+
+

राजनीतिमा खुले आर्यन, उम्मेदवारी घोषणा गरेका साथी पोखरेललाई चुनावमा सघाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १२:१४
अभिनेता आर्यन सिग्देल । फाइल तस्वीर

काठमाडौं । आर्यन सिग्देल राजनीतिलाई लिएर तटस्थ देखिन्छन् । सामाजिक सञ्जाल होस् वा बाहिर पनि उनी यसबारे मौन लाग्छन् । तर यी अभिनेताले यसपटक चाहिं राजनीतिलाई लिएर तटस्थता तोडेका छन् ।

मंगलबार उनी एक चुनावी सभामा देखिए । बिहान काठमाडौंमा आयोजित कार्यक्रममा उनी काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएका आकर्षण पोखरेलको पक्षमा खुले ।

कार्यक्रममा उनले पोखरेललाई समर्थन गर्दै चुनावी अभियानमा पनि साथ दिने बताए । १० वर्षदेखिको चिनजानको साथी चुनावमा उठेकोमा आफूले साथ दिने भन्दै उनी परम्परागत राजनीतिक दलप्रति रुष्ट सुनिए ।

‘पोजेटिभ चीजलाई समर्थन गर्दा त के हुन्छ र ? ऊसँग मेरो चिनजान १० वर्षदेखि हो । आजसम्म राजनीतिमा नगएको मान्छे म, उसको सकारात्मकता देखेर नै कार्यक्रममा पुगेको हुँ,’ अनलाइनखबरसँग सिग्देलले भने, ‘समय मिलेसम्म चुनावी अभियानमा पनि उसलाई सघाउनेछु ।’

आर्यन परम्परागत दलप्रति असन्तुष्ट पनि सुनिए । ‘हामी भित्री रुपमा पार्टीलाई समर्थन गर्‍यौं र भोट हाल्यौं तर नतिजा राम्रो आएन । अब चाहिं पढेको र संसार बुझेको मान्छेबाट आशा राखेर उसलाई समर्थन गरेको हुँ,’ आर्यनले भने ।

यसबाहेक आर्यन अहिले केही फुर्सदमा छन् । उनीसँग अहिले फिल्म छैन, यद्यपि राम्रो स्क्रिप्टको खोजीमा रहेको उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?