+
+

धरानको नगर कार्यपालिका बैठकमा फेरि पनि विवाद

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते २०:१४

९ असार, धरान । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बिहीबार पनि स्थगित भएको छ ।

कार्यपालिका सदस्यहरुले विनियोजन विधेयक माथिको छलफल गर्दा विवाद सिर्जना गरेपछि बैठक स्थगित भएको हो ।

धरान उपमहानगरपालिकामा यसअघि पनि वडाध्यक्षहरुविरुद्ध नाराबाजी भएको भन्दै नवनिर्वाचित जनप्रतिनिधिको दोस्रो कार्यपालिका बैठक स्थगित भएको थियो ।

नगर सभामा विनियोजन विधेयक पेश नहुने

कार्यपालिका वैठक स्थगित भएपछि शुक्रबारको नगरसभामा बजेट र विनियोजन विधेयक नै पेश नहुने धरानका मेयर हर्क साम्पाङ्ग राईले सामाजिक सञ्जालमार्फत बताएका छन् । कार्यपालिका बैठक भाँडिएको भन्दै दुईवटा स्टाटस लेखेका मेयर साम्पाङगले भनेका छन्, ‘आजको कार्यपालिकाको बैठक पनि सम्पन्न हुन सकेन । बजेट, विनियोजन विधेयक बिना नै नगरसभा गर्नुपर्ने बाध्यता देखियो । जे होस् जय धरान भन्न चाहिं छोड्दिन ।’

अनलाइनखबरसँगको कुराकानीमा उनले सबैजना धेरै जान्ने भएका कारण बैठक स्थगित भएको बताए । ‘साथीहरु पनि जान्नेछन्, म पनि जान्ने, सबै जना जान्ने भएपछि यस्तै हो’, उनले भने, ‘हात्तीको बल र मान्छेको मन मिल्दैन यहाँ पनि यस्तै भयो ।’ उनले आफ्नो कारणले बैठक स्थगित नभएको दाबी पनि गरे ।

सामाजिक सञ्जालमा लेखे अनुसार बैठक भाँडिएपछि उनका ६ वटा एजेण्डामा छलफल हुन सकेन ।

यातायात व्यवस्था विभागको शाखा धरानमा पनि माग्ने, शुक्रबार जातीय मौलिक पोशाक लगाएर विद्यार्थीहरु स्कुल जान पाउने/जानुपर्ने, राष्ट्रिय आविष्कार केन्द्रको शाखा धरानमा स्थापना गर्ने, सामाजिक सुरक्षा भत्ता वडा स्तरबाट वितरण गर्ने, सहयोग गर्न चाहने दाताका लागि सरकारी खाता खोल्ने/चलाउने र सर्दु जलाधारको बारेमा टुङ्गो लगाउने आफ्नो एजेण्डा रहेको उनले बताए ।

धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघाले मेयर सामाजिक सञ्जालमा लेखेको विषय सही भएको भन्दै आफ्नो धारणा शुक्रबार मात्र सार्वजनिक गर्ने बताए ।

‘मेयरसाबले पनि स्टाटस लेख्नु भएको छ । मैले पनि लेखेको छु । अब मिलाएर बुझ्नुस । बाँकी भोलि बेलुका मात्रै भनौंला’, बेघाले अनलाइनखबरसँग भने ।

जम्मा एउटा एजेण्डा विथोलिएको हो : प्रवक्ता

धरान उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर भट्टराई (मनोजले) भने नगर कार्यपालिका सदस्यहरुलाई जानकारी गराएको मध्ये एउटा मात्रै एजेण्डामा छलफल हुन नसकेको बताएका छन् ।

उनले भने, ‘कार्यपालिका सदस्यहरुलाई जानकारी गराएको विषय राजश्व सम्बन्धमा, अघिल्लो कार्यपालिका बैठकमा बाँकी भएको एजेण्डाको विषयमा छलफल भइसकेको छ । बाँकी एउटा विनियोजन विधेयकमा कार्यपालिका सदस्यहरुले बोल्न समय मागेपछि बैठक स्थगित भएको हो ।’

उनले शुक्रबारको नगरसभामा नीति तथा कार्यक्रम र बजेटको पुरै फिगर आउने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?