+
+
माइतीघरका आन्दोलनकारीको कथा :

मिटरब्याजीले भूमिहीन बनायो, सिंहदरबारले सुनेन

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०७९ असार ९ गते २१:३६

९ असार, काठमाडौं । सुस्ता गाउँपालिका– ५, नवलपरासीका रामशुभक मुसहरले छोरालाई वैदेशिक रोजगारीमा पठाउन २०७१ सालमा १ लाख ३० हजार ऋण लिएका थिए । उनले श्रीमतीको नाममा रहेको जग्गा धितोमा राखेर पाँच प्रतिशत ब्याज बझाउने गरी जगदिश बानियाँसँग ऋण लिएका थिए ।

त्यही रकम म्यानपावर व्यवसायीलाई बुझाएर रामशुभकले छोरालाई मलेसिया पठाए तर, त्यहाँ राम्रो कमाइ हुन सकेन । केही महिनामै छोरा घर फर्किए । अब ऋण तिर्न जग्गा बेच्नु बाहेक विकल्प रहेन । रामशुभकले जग्गा बेचेर ४ लाख बुझाए । तर धितो राखेको जग्गाको कागजात फिर्ता पाएनन् । साहु बानियाँले ऋण चुक्ता भएको छैन भनिरहे ।

साहुले दुःख दिएपछि अर्को टुक्रा जग्गा बेचेर ५ लाख बुझाए । तैपनि बानियाँले ऋण चुक्ता भएको छैन भन्न छाडेनन् । धितोमा राखेको जग्गा पनि बेचेर देउ भन्न थाले । परिवारको सदस्यहरूसँग सल्लाह गरे, पैसा दिएर यो झन्झटबाट मुक्त हुने सल्लाह दियो, जग्गा बेच्ने जिम्मा बानियाँलाई दिए ।

१ लाख ३० हजार ऋण र त्यसको ब्याज तिर्न एक बिगाहा ५ कट्ठा जग्गा गुमाएर भूमिहीन भए । भन्छन्, ‘कतिमा बेच्यो कहाँ बेच्यो भन्ने केही थाहा छैन । मैले त गएर हस्ताक्षर मात्र गरेको हुँ ।’ तर बानियाँले अझै ८ लाख माग गरिरहेका छन् ।

साहुले आफूमाथि गरेको अत्याचारविरुद्ध उनी गाउँपालिकादेखि जिल्ला अदालतसम्म पुगे । कतै सुनुवाइ नभएपछि मिटरब्याजबाट पीडित भएकाहरुसँग मिलेर आन्दोलन गर्न काठमाडौं आए, माइतीघरमण्डलामा धर्ना दिइरहेका छन् ।


पत्तापुर गाउँपालिका, नवलपरासीकै आश्मा खातुनको पनि कथा त्यस्तै नै छ । उनले घर बनाउन जगदिश बानियाँकै माइला भाइ सुरेश बानियाँबाट ८ लाख ऋण लिएकी थिइन् । रोजगारीको सिलसिलामा उनको श्रीमान् कतार गएका थिए । बिदामा आएर घर बनाउने क्रममा जग्गा धितोमा राखेर सुरेशसँग ८ लाख ऋण लिए । घर बनाएर श्रीमान् कतार नै फर्किए, ऋण तिर्न १० लाख पठाए ।

खातुनको ससुराले त्यो रकम सुरेशलाई बुझाए । तर सुरेशले ब्याज चुक्ता भएको छैन अझै पैसा तिर्नुपर्छ भनेर उनको ससुरालाई धम्काए । त्यसयता  १४ कट्ठा जग्गा बेचेर २८ लाख बुझाइसक्दा पनि ऋण चुक्ता भयो नभनेको उनले सुनाइन् ।

१५ लाख ऋण अझै बाँकी नै छ भन्दै सुरेशले दिनदिनै घरमा आएर धम्काउन थाले । मोटरसाइकल दुर्घटनामा परेका छोरालाई देखाउँदै उनले भनिन्, ‘तिमीले ऋण चुक्ता भई सक्यो भनेका थियौ। अब कहाँबाट ल्याएर दिने १५ लाख ?

तैपनि सुरेशले धम्काउन  छोडेनन् । धरौटी राखेको जग्गा बेच्छु भनेर  धम्काउन थाले । दिनदिनै घरमा आएर दुःख दिन थालेपछि प्रहरी कार्यालयमा सुरेशविरुद्ध उजुरी गरिन् । तर उनले न्याय पाइनन् । अहिले न्याय पाउने आशमा काठमाडौं आएकी छन् र रामशुभकसँगै आन्दोलन गरिरहेकी छिन् ।

त्यही धर्नामा भेटिए हृदयेश कुर्मी । ‘२०६६ सालमा  जगदिश बानियाँसँग १ लाख ऋण लिएर कतार गाएको थिएँ । राम्रो काम नभएको कारण म लगत्तै फर्किएँ’ उनले सुनाए, ‘त्यो ऋण बाँकी नै थियो । भाइको बिहे गर्न सुनिल बानियाँसँग २ लाख ऋण लिएँ ।’ त्यो दुवै ऋण तिर्न उनले ११ कट्ठा जमिन पनि बेचे । उनका अनुसार ३ लाखको साउँ ब्याज गरेर ५ वर्षको अवधिमा २० लाख ३५ हजार ५०० तिरिसके । २०७१ मा उनीहरूले तिम्रो ऋण चुक्ता भयो पनि भनेका थिए ।

तर २०७५ देखि फेरि पैसा माग्न थाले । कुर्मी भन्छन्, ‘२० लाख ३८ हजार ५०० बुझाइसकेको छु । अझै पनि ९ लाख मागिरहेका छन् ।’ यसबारे उजुरी गर्न प्रहरी कार्यालय, जिल्ला अदालत धाउँदा पनि न्याय नपाएको उनको गुनासो छ ।

बानियाँ परिवारका ४ जना दाजुभाइबाट नवलपरासीका धेरै ठगिएको उनीहरु बताउँछन् । पटकपटक ध्यानाकर्षण गराउँदा पनि स्थानीय प्रशासनबाट न्याय नपाएको भन्दै उनीहरु केन्द्र सरकारको ध्यानाकर्षण गराउन आएका छन् ।

मिटरब्याजीबाट पीडितहरुले माइतीघरमण्डलामा ११ दिनदेखि हरेक दिन धर्ना दिने गरेका छन् । दिनभरि माइतीघरमा धर्ना दिने उनीहरु रात कटाउन गौशाला पुग्छन् । गाउँबाट ल्याएको खानेकुुरा खान्छन्, पशुपति क्षेत्रको पार्किङ स्थलमा पाल टाँगेर रात काट्छन् । तर अब रासन सकिएको छ, दुई दिनदेखि राम्ररी खान पाएका छैनन् । तर उनीहरुलाई सरकारले सुन्ने प्रयास समेत गरेको छैन ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
सुमित्रा लुइटेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?