
८ असोज, काठमाडौं । सामान्यतया: कुनै पनि पार्टीभित्र दुई जना नेताको नाममा संयुक्त गुट बन्दैनन् । तर कांग्रेसमा गगन–शेखर नाम गरेको साझा गुट बनाउने कोसिस भएथ्यो, जसले लामो समय कामै गरेन ।
कांग्रेसमा सभापति शेरबहादुर देउवालाई पछिल्लो महाधिवेशनमा चुनौती दिन चार वर्षअघि मिलेका महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले उक्त गुट एकट्ठा राख्न त सकेनन् नै, उनीहरूबीच तीन महिनायता आपसी सम्पर्क समेत थिएन ।
जेठयताको संवादशून्यता तोड्दै थापा र कोइराला बुधबार महाराजगञ्जको एक घरमा कुरा गर्न तयार भए । यो संयोग भने २३ भदौको जेनजी आन्दोलनले जुराएको हो, जसले दिलाएको विद्रोह र विध्वंशको निशानामा कांग्रेसका यी दुई नेतासमेत पर्न पुगे । थापाको राजधानीस्थित घर जलाइयो, कोइरालाको विराटनगरस्थित पुस्तैनी कोइराला निवास ।
जलेको घरको आगो निभिनसक्दै पार्टीमा सुधार र परिवर्तनको एजेन्डा अघि सारेका थापाले पार्टीपंक्तिमा विशेष महाधिवेशन लगायत व्यापक बहस थाले पनि कोइरालासँग छुट्टै बस्न भने पाएका थिएनन् । महाराजगन्जमा डेढ घण्टाजति चलेको छलफलमा थापाले यिनै कुराहरू राखेर कोइरालालाई आश्वस्त पार्ने कोसिस गरे ।
‘जेनजी आन्दोलनले धेरै कुरा फरक पारिसक्यो दाइ, अब कसको पछाडि को छ, को छैन भन्ने खालका संख्या र कुरामा समय खर्च नगरौं,’ थापाले कोइरालासँग गरेको आग्रह सुनेका एक नेताले ब्रिफिङ गरे, ‘अब हाम्रा निजी इच्छा गौण भइसके ।’
थापाले कांग्रेसको नेतृत्व परिवर्तन आफू, देउवा, कोइराला वा अर्का महामन्त्री शर्माको मात्रै विषय नभएको भन्दै बदलिएको परिवेशमा कसरी अघि बढ्ने भन्ने बृहत् रणनीति बनाउन जुट्नुपर्ने आग्रह गरे ।
नेता कोइरालाले आफू पार्टीमा परिवर्तन र पुनर्गठन हुनुपर्छ भन्ने पक्षमै रहेको भन्दै प्रक्रियामा ध्यान पुर्याउनुपर्ने मत राखे । उनले पार्टीको शीर्ष नेतृत्वको विश्वास लिएरै अघि बढ्नु उचित हुने भन्दै अब पार्टीमा परिवर्तन नरोकिने स्पष्ट गरे ।
‘मुल मुद्दाहरूमा हामी मिलेकै छौं, एकदम वारपार गर्नुपर्ने केही छैन,’ कोइरालाको भनाइ उद्धृत गर्दै कांग्रेसका एक नेताले भने, ‘पार्टी दुर्घटनासम्म नपुगोस्, हामीले मिलेर बचाउँ । तर कसरी अघि बढ्दा सबैको सम्मान हुन्छ भन्नेमा तपार्इंको सोचाई पनि राख्नुहोस् ।’
सभापति देउवाको नेतृत्वमा अघि बढ्दा सांगठानिक कामहरू व्यवस्थित गर्न नसकिएको, राष्ट्रिय राजनीतिमा देखा परेको असन्तोष समाधान गर्न चुकेको, तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई चाहिनेभन्दा बढ्ता विश्वास र साथ दिएको कारण पार्टीले क्षति भोगेको बारे दुई नेताबीच विश्लेषण भएको थियो ।
अब कांग्रेसलाई पुनर्ताजगी गर्दा नयाँ पुस्ताको पार्टी बनाउन कसरी लाग्ने भन्ने मोडालिटीबारे पनि दुई नेताबीच कुरा भएको बुझिएको छ ।
