालयमा पुग्यो’, ती कर्मचारीले भने, ‘त्यसपछि मन्त्रीज्यूले पनि भाग खोज्नुभयो, अनि विवाद उत्कर्षमा पुग्यो ।’ ती कर्मचारीका अनुसार मन्त्रीले सिफारिस गरेका ५ जनालाई निगमभित्र जागिर दिँदा अधिकारीले १५ जना आफ्ना मान्छेहरु घुसाएपछि विवाद चुलिएको हो ।

अधिकारीमाथि लगाइएका आरोप

पर्यटनमन्त्री आलेको सचिवालयले भने अधिकारीमाथि गम्भीर आरोपहरु लगाएको छ । अडियो सार्वजनिक भएपछि त्यसको स्पष्टीकरण दिने क्रममा सचिवालयले पछिल्ला दिनमा उडान संख्या वृद्धि हुँदै गएको तर जापानलगायत गन्तव्यमा सर्वसाधारण/विद्यार्थीले टिकट नपाउने अवस्था रहेको भन्दै यसो हुनुमा अधिकारीमाथि दोष लगाइएको छ ।

भारतमा समेत विद्यार्थीले सजिलै टिकट नपाएको, अधिकारी र केही पाइलटको मिलेमतोमा कार्यकारी अध्यक्षले कृत्रिम अभाव गराउने, आफू निकट एजेन्सीबाट मात्रै टिकट गर्ने गरेको आरोप समेत मन्त्रालयले अधिकारीमाथि लगाएको छ । मन्त्रालयले स्पष्टीकरण सोध्दा अधिकारीले त्यो स्पष्टीकरण रोक्न शक्ति केन्द्रबाट दबाब दिएको र प्रलोभन दिएको मन्त्री आलेको सचिवालयले उल्लेख गरेको छ ।

अनलाइन टिकट उपब्ध गराउने प्रणाली बनाउन नसकेको, न्यारोबडी जहाजको इन्जिन मर्मतमा ढिलाइ गरेको, निजी वायुसेवालाई नै ट्विनअटर चार्टर दिने, टर्कीको एक कम्पनीलाई पीएसएस प्रणालीको ठेक्का अपारदर्शी ढंगले दिएकोजस्ता काममा अधिकारीले गम्भीर गल्ती गरेको आरोप समेत छ ।

झन् कमजोर निगम

पर्यटन मन्त्री आले र अधिकारीको नेतृत्वमा नेपाल वायुसेवा निगम झन् ओरालो लाग्यो । निगमले यसबीचमा कर्मचारी संचय कोष र नागरिक लगानी कोषमा तिर्नुपर्ने किस्ता तिर्न सकेन । व्यवसायीक योजनाअनुसार जहाज खरिद गर्ने योजना सार्वजनिक गरेको निगमले त्यसतर्फ ठोस रुपमा काम गर्न सकेन । अहिले निगमको ऋण मात्र ४७ अर्ब रुपैयाँ पुगेको छ ।

निगमले आफूसँग भएका चिनियाँ जहाज थन्क्याएर राखेको छ । यी जहाज चलाउने आलेको घोषणा कार्यान्वयनमा आउन सकेन ।

निगमले यसबीचमा साउदी अरबबाहेक अन्य गन्तव्यमा उडान थप्न सकेन । निगमको सुधारका लागि कुनै पनि योजना ल्याउन नसक्दा संस्थाको भविष्य अनिश्चित बनेको छ ।

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्नेबारे राष्ट्रिय ध्वजावाहकले कुनै पनि तत्परता देखाउन सकेको छैन । जहाँ, विदेशी निजी कम्पनी जजिरा एयरले नाफामा व्यापार गरिरहेको छ र थप कम्पनी आउने क्रममा छन् ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?