+
+

चर्चामा सीमित छन् सम्पदा मार्ग

अमृत चिमरिया अमृत चिमरिया
२०७९ असार १६ गते ९:११

१५ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले आइतबार पदबहाली गर्ने बित्तिकै पहिलो निर्णय गरे, ‘हनुमानढोका-स्वयम्भू सम्पदामार्गको निर्माण अघि बढाउने ।’ यो सम्पदामार्ग बनाएर स्थानीय क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने योजना नयाँ होइन ।

सम्पदा अभियन्ताहरुले वर्षौंदेखि सरकारलाई काठमाडौंका विभिन्न भित्री शहर र पर्यटकीय गन्तव्यलाई जोड्ने र स्थानीय क्षेत्रमा पर्यटकीय गतिविधि बढाउने गरी सम्पदा मार्ग बनाउन माग गर्दै आएका छन् । तर, काठमाडौं महागरपालिका, प्रदेश सरकार र संघीय सरकारका विभिन्न कार्यक्रम, नीति तथा योजनामा यस्ता विषय समेटिए पनि एकीकृत खालको गुरुयोजना अनुसार काम सुरु भएको छैन ।

काठमाडौं महानगरले दुई वर्षअघि बनाएको गुरुयोजनाअनुसार हनुमानढोका-स्वयम्भू सम्पदामार्ग पदमार्ग २.२ किलोमिटरको लामो हुने छ । यो रुटमा करिब २ दर्जन महत्वपूर्ण सम्पदा स्थलहरु अवलोकन गर्न सकिने छ ।

काष्ठमण्डप, मरु गणेश, मरु हिटी, सन्तानेश्वर महादेव, मरुवही, मिच्याः गल्ली, बन्जाः हिटी, साः (तेल मिल), चस्वांद्वँ, दमाइ टोल, सुन्ता गल्ली, पाछै गल्ली, नरदेवी द्यःछेँ हुँदै नरदेवी आयुर्वेदिक अस्पताल र सामुदायिक (लोकेश्वर) गल्ली हुँदै अघि बढ्ने गरी सम्पदामार्ग प्रस्ताव गरिएको थियो । बुरांखेल, म्येछ्यों हिटी, तप्यँताँ, रञ्जित मल्ल सतः घाट, भेलु महादेव, डल्लु चौतारा, निपु हिटी (भीमसेन मन्दिर), धिमे ल्वहं, चारा हिटी, भुइँखेल हुँदै स्वयम्भूसम्म पुग्ने भनिएको थियो ।

सम्पदाहरू चिन्न सकिने गरी परिचयात्मक बोर्डहरु राख्ने, नयाँ शैलीमा बनेका स्थानीय भवनलाई परम्परागत स्वरुपमा ढाल्नेे, स्थानीय जीवनकला झल्किने किसिमबाट प्रदर्शनी स्थलहरु बनाउने र पदमार्गमा पर्ने पाटी, पौवा तथा सत्तलको संरक्षण गरेर मौलिक स्वरुपमा पुनर्निर्माण गर्ने योजना पनि थियो । गुरुयोजनाअनुासर काम गर्न कोही पनि अग्रसर भएनन् । विभिन्न निकायले आफूखसी टुक्रा-टाक्री योजनाहरु चलाउँदा योजना झन् प्रभावित भयो ।

हनुमानढोका र स्वयम्भूलाई मात्रै होइन, पर्यटकीय क्षेत्र ठमेललाई हाँडीगाउँ, पशुपतिलगायतका सम्पदा क्षेत्रसँग जोड्ने पदमार्गका योजनाहरु पनि अहिलेसम्म अघि बढेका छैनन् । अघि बढिसकेका योजनाहरु पनि उचित ढंगले कार्यान्वयन नगरिँदा निष्प्रभावी भएका छन् ।

वाग्मती किनारका सम्पदाहरुलाई पदमार्गबाट जोड्ने योजना अनुरुप निर्माणको चरणमै गइसकेको परियोजना अलपत्र छ । यो क्षेत्रमा बनेको सम्पदा पदमार्ग समेत प्रयोग गराउने गरी प्रवर्द्धन भएको छैन भने तीनको व्यवस्थापनमा पनि सरकार उदाशीन छ ।

यसले काठमाडौंका सम्पदाहरुलाई पदमार्ग र साइकल लेनमार्फत जोडेर पर्यटकलाई जीवन्त काठमाडौं अनुभव गराउने योजना चर्चाभन्दा माथि उठेको छैन ।

नयाँ पर्यटनमन्त्री श्रेष्ठले आफ्नो पहिलो निर्णय नै ‘सम्पदा मार्ग’बारे गरेपछि सम्पदाप्रेमीहरु खुशी त भएका छन्, तर सरकारको हालसम्मको प्रवृत्तिबाट काम हुनेमा विश्वस्त छैनन् । ‘सम्पदा पदमार्ग बनाउने भन्ने खुशीको कुरा हो, तर यो मार्ग बन्छ की बन्दैन भन्नेमा शंका मेटिएको छैन,’ सम्पदाप्रेमी गणपतिलाल श्रेष्ठ भन्छन्, ‘बनाउँदा पनि स्थानीय क्षेत्रको ऐतिहासिक र सांस्कृतिक पक्षलाई ध्यान दिइन्छ कि दिइँदैन भन्नेमा आशंका छ ।’

करोडौंको योजना अझै सकिएन

सम्पदा संरक्षणका अभियन्तालाई सचेत र सशंकित गराएको वाग्मती किनारमा बनिरहेको सम्पदा मार्गको कार्यशैलीले हो । एसियाली विकास बैंकको सहयोगमा २०७२ सालदेखि निर्माण सुरु भएको सम्पदा मार्ग अहिले पनि निर्माणाधीन छ । तर, ठाउँ-ठाउँमा बनिसकेको सम्पर्