+
+

कालिका नगरपालिकाको बजेट ८५ करोड ९७ लाख

एक सय वाटको रेडियो नगरपालिका आफैंले चलाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते १७:१५

१० असार, चितवन । चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ८५ करोड ९७ लाख ५१ हजारको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाका प्रमुख विनोद रेग्मीले शुक्रवार बजेट पेश गर्दै संघीय सरकारको समानीकरण अनुदान १५ करोड ५६ लाख, सशर्त अनुदान २३ करोड ९२ लाख, विशेष अनुदान १ करोड, राजस्व बाँडफाँड ११ करोड ६० लाख ४ हजार, समपुरक अनुदान १ करोड गरी ५२ करोड ६८ लाख ४ हजार, प्रदेश सरकारको समानीकरण अनुदान १ करोड ४९ लाख ५४ हजार, शशर्त अनुदान २ करोड ३९ लाख ६६ हजार, राजस्व बाँडफाँड ५ करोड ५० लाख २९ हजार, समपुरक अनुदान २ करोड ९९ लाख ९८ हजार गरी १२ करोड ३९ लाख ४७ हजार खर्च हुने प्रक्षेपण गरेका छन् ।

नगर प्रमुख रेग्मीले आन्तरिक आयतर्फ रजिष्ट्रेशन शूल्क र नदीजन्य राजश्व बाँडफाँड समेत गरी ८ करोड ५० लाख, जिल्ला समन्वय समितिबाट १ करोड, सडक बोर्डबाट ४० लाख प्राप्त हुने तथा नगद मौज्दात करिब १० करोड हुने अनुमान गरेका छन् ।

उनले आगामी आर्थिक वर्षको अनुमानित आय व्यय विवरण, आर्थिक विधेयक, २०७९ र विनियोजन विधेयक, २०७९ नगरसभामा पेश गरे ।

आगामी वर्ष वडास्तरमा तर्जुमा भएका वडास्तरीय योजनाहरुको कार्यान्वयनका लागि जनसंख्या, भूगोल, राजस्व परिचालनको स्थिति तथा विकटता समेतलाई आधार मानेर एकमुष्ठ ९ करोड विनियोजन गरिएको छ ।

नगरक्षेत्रमा सम्भावित वाढी, पहिरो, भू क्षय, भुकम्प, हावाहुरी जस्ता प्रकृतिक विपत्तीबाट धनजनको क्षति न्यूनिकरण गर्न तथा पिडित प्रभावितको राहत, उद्धार, पुनस्थापना एवम् पुनर्निमाणको लागि १ करोड ५० लाख विनियोजन गरिएको छ ।

परम्परागत एवं निर्वाहमुखी कृषि तथा पशुपालनलाई व्यवसायिकरण गर्दै कृषि तथा पशुपंछीजन्य उत्पादन बढाउन प्राथमिकता दिएर बजेट विनियोजन गरेको नगरप्रमुख रेग्मीले बताए ।

नगरपालिकाले चालु आर्थिक वर्षमा ३ करोड ३० लाख राजश्व सङ्कलन हुने अनुमान गरिएकोमा जेठ मसान्तसम्म २ करोड ४८ लाख ६८ हजार संकलन गरेको छ । चालु आर्थिक वर्षको अन्त्य सम्ममा ३ करोड आन्तरिक स्रोत संङ्कलन हुने संशोधित अनुमान पेश गएिको छ ।

चालु आर्थिक वर्षमा नगरपालिकाको कुल खर्च ९२ करोड ६५ लाख ३३ हजार हुने अनुमान गरिएकोमा संघीय सरकार तथा प्रदेश वाट थप बजेट प्राप्त भई ९५ करोड ९१ लाख १६ हजार कायम भएको छ ।

चालु आर्थिक वर्षको जेष्ठ मसान्तसम्म चालु तर्फ ४० करोड २७ लाख ४७ हजार मध्ये रु ३० करोड ९२ लाख ३० हजार अर्थात ७४.९२ प्रतिशत र पूँजिगत तर्फ ५४ करोड ६३ लाख ६९ हजार मध्ये २५ करोड २५ हजार अर्थात ४५.७६ प्रतिशत खर्च भएको छ ।

नीति तथा कार्यक्रमः कृषिमा जोड, नागरिकलाई सूचना दिन आफ्नै रेडियो

नगरपालिकाले आगामी आर्थिक बर्षका लागि कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ ।

कृषिमा आत्मनिर्भर बनाउन तरकारी,मौरीपालन, केरा र च्याउ पकेट क्षेत्र घोषणा गरी मल,बीउ र उपकरणमा अनुदान दिने उल्लेख छ ।

नगर भित्रका ११ हजार किसानहरुलाई व्यवसायिक बनाउदै कृषि उत्पादनलाई निर्यात गर्ने गरी योजना दर्जुमा गरिएको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिए । पशुपालनतर्फ सो नगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ अनुदान दिँदै आएको छ ।

स्वास्थ्यतर्फ नगरपालिकाले नगर भित्र बसोबास गर्ने विपन्न बर्गको निशुल्क स्वास्थ्य बीमा गर्ने, आगामी पाँच बर्ष भित्र नगरपालिकालाई पोषणमैत्री नगर बनाउन बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन गर्ने, महिलाहरुमा हुने पाठेघरको क्यान्सर रोकथाम तथा नियन्त्रण गर्न समयमै उपचार गर्ने व्यवस्था मिलाउने, कालिका नगर अस्पतालमा भौतिक पूर्वाधार,प्रविधि,उपकरण सहित विशेषज्ञ चिकित्सकहरुको व्यवस्था गरिने छ ।

अति विपन्न समुदायका सुत्केरी महिलाहरुलाई पोषण खर्च, ८० बर्ष माथीका ज्येष्ठ नागरिक तथा रातो कार्ड पाएका अपाङ्गता भएका व्यक्तिलाई घरघरमै स्वास्थ्य परीक्षण गर्ने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरिएको मेयर रेग्मीले बताए ।

सीमान्तकृत चेपाङसहित विपन्न समुदायका वालवालिकाहरुको शिक्षाका लागि छात्राबास सञ्चालन, कालिका कलेज स्थापना गर्ने उल्लेख गरिएको छ। नगरपालिकाले नागरिकहरुलाई नगरका सूचना पुर्‍याउन तथा सेवाहरुका बारेमा जानकारी गराउन एक सय वाट क्षमताको एफएम रेडियो सञ्चालन गर्ने जनाएको छ ।

स्थानीय जातजातिको भाषा संस्कृतिको संरक्षण, नगरपालिकाबाट प्रदान गरिने सेवा सुविधाका बारेमा जानकारी तथा नगरका समग्र गतिविधीहरु जनता समक्ष लैजान नगरपालिकाको आफ्नै रेडियो सञ्चालन गरिने नगर प्रमुख रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?