 
																			९ असार, बुटवल । बुटवल मण्डपको नामको अगाडि गिरिजाप्रसाद कोइराला थप्ने बुटवल उपमहानगरपालिकाको प्रस्तावको नेकपा एमाले लगायत दल र विभिन्न संघसंस्थाले विरोध जनाएका छन् ।
नेपाली कांग्रेसबाट निर्वाचित भएका मेयर खेलराज पाण्डेयले बुटवलको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा बुटवल मण्डपको नाम गिरिजाप्रसाद कोइराला बुटवल मण्डप राख्ने प्रस्ताव गरेपछि यसको विरोध र आलोचना सुरु भएको हो ।
उपमहानगरको बुधबारको नगरसभामा मेयर पाण्डेयले बुटवल मण्डपको जग्गा प्राप्तिमा तत्कालीन कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय कोइरालाको महत्वपुर्ण योगदान रहेको तर्क गर्दै बुटवल मण्डपको नामको अगाडि गिरिजा प्रसाद कोइराला थप्न नीति तथा कार्यक्रममा लिखित प्रस्ताव गरेका थिए । बुटवलमा यो मण्डप औद्योगिक प्रदर्शनी र व्यापार मेला आयोजना हुने थलोको रुपमा परिचित छ ।
उक्त प्रस्तावप्रति नगर सभा बैठकमै एमालेका जनप्रतिनिधिले असहमति जाहेर गरेका थिए । वडा नंं ११ का वडा सदस्य नकुल शाही ठकुरीले बहुमतका आधारमा यस्तो प्रस्ताव पारित गरिए सह्य नहुने र स्वीकार गर्न नसकिने बताएका थिए ।
एमाले मात्र होइन, स्वयं कांग्रेसकै सक्रिय कार्यकर्ताले समेत सामाजिक सञ्जालमार्फत यो प्रस्तावको विरोध गरेका छन् । कांग्रेस कार्यकर्ता हरि क्षेत्रीले बुटवल मण्डपको नामकरण नेताको नामबाट भन्दा स्थानीय संस्कृति, सम्पदा वा ऐतिहासिक पहिचानबाट राख्दा राम्रो हुने बताए ।
कांग्रेसकै कार्यकर्ता कृष्णप्रसाद नेपालले बुटवल मण्डपको नाम फेर्ने प्रस्ताव निन्दनीय भएको बताएका छन् । उनले भनेका छन्, ‘बुटवल मण्डपको नाम परिवर्तन गर्नु निन्दनीय कार्य हो । यो गलत छ । कुनै नेता विशेषको नाम कहिँ कतै नजोडियोस् । यदि राख्नु नै छ भने ४ जना शहीदको नाममा राखियोस् ।’
नेकपा माओवादी केन्द्रका प्रदेश सांसद दीपा विकले पनि बुटवल मण्डपलाई नाम फेर्न आवश्यक नरहेको बताएकी छन् ।
नेकपा एमालेको बुटवल नगर अध्यक्ष किसन ज्ञवालीले बुटवल मण्डपको नाम फेर्ने प्रस्तावको विरोध गर्दै नगर प्रमुख खेलराज पाण्डेयलाई काम गरेर जिकास निर्माण र समृद्धिले जनताको अवस्था बदल्न लाग्न सुझाव दिएका छन् । उनले भनेका छन्, ‘पण्डितले झैं नाम फेर्न लाग्दा मेयरको न्वारान पनि अर्कै पण्डितले गरिदेला र अस्तित्वको संकट पर्ला ।’
पत्रकार डीआर घिमिरेले गिरिजाप्रसाद कोइरालाको नाममा कुनै पार्क वा सडकको नाम राख्न सकिने तर बुटवल मण्डपको रनाम फेर्नु उचित नहुने बताए । ‘…भोलि अर्को कुनै शक्ति सत्तामा आउँदा प्रतिशोध साँध्न सक्छ, गिरिजाप्रसाद कोइरालाजस्तो नायकलाई यसरी विवादमा नपारौं’, उनले भने ।
नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश महासचिव जेपी कंडेलले बुटवल मण्डप कसैको पेवा नभई सबै व्यवसायिक संघ संस्थाको गौरवको विषय हो भन्दै जनप्रतिनिधिलाई विवादित निर्णय नगर्न आग्रह गरे ।
बुटवलका ऋषिराम ज्ञवालीले बुटवल उपमहानगरपालिकाकै नाम गिरिजाप्रसाद कोइराला उपमहानगर राखौं भनेर ब्यङग्य गरेका छन् ।
तर कांग्रेस निकट प्राध्यापक नुरजंग केसीले भने बुटवल मण्डपको नाम गिरिजा मण्डप बनाउने मेयर पाण्डेयको प्रस्तावको बचाउ गरेका छन् । उनले महेन्द्र पार्कलाई पुष्पलाल पार्क, हिलपार्क जाने गेटमा जीवराज आश्रित पार्क, मदन भण्डारी लोकमार्ग, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान नामाकरण गरिएको उदाहरण दिए ।
गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा बुटवल मण्डपको लागि जग्गाको स्वीकृति दिई कम्पाउण्ड वाल लगाउन रकम उपलब्ध गराएकाले उनको नाममा नामाकरण गर्न प्रस्ताव गर्दा विरोध गर्नु नपर्ने उनले तर्क गरे ।
पूर्वपश्चिम राजमार्गसंगै जोडिएको बुटवल मण्डपको १६ विघा क्षेत्रमा हाल संघीय बजेट अन्तर्गत बुटवल सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र निर्माण भइरहेका छन् । २०७१ सालदेखि यहाँ निर्माणको काम भइरहेको छ ।
नगर प्रमुख खेलराज पाण्डेले बुटवल मण्डपका लागि जग्गा प्राप्तिमा तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका रहेकाले उनकै नाम राख्न लागेको बताए ।
उनले बुटवल उपमहानगरपालिका वडा नं ११ मा नेकपाका संस्थापक महासचिव पुष्पलाल र नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला र बुटवल उपमहानगरपालिकाका पूर्व नगर प्रमुख सूर्यप्रसाद प्रधानको प्रतिमासहितको पार्क निर्माण गरिने जनाए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4