+
+

कसरी घट्यो पेट्रोल-डिजलको मूल्य ?

कर घटाउने अर्थमन्त्रीको प्रतिवद्धता, तर घटाउन बाँकी

सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर घटाउन निर्देशन दिएपछि र अर्थमन्त्री जनार्दन शर्माले घटाउने प्रतिवद्धता जनाएपछि आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले पत्रकार सम्मेलन गरेर पेट्रोल-डिजलमा मूल्य घटेको घोषणा गरे ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ असार ११ गते २०:३३
शनिबार आयोजित पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु

११ असार, काठमाडौं । सरकारले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजल तथा मट्टीतेलमा २९ रुपैयाँ मूल्य घटाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले शनिबार विहान पत्रकार सम्मेलन गरी सरकारले कर घटाएर पेट्रोलियम पदार्थको मूल्यमा नागरिकलाई राहत दिएको बताए ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठकपछि मन्त्री बडुले मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव डा. गणेशप्रसाद पाण्डेय र आयल निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीलाई दायाँ बायाँ राखेर पत्रकार सम्मेलन आयोजना गरे र पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण बजारमा भइरहेको समग्र मूल्यवृद्धिलाई निन्त्रणमा राख्न पेट्रोलियम पदार्थमा कर घटाइएको बताए ।

यद्यपि उनले कुन कर घट्यो भन्ने विषय विस्तृतमा खुलाएनन् । यस विषयमा अर्थमन्त्रालयले तयारी गरिरहेको संक्षिप्त जवाफ दिए ।

शनिबार विहान सत्तारुढ गठबन्धनको शीर्ष नेताको बैठकमा अर्थमन्त्री जनार्दन शर्मा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बडु, आपूर्ति सचिव, नेपाल आयल निगमका कार्यकारी निर्देशक पनि सहभागी थिए । त्यस क्रममा मन्त्रालय र निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेका कारण सरकारले लिँदै अएको कर घटाए मात्र मूल्य घटाउन सक्ने बताएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले कर घटाएरै भए पनि पेट्रोलियम पदार्थको मूल्य घटाउन आपूर्ति मन्त्रालय र आयल निगमलाई निर्देशन दिएका थिए ।

‘हाम्रो प्रस्तुतिपछि निष्कर्ष पनि यो नै रह्यो, अहिलेको अवस्थामा डिजेल र पेट्रोलमा लागिरहेको जुन ट्याक्स छ, त्यसलाई घटाएर पेट्रोलको मूल्य प्रतिलिटर १९९ बाट १७९ कायम गरिएको छ र डिजेल १९२ बाट १६३ मा झारिएको छ’ मन्त्री बडुले पत्रकार सम्मेलनमा भने ।

मन्त्री बडुलाई पत्रकारहरुले पेट्रोलियम पदार्थको कुन कर घटाइएको हो भन्ने प्रश्न गरेका थिए । मन्त्री बडुले यस विषयमा अर्थ मन्त्रालयले तयारी गर्ने बताए । ‘अहिलेलाई ट्याक्स घटेका कारण मूल्य घट्यो, अर्थ मन्त्रालयले घटाउने प्रक्रिया आफ्नो ठाउँमा गर्छ, तर जनताले आज राति १२ बजेदेखि नै पेट्रोल र डिजेलमा मूल्य घटेर पाउँछन्’ उनले भने ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ र नेपाल आयल निगमले अन्तर्राष्ट्रिय मूल्यका आधारमा भन्दै पछिल्लो चरण ठूलो मात्रामा मूल्यवृद्धि गरिरहेको थियो । तर सरकारले पेट्रोलियम पदार्थमा चर्को कर लिने र अन्तर्राष्ट्रिय बजारलाई कारण देखाएर मूल्य वृद्धि गरिरहनु उचित नहुने भन्दै विरोध भइरहेको थियो ।

मन्त्री बडुले त्यसै कारण पनि पेट्रोलियम पदार्थको कर घटाउनुपर्ने बाध्यतामा सरकार पुगेको बताए । ‘अहिले ट्याक्सका कारणले मूल्य धेरै तिर्नुपरेको थियो । जनताले तिर्नुपर्ने एमाउन्ट घटाउन जरुरी थियो, त्यसकारण ट्याक्स घटाएर मूल्य घटायौं’ उनले भने ।

