+
+

गरिबी निवारणमा गर्नुपर्ने लगानी फोहोर व्यवस्थापनमा भइरहेको छ : मन्त्री झाँक्री

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १८:३१

९ असार, काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गरिबी निवारणमा लगाउनुपर्ने राज्यको स्रोत साधन फोहोर व्यवस्थापनमा लगाउनुपरेको टिप्पणी गरेकी छन् ।

बिहीबार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले फोहोर घरबाट चोक र खोलामा लगेर थुपार्ने परिपाटी बन्दै गएकाले फोहोर व्यवस्थापनमा लगानी बढेको उनको भनाइ छ ।

मन्त्री झाँक्रीले काठमाडौंको फोहोर फालिने बञ्चरे डाँडा क्षेत्रको सामाजिक मुद्दालाई सम्बोधन गरेर मात्रै अघि बढ्नुपर्ने बताइन् । फोहोर र ढलका समस्यालाई समाधान गर्न ऋण लिएर भएपनि प्रशोधन केन्द्र बनाउनुपर्ने उनको भनाइ छ ।

‘शहरमा बस्नेले फोहोर उत्सर्जन गरिरहेका छन् । आफूले गरेको फोहोर ढल, ढलबाट खोलामा सुक्खा फोहोरहरु बाहिर ल्याएर चोकमा थुपार्ने संस्कृति बढेर आएको छ, त्यसले हाम्रो गरिबीलाई घटाउनको लागि लगानी गर्नुपर्ने नेपाल सरकारको शक्ति, सामर्थ्य, ऋण, पैसा, आम्दानी सबैकुराको अतिरिक्त खर्च यसको व्यवस्थापनमा लागेको छ भन्ने कुरा हामीले थाहा पाउनुपर्छ’ उनले भनिन् ।

उनले अघि भनिन्, ‘ढल खोलामा मिसाएका छौँ, त्यसको ट्रिटमेण्ट गर्न त्यत्तिकै संख्यामा ऋण लिएर ट्रिटमेण्ट प्लान्ट बनाउनुपर्छ । यो हामी सुल्टो बाटो हिँडेको होइन, तरपनि यो हाम्रो बाध्यता हो । हामीले अब जसले फोहोर गर्छ उसैसँग पैसा उठाएर काम गर्नुपर्छ भन्ने कुरा स्थापित गर्न सकेनौँ भने पुस्तौं पुस्तासम्म ऋणको भारी अर्को पुस्तालाई हस्तान्तरण गर्नेछौँ ।’

टुकुचा खोला काठमाडौंको मध्यभागबाट बग्ने गर्छ । तर अव्यवस्थित शहरीकरणका कारण खोला प्रदूषित र अतिक्रमण भएको छ । ट्रिटमेण्ट प्लान्ट बनाएपछि फोहोर पानी प्रशोधन हुने र त्यसलाई वागमती नदीमा मिसाउने योजना रहेको छ ।

प्रशोधनका बेला निस्किएको स्लजलाई प्रशोधन केन्द्रबाट बायोग्यास उत्सर्जन गर्न प्रयोग गर्ने योजना छ । यो आयोजनाबाट १ लाख ४५ हजार मानिस लाभान्वित हुने सरकारले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?