+
+

धान रोप्ने त यसरी पो रहेछ !

पहिलोचोटि धान रोप्न पाउँदा प्रफुल्ल बालबालिका

विकास रोकामगर विकास रोकामगर
२०७९ असार १५ गते १९:५८

१५ असार, पोखरा । पोखरा महानगर–२५, हेम्जाका खेतमा बुधबार मानिसहरु हिलो खेल्दै थिए । कोही हिलाम्मे खेतमा डोरी तानातान गर्दै थिए, कोही हिलोमा छोडिएको माछा समात्दै थिए त कोही फुटबल खेल्दै थिए ।

रोपाइँ महोत्सवमा स्वदेशीमात्रै थिएनन्, विदेशी पनि उत्तिकै थिए । तर, भिडभन्दा केही परको गह्रामा भने ससाना विद्यार्थी स्कुलको पोशाकमै छुपुछुपु धान रोपिरहेका थिए । गुरुआमाहरुसँग धान रोप्न पाउँदा उनीहरु प्रफुल्ल देखिन्थे ।

पोखरा रामबजारस्थित कालिका माविमा कक्षा ४ मा पढ्ने दिव्या गुरुङ पहिलो पटक रोपाइँ गर्ने खेतमा पुगेकी थिइन् । जहाँ उनले आफैंले धान रोपिन् ।

‘आज भर्खर पहिलोचोटि धान रोपेको मैले,’ धानको बेर्ना केलाउँदै गरेकी उनले भनिन्, ‘धान त यसरी पो रोप्ने रै’छ । मलाई त मलाई मज्जा आयो ।’

दिव्यासँगै धान रोपिरहेकी उनकी सहपाठी स्मारिका परियार पनि धान रोप्न पाउँदा मख्ख परेकी छन् । शिक्षिका गंगा रिमालले ‘अब पुग्यो बाहिर आऊ’ भन्दा पनि घरीघरी खेतमा छिर्दै बाहिरिँदै गरिरहेकी थिइन् । ‘मिसहरुले बोलाइदिनु भो । मलाई त कस्तो मज्जा आइरा’छ,’ उनले भनिन्, ‘अरु साथीहरुले त अझै रोप्न पाइरा’छन् ।’

हिलोमै घरी धान रोप्दै घरी उफ्रिँदै पल्टिँदै हेम्जा मिलनचोककै पल्लव विकले पनि रोपाइँ महोत्सवको मज्जा लिए । ‘हिलोमा खेल्न कस्तो मज्जा आउने रैछ । आज त धान रोप्न पनि सिकियो,’ उनले भने ।

कालिका माविजस्तै हेम्जाको रोपाइँ महोत्सवमा अन्य थुप्रै स्कुलका विद्यार्थी अवलोकनका लागि गएका थिए । तर, कालिका माविका करिब २ सय विद्यार्थीले भने खेतमै पसेर हिलो खेले, धान रोपे । शिक्षिका गंगाका अनुसार कक्षा ४ र ५ का विद्यार्थीलाई महोत्सवमा सहभागी गराइएको थियो ।

पछिल्लो समयसहरी क्षेत्रमा बसोबास गर्ने बालबालिका धान रोपाइँ र खेतीपातीबारे बेखबर हुँदै गएकाले उनीहरुलाई प्रत्यक्ष प्रयोगात्मक अवलोकनका लागि ल्याइएको शिक्षिका गंगा रिमालले बताइन् ।

‘अहिले बजारमा बस्ने धेरै बालबालिकाले असारमा केकस्ता साधन प्रयोग गरेर धान रोपिन्छ । बीऊ कसरी उत्पादन हुन्छ, कसरी लगाइन्छ भन्ने थाहै पाउँदैनन्,’ गंगाले भनिन्, ‘आली भनेको के हो ? गह्रा भनेको के हो ? कस्तो ठाउँमा धान रोपाइँ हुन्छ ? हलो कस्तो हुन्छ ? यस्ता लोकल विषय थाहा दिन पनि विद्यार्थीलाई यहाँ ल्याएका हौं ।’

स्थानीय एवं परम्परागत कृषि प्रणाली र त्यसको महत्वबारे जानकारी गराउन बालबालिकालाई प्रत्यक्ष अवलोकनले सहज बनउने गंगाले बताइन् । ‘यो भनेको हाम्रो पढाइभन्दा अलग कुरा होइन । तर, उनीहरुलाई यसरी जोड्न चुकिरहेका छौं । यस्तो अवसर खेर नजाओस् भनेर झरीमा रुझाएरै विद्यार्थी ल्याएका हौं’, उनले भनिन् ।

पोखरा पर्यटन परिषद्ले ‘पोखरा सबैका लागि’ मूल नाराका साथ २०६१ सालदेखि निरन्तर रोपाइँ महोत्सव गर्दै आएको छ । सोही क्रममा परिषद्ले यसवर्ष पोखरा–२५ हेम्जालाई महोत्सवस्थल चुनेको हो ।

स्थानीय तुलसी पाण्डे, अग्निधर पौडेल, डिल्लीराम नेपाली, कृष्णबहादुर कुँवर, मैना केसी र प्रकाश पौडेलको करिब १० रोपनी खेतमा महोत्सव सञ्चालन गरिएको परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए । आयोजकले महोत्सवमा स्वदेशी तथा विदेशी गरेर करिब १० हजार पाहुना पुगेको अनुमान गरेको छ ।

पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरामा पर्यटनपछि कृषिमै निर्भर रहेकाले महानगरले कृषि क्षेत्र प्रवद्र्धनलाई प्राथमिकतामा राखेको बताइन् ।

महोत्सवकै अवसरमा उनले पोखरा महानगरले तोकेको कृषिजन्य उत्पादनको न्यूनतम समर्थन मूल्यसमेत सार्वजनिक गरेकी छन् । जसमा पोखरेली धान जेठो बुढोदेखि च्याउसम्मका विभिन्न २३ थरि कृषिजन्य उत्पादन समावेश छ ।

हेर्नुस् तस्वीरहरु : 

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?