+
+

कात्तिक ३० मा आमचुनाव !

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते २१:५६

१० असार, काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन ३० कात्तिक २०७९ मा प्रस्ताव गर्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मिति प्रस्ताव गर्नुअघि आयोग पदाधिकारीहरु परामर्शमा छन्, त्यसक्रममा ३० कात्तिक बुधबार उपयुक्त हुने राय आएको छ ।

प्रमुख प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया आफूहरु आम चुनावको मितिबारे छलफलमा रहेको बताउँछन् । छिट्टै प्रधानमन्त्रीलाई भेटेर औपचारिक रुपमै निर्वाचनको मिति प्रस्ताव गरिने उनले जानकारी दिए । बिहीबार प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा भएको छलफलमा प्रमुख आयुक्त थपलियाले भने, ‘ट्वाक्कै निर्वाचनको मिति भनिदिँदा संसदमा गएर निर्वाचनको मिति तोकेछन् भन्लान, तर आयोगले मंसिर १० गते भित्र प्रदेश र संघको निर्वाचनको काम सक्ने गरी आन्तरिक तयारी गरेको छ ।’

स्रोतका अनुसार कात्तिक २८ भन्दा अगाडि चुनाव गर्न निर्वाचन आयोगको आफ्नो तयारी पुग्दैन ।

किनकी अहिले मतदान नामावली संकलन भइरहेको छ । काठमाडौंका साथै झापा, मोरङ लगायतका धेरै जनघनत्व भएका जिल्लाहरुमा दैनिक मतदाता नामावलीमा नाम लेखाउनेको संख्या उल्लेख्य छ । त्यसैले अझै एक साता नाम दर्ता कायमै राख्ने आयोगको तयारी छ । त्यसपछि निर्वाचन तयारीलाई १२० दिन राखेर मिति घोषणा गर्दा कात्तिक २८ अगाडि सम्भव छैन ।

मंसिरको पछिल्ला सातामा निर्वाचन गर्न हिमाली जिल्लाहरुमा मतदान गर्न कठिन हुन्छ । साथै असोज–कात्तिकको बीचमा दशैं, तिहार र छठ पर्व परेको छ । उम्मेदवारी दर्ता, दाबीविरोध, अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह प्रदान जस्ता कार्यक्रम चाडपर्वको समयमा पार्न उपयुक्त हुन्न ।

दशंैपछि, तिहारअघि उम्मेदवारी दर्ता गरेर ३० कात्तिकमा मतदान उपयुक्त देखिएको एक आयुक्त बताउँछन् । भन्छन्, ‘प्रधानमन्त्रीलाई पनि यही परामर्श दिने तयारी छ । सरकारले एकाध दिन तलमाथि गरेर निर्वाचनको मिति घोषणा गर्न सक्छ ।’

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल पनि संसदीय चुनावको मिति औपचारिक रुपमा प्रस्ताव गर्ने तयारी भइरहेको बताउँछन् । ‘हामी सरकारसँग बसेर चुनावको मितिबारे परामर्श गर्दैछौं’ पौडलले अनलाइनखबरसित भने ।

सत्तारुढ गठबन्धनमा पनि मंसिर पहिलो साता वा कात्तिक अन्तिममा चुनाव गर्नुपर्ने मत बलियो । प्रमुख विपक्षी नेकपा एमालेले पनि मंसिरमा चुनाव गर्नुपर्ने माग गर्दै आएको छ । अब आयोगले मिति प्रस्ताव गरेपछि सरकारले असार अन्तिम वा साउन पहिलो साता चुनाव घोषणा गर्नसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?