+
+

माग सम्बोधन नभएपछि मोरङका उद्योगी र मजदुरले मागे अर्थमन्त्रीको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १५:०१

९ असार, विराटनगर । मोरङका उद्योगी र मजदुरले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् । स्यानेटरी प्याड, वनस्पति तेल र एमएस वायरमा आधारित स्टील उद्योगको संरक्षणको माग गर्दै बिहीबार प्रदर्शन गरेका उद्योगी र मजदुरहरुले शर्माको राजीनामा माग गरेका हुन् ।

यसअघि उद्योगीले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर भन्सार नीति परिवर्तन गर्न आग्रह गरेका थिए । शर्माले आश्वासन दिए पनि माग सम्बोधन नभएपछि बिहीबारबाट आन्दोलन सुरु गरेका हुन् । माग सम्बोधन नभएपछि अर्थमन्त्रीको राजीनामा माग गरिएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए । बिहीबारबाट चरणबद्ध आन्दोलन सुरु भएको बताउँदै उनले आइतबारदेखि चक्काजाम गर्ने बताए ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा स्यानेटरी प्याडको आयातमा लाग्दै आएको १५ प्रतिशतको भन्सार महशुललाई ९० प्रतिशत कटौती गरी १.५ प्रतिशत कायम गरेको घोषणा गरेका थिए । तयारी वस्तुमा १.५ प्रतिशत कायम गरेपनि कच्चा पदार्थमा साढे ७ प्रतिशत भन्सार महशुल कायम गरेको व्यावसायीले गुनासो छ । सरकारको नीतिले स्टील उद्योग पनि संकटमा पर्ने उद्योगीको गुनासो छ ।

वनस्पती तेल उत्पादन गर्ने स्वदेशी उद्योगले आन्तरिक बजारमा प्रतिस्पर्धा गर्न नसक्ने गरी बजेट मार्फत सरकारले आयातलाई प्रोत्साहन गरेको उद्योगी र मजदुरको गुनासो छ । यसअघि वनस्पती तेलको कच्चा पदार्थको आयातमा १० प्रतिशत र प्रशोधित तेलमा १५ प्रतिशत भन्सार महशुल तोकिएको थियो ।

सरकारले आर्थिक वर्ष २०७९–८० मा प्रशोधित तेलको भन्सार महशुल पाँच प्रतिशतमा झारेपछि स्वदेशी उद्योग धारासाही भएकाले सडक संघर्षमा उत्रनुपरेको उद्योगीहरुको गुनासो छ ।

सरकारको नयाँ व्यवस्थाले मजदुर बेरोजगार हुने अवस्था आएकाले तत्काल बजेट व्यवस्था सच्याउन माग गर्दै आन्दोलनमा उत्रिएको मजदुर नेता किशोर धमलाले बताए । ‘सरकारको नीतिले उद्योगहरु बन्द भए भने मजदुरको रोजगारी गुम्छ,’ उनले भने, ‘उद्योगीका स्वार्थ के छन् थाहा छैन, तर हामी मजदुरको रोजगारीको ज्ञारेन्टीका लागि संघर्षमा उत्रिएका छौं ।’

यसअघि मोरङ व्यापार संघ,उद्योग सगंठन मोरङ, नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश नम्बर १ र नेपाली कांग्रेस,एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस निकट ट्रेड युनियनले प्रदर्शन गरेपछि अर्थमन्त्रीले उद्योगीलाई जेठ २७ गते बोलाएर माग सम्बोधन गर्ने आश्वासन दिएका थिए । तर माग सम्बोधन नभएपछि आन्दोलनमा उत्रिएको मोरङ व्यापार संघका अध्यक्ष रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?