+
+

मतदाता बन्न ४ घण्टादेखि लाइनमा

सम्झना विक सम्झना विक
२०७९ असार ९ गते २१:१३
तस्वीरहरु : चन्द्रबहादुर आले 

९ असार, काठमाडौं । काठमाडौंको अनामनगरमास्थित जिल्ला निर्वाचन कार्यलय अगाडि लामो लाइन छ । धोबीखोला किनारको सडकसँगैको फुटपाथमा लाइन लाग्नेमा युवादेखि वृद्ध उमेरसम्मका महिला पुरुष छन् । उनीहरु मतदाता नामावलीमा नाम लेखाउन आफ्नो पालो पर्खिरहेका छन् ।

निर्वाचन आयोगले १८ वर्ष उमेर पूरा भएर पनि मतदाता नामावलीमा नाम नभएकाहरुको असार १ देखि फोटोसहितको नामावली संकलन सुरु गरेको छ । आयोगले आफू बसेकै ठाउँबाट नाम लेखाउन सक्ने व्यवस्था गरेपछि देशका विभिन्न जिल्ला घर भई काठमाडौंमा बसोबास गर्दै आएकाहरु जिल्ला निर्वाचन कार्यालय अगाडि लाइन लाग्न पुगेका हुन् ।

बिहीबार दिउँसो साढे एक बजे जिल्ला निर्वाचन कार्यालयबाहिर पुग्दा लाइनमा भेटिइन् ५५ वर्षकी शिवा कुँवर । यसअघिको निर्वाचनमा मतदान गर्न नपाएकी उनी यस पटक भने जसरी पनि नाम लेखाउने भन्दै ४ घण्टादेखि लाइनमा बसिरहेकी छन् । स्थानीय चुनावमा मतदान गर्न नपाउँदा खिन्न भएकी उनी अब यस्तो अवसर गुमाउन चाहन्नन् ।

सोलुखुम्बुका कृष्णबहादुर बस्नेत पनि लाइनमा उभिएको तीन घण्टा भयो । यसअघि वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा रहेका कारण मतदान गर्ने मौका नपाएका उनले यसपटक भने नेपाल भएको बेला मतदाता नामावलीमा नाम लेखाउन लागेका हुन् । कृष्ण भन्छन्, ‘नामावलीमा नाम छुट्यो अहिले सरकारले आफू बसेकै ठाउँबाट नाम दर्ता गराउन पाइने व्यवस्था राम्रो लाग्यो’ उनले भने ।

धादिङकी प्रतिमा भण्डारीले पनि रोजगारीका लागि देशबाहिर रहेका कारण मतदाता नामावलीमा नाम लेखाउन पाएकी थिइनन् । तर घर आएका बेला ३० वैशाखको स्थानीय तह निर्वाचनमा मतदान गर्न नपाएपछि भने उनी नाम दर्ता गराउन आएकी हुन् ।

‘मेरो एउटा भोटले पनि निर्वाचन मनपरेको उम्मेदवारलाई जिताउन सहयोग पुग्छ त्यसैले भोक, तिर्खा र गर्मी खपेर भएपनि पाँच घण्टा देखि लाइनमा उभिएको छु’ उनले भनिन् ।

काभ्रेकी निर्मला मरहट्टा जापानमा रोजगारीका लागि गएको १५ वर्ष भयो । अहिले विदामा घर आएको बेला नाम दर्ता गराउन आएकी हुन् ।

लाइनमा भेटिएकी विराटनगरकी मीना तिम्सिना मतदाता नामावलीमा नाम लेखाउन कार्यालयमा आधा दिनको बिदा मागेर आएकी थिइन् । तर दिउँसो साढे एक बजेसम्म पालो नआएपछि दिक्क भएकी उनलाई छिटो हुने काम पनि कार्यालय ढिलो गरेकामा रिस उठेको छ ।

‘प्रविधिको जमनामा पनि जनतालाई लाइनमा उभ्याएर सास्ती दिएको छ, अनलाइन फारम दर्ता गर्ने सुविधाले बनाएको भए नागरिकले दुख व्यहोर्नुपर्दैनथ्यो’ उनले भनिन् ।

नुवाकोटका हरि ढुंगाना निर्वाचन कार्यालय बाहिर विहान ९ बजे नै लाइन बस्न आएका थिए । तर उनी आयोगको व्यवस्थापन उनलाई चित्त बुझेको छैन । भोकै लाइन बस्न बाध्य भएको भन्दै उनले कार्यालयले सर्वसाधारणको समयको बेवास्ता गरेको बताए ।

स्याङ्जाकी रजनी लम्साललाई ३० वैशाखको स्थानीय तह निर्वाचन अघिसम्म राजनीतिमा धेरै चासो थिएन । तर गत स्थानीय तह निर्वाचनमा धेरै युवा उम्मेदवार देखेपछि भने उनलाई पनि मतदान गर्न मन लाग्यो । रुपन्देहीका सागर सापकोटा पनि गत स्थानीय तह निर्वाचनमा युवा उम्मेदवारको चर्चा देखेपछि नाम लेखाउन आएका हुन् ।

दोलखाका ईश्वरकुमार दर्नाल काठमाडौंमा व्यवसाय गर्छन् । मतदाता नामावलीमा नाम दर्ता गराउन घर जाने समय नमिलेका कारण उनले अहिलेसम्म मतदान गर्न पाएका थिएनन् । निवौचन आयोगले आफू रहेकै स्थानबाट नाम दर्ता गराउन सक्ने व्यवस्था गरेपछि उनी खुशी छन् ।

‘कामको चापले गर्दा घर चाडपर्वमा मात्र गइन्छ यसैको लागि समय निकाल्न गाह्रो हुन्छ, अहिले काठमाडौंबाटै पाइने भएकाले सजिलो भएको छ’ उनले भने ।

जोरपाटीकी लक्ष्मी कार्की छोरा छोरीको आग्रहमा नाम दर्ता गर्न आएकी हुन् । ४२ वर्षकी उनले अहिलेसम्म मतदान गरेकी छैनन् । ‘जुन जोगी आएपनि कानै चिरेका त्यसैले मतदान गर्न कहिल्यै मन लागेन’ उनले भनिन्, ‘अहिले भने छोराछोरीले दर्ता गराउनू भनेपछि लाइन लाग्न आएकी हुँ ।’

कक्षा १२ मा पढ्दै गरेका डडेलधुराका रोशन महत काठमाडौंबाटै मतदाता नामावलीमा नाम दर्ता गराउन पाउँदा खुशी छन् । ‘मताधिकार प्रयोग गर्न पाउनु हरेक नेपाली नागरिकको अधिकार हो, अबदेखि म पनि मतदाता बन्ने भएँ’ उनले भने ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अनुसार हाल काठमाडौंमा चार ठाउँबाट मतदाता नामावली संकलन भइरहेको छ । अनामनगरस्थित जिल्ला निर्वाचन कार्यालय, शंखरापुर र दक्षिणकालीमा रहेको इलाका प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयबाट फोटोसहितको मतदाता नामावली संकलन भइरहेको छ ।

काठमाडौंबाट दिनमा एक हजार जनाले मतदाता नामावलीमा नाम लेखाउने गरेका छन् । जसमध्ये काठमाडौं जिल्लाका ५०० जना र काठमाडौंबाहिरका ५०० जना हाराहारी रहने जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए । ‘देशभरिका मतदाताले काठमाडौंबाटै मतदाता नामावलीमा नाम लेखाउन सक्ने भएकाले धेरै चाप छ’ उनले भने ।

तस्वीरहरु : चन्द्रबहादुर आले 

 

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?