सरकारले यसअघि गत जेठमा पनि पेट्रोलियम पदार्थमा लगाउँदै आएको प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर घटाएको घोषणा गरेको थियो । तर त्यसपछि असार ५ गते रातिदेखि लागू हुने गरी पेट्रोलमा २१ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ मूल्य बढाएको थियो । सरकारले शनिबार मूल्य घटाएपछि पेट्रोलको मूल्य असार ५ मा भन्दा १ रुपैयाँ महंगो र डिजेल तथा मट्टितेल प्रतिलिटर २ रुपैयाँ सस्तो भएको छ ।

मन्त्रीको घोषणालगत्तै मन्त्रालयमै बसेको निगम सञ्चालक समितिको बैठकले मन्त्री बडूको घोषणालाई अनुमोदन गरेको छ । अब डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ र पेट्रोल प्रतिलिटर १७९ रुपैयाँ कायम भएको छ ।

कर घटाउनै बाँकी

आम निर्वाचनको मुखैमा इन्धनको मूल्य बढाउँदा सरकार आलोचित भएको विषय सत्ता गठबन्धनमै सडकदेखि संसदसम्मै उठ्यो । प्रमुख प्रतिपक्षी नेकपा एमालेका विद्यार्थी र युवा संगठनले त सडक आन्दोलन नै सुरु गरेका थिए ।

इन्धनको मूल्य घटाउने वा बढाउने निर्णय आयल निगम सञ्चालक समितिबाहेक अर्को कुनै निकायले गर्न नपाउने निगम विनियमावली र कम्पनी ऐनमा उल्लेख छ । शनिबार मन्त्री बडुले मूल्य घटेको भनी गरेको घोषणा राजनीतिक निर्णय हो, जसलाई शनिबार नै बसेको निगम सञ्चालक समितिको बैठकले अनुमोदन गरिसकेको छ ।

अब सरकारले घटाएको करसम्बन्धी प्रस्ताव अर्थमन्त्रालयले मन्त्रिपरिषद बैठकमा लैजानुपर्नेछ । निगमका कतिपय अधिकारीले भने पहिले अर्थ मन्त्रालयले कर घटाउने प्रस्ताव अघि बढाएर मूल्य घटाउनुपर्नेमा पहिले मूल्य घटाउनु उल्टो व्यवहार भएको टिप्पणी गरेका छन् ।

निगम सञ्चालक समिति बैठकपछि कार्यकारी निर्देशक उमेश थानीले फेसबुकमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गरेका छन् । जहाँ सरकारले पेट्रोलियम पदार्थमा भन्सार विन्दुमै उठाउने ७ प्रकारका करका दरहरुबारे केही उल्लेख छैन ।

थानीले शनिबार मूल्य घटे पनि सरकारले लिने कर तत्कालै नघटेको बताए । ‘सत्ता गठबन्धनको बैठकमा अर्थमन्त्रीले कर घटाउने प्रतिबद्धता जनाउनुभएको छ, प्रधानमन्त्रीले पनि घटाउन भन्नु भएको छ’ उनले भने, ‘त्यसैको आधारमा अहिले मूल्य घटाएका छौं केही दिनमा त्यो निर्णय हुन्छ ।’

निगमका अधिकारीहरु भने अर्थ मन्त्रालयले कर घटाउने प्रक्रिया अघि बढाउन समय लिए आयल निगमको घाटा झनै चुलिने बताउँछन् । ‘घटाउनुपर्ने कर हो, तर त्यसअघि नै मूल्य घटाइयो, कर घटाउने प्रक्रिया थाले पनि अझै केही दिन लाग्ने र त्यसअघिको दैनिक कारोबारले घाटा झनै चुलिने छ ।’

यस अघि अर्थमन्त्रालयले आर्थिक ऐन संसदमा विचाराधीन रहेको भन्दै १० रुपैयाँ पूर्वाधार कर घटाउने बाचासहितको पत्र वाणिज्य मन्त्रालयलाई पठाएको थियो । सोही आधारमा मन्त्रालयले निगमलाई डिजेल र पेट्रोलमा पूर्वाधार शुल्क लिटरमा १० रुपैयाँ घटाउन भन्यो ।

निगमले मूल्य घटायो पनि तर, अर्थले भन्सार विन्दुमा उक्त कर उठाइरह्यो । त्यसबापतको रकम निगमले अर्थबाट अझै पाएको छैन । अहिले पनि कर घटाउने भनियो, तर यसको प्रक्रिया बेलैमा अघि नबढे निगमको घाटा झनै बढ्ने ती अधिकारी बताउँछन् ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?