‘यथास्थितिमा रोकिन सकिन्न, अघि नै बढ्ने हो भन्नेमा समझदारी नै छ उहाँहरूको,’ ती नेताले भने, ‘तर कसरी अगाडि जाने भन्नेमा उहाँहरूबीच मिलिसकेको छैन । तर फेरि बसेर छलफल गर्नुपर्छ भन्नेमा दुवै नेता स्पष्ट हुनुहुन्छ ।’
दुई नेताबीच पहिलेभन्दा परस्पर भरोसा भने जागृत भएको देखिएको ती नेताले भने ।
महामन्त्री थापाले अर्का महामन्त्री शर्मासँग मिलेर कांग्रेसमा पुस्तान्तरण र रुपान्तरणको अपिल गरिरहेका छन् । उनले विशेष महाधिवेशन बोलाउन हस्ताक्षर संकलन अभियानको अगुवाइ समेत गरेका छन् ।
थापाले राष्ट्रिय संकटलाई अवसरमा बदल्नका लागि अघि सारेका प्रस्तावहरूबारे यति बेला पार्टीभित्र कोणप्रतिकोणबाट छलफल चलिरहेको छ ।
संस्थापन पक्षका कतिपयले भने देउवालाई प्रतिकुल समयमा प्रश्न उठाएको भन्दै थापासहित अरु नेताको आलोचना समेत गरिरहेका छन् । यद्यपि फागुनमा चुनाव मिति तोकिएको अवस्थामा कांग्रेसले ढिलाईइनगरी अघि बढ्नुपर्ने दबाब समेत पार्टीभित्र बनेको छ ।
‘दसैंतिहार र छठ भन्दै भुलेर बस्यौं भने हामीले थाहै नपाई चुनाव आइसक्छ,’ कांग्रेस नेताहरूले भने, ‘रुपान्तरणका लागि अहिले दबाब नदिए कहिले गर्ने त ? त्यसैले नेताहरूबीच आपसी छलफल सुरु भएको हो ।’
आफ्नै दलसमेत सम्मिलित केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नेगरी भएको आन्दोलनबारे पटकपटक थापाले भिडियो सन्देशमार्फत् आफ्ना कुरा राखिरहेका छन् । उनले युवाहरूसँग माफी नै मागेर अब नयाँ नेतृत्व र भावना समेट्नेगरी अघि बढ्ने पनि बताइरहेका छन् ।
शेखर-गगन यसअघिको महाधिवेशनमा एउटै प्यानलबाट सभापति र महामन्त्रीका उम्मेद्वार समेत थिए । शेखरले शेरबहादुर देउवासँग चुनाव हार्दा गगन भने महामन्त्रीमा विजयी भएका थिए ।
यस्तो पृष्ठभूमीमा जेनजी प्रदर्शनपछि गगनले उठाएको पार्टी पुनर्गठनको विषय र शेखरसँग चिसिँदै गएको सम्बन्ध समेत नवीकरण गर्नेगरी भएको भेटलाई अर्थपूर्ण रुपमा कांग्रेसका नेताहरूले हेरेका छन् ।
राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन गरेर चुनाव घोषणा भएको विषयलाई पार्टीले विरोध गरेपनि कोइराला र थापाले भने स्वागत गर्दै पार्टी पुनर्गठन हुनुपर्ने बताएका छन् ।
उनले यसअघि बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समेत यो विषय प्रवेश गराएका थिए । तर, संस्थापन पक्षबाट संकटको घडीमा पार्टीविरुद्ध नै लागेको आरोप समेत महामन्त्री थापासहित अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई लागेको छ ।
तर, उनीहरू भने भावनाले मात्रै नहुने भन्दै विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानको आह्वान समेत गरिसकेका छन् ।
प्रतिक्रिया 4