+
+

शेखर पक्षले भेला बोलाउँदै, देउवामाथि दबाव बढाउने रणनीति

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १९:१२

१५ असार, काठमाडौं । नेपाली कांग्रेसको नेता डा. शेखर कोइराला पक्षले सभापति शेरबहादुर देउवाको कार्यशैलीमा आपत्ति जनाउँदै दबाव बढाउने रणनीति लिएको छ ।

कोइराला पक्षले सभापतिले पार्टीको विधान अनुसार काम नगरेको मुद्धालाई प्राथमिकता साथ उठाउने तयारी गरेको छ । भ्रातृ संस्थाको नेतृत्व चयन, विभाग गठन, नीति महाधिवेशन लगायतका विषयमा सभापति देउवाले विधान कार्यान्वयन नगरेको भन्दै कोइराला पक्षले मुद्दा बनाउन लागेको हो ।

‘सभापतिले नेविसंघ र तरुण दलको नेतृत्व एकलौटी तरिकाले चयन गर्नुभयो’ कोइराला निकट एक केन्द्रीय सदस्यले भने, ‘पार्टीभित्र परामर्श गरेर मात्रै चयन गर्ने केन्द्रीय समितिको निर्णयलाई लागु गर्नुभएन । भ्रातृ संस्थालाई पूर्णता दिन पनि कुनै छलफल गर्नुभएको छैन ।’

केन्द्रीय समितिको बैठक बोलाउन समेत कोइराला पक्षले दबाव दिने भएको छ । विधान अनुसार दुई महिनाभित्र केन्द्रीय समितिको बैठक बस्नुपर्छ । तर चैतदेखि केन्द्रीय समितिको बैठक बस्न सकेको छैन ।

केन्द्रीय समितिको बैठक बस्नुअघि आफ्नो पक्षको रणनीति तय गर्न कोइरालाले आफू पक्षीय नेताहरुको भेला गर्न लागेका हुन् । कोइरालाले आफू पक्षीयको भेला छिट्टै बोलाउने ती नेताले जानकारी दिए । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा समेत गरिने उनले बताए ।

सभापति देउवाले नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्व चयनमा एकलौटी निर्णय भएको निष्कर्ष निकालेको कोइराला पक्ष किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष मनोनितपछि थप चिढिएको छ ।

‘दुईटा भ्रातृ संस्थाको नेतृत्व चयन एकलौटी गर्नुभएको थियो । एकतर्फी निर्णय गरेपछि शेखर दाइले आपत्ति जनाउनुभएको थियो । सभापतिले उहाँलाई बोलाएर सल्लाहमा निर्णय गर्छु भन्नुभएको थियो’ कोइराला निकट नेताले भने, ‘किसान संघ र जनजाति संघको अध्यक्ष चयन गर्दा कुनै सल्लाह भएन ।’

नेविसंघमा दुजाङ शेर्पा, तरुण दलमा विद्धान गुरुङ, किसान संघमा गणेश तिमिल्सिना र आदिवासी जनजाति संघमा ओमबहादुर थापालाई सभापतिले मनोनित गरेका छन् । असार १० मा किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष देउवाले मनोनित गरेका छन् । भ्रातृ संस्थाको नेतृत्वमा चयन भएका नेताहरु सभापति देउवा पक्षकै हुन् ।

समयमा महाधिवेशन गर्न नसकी भंग गरिएका १० भ्रातृ संस्थामध्ये ६ वटाले मूल नेतृत्व समेत पाएका छैनन् । नेविसंघ, तरुण दल, प्रजातन्त्र सेनानी संघ, किसान संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपांग संघ, तामाङ संघ, ठाकुर समाज, महिला संघ र भूतपूर्व सैनिक संघलाई केन्द्रीय समितिहरु फागुन ३ मा भंग गरेको थियो ।

यी सबै भ्रातृ संस्थाले नियमित समयमा महाधिवेशन गर्न सकेका छैनन् । साथै दलित संघले समेत महाधिवेशन गर्न सकेको छैन । दलित संघले मिति तोकेर पनि महाधिवेशन गर्न सकेको छैन ।

उक्त भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गरिएको छैन । भंग गरिएका भ्रातृ संस्थालाई पार्टीभित्र छलफल गरी गत फागुन मसान्तभित्रै गठन गर्ने अधिकार देउवालाई दिइएको थियो ।

१४ औं महाधिवेशन सकिएको छ महिना पुगेको छ । विधान अनुसार ६ महिना भित्र विभाग गठन गर्नुपर्ने थियो । तर, विधानले व्यवस्था गरेका २८ विभाग अहिलेसम्म गठन हुन सकेको छैन ।

विधानसंगत सभापतिले विभाग गठन गर्ने कार्यलाई अघि नबढाएको विषयमा समेत आफूहरुको भेलामा छलफल हुने ती नेताले बताए । महाधिवेशन सकिएको ६ महिनापछि नीति महाधिवेशन गर्ने भनिए पनि त्यसका लागि प्रक्रिया सुरु भएको छैन ।

नीति महाधिवेशनको मिति छिट्टै तोक्नका लागि आफ्नो पक्षले आवाज उठाउने कोइराला पक्षका नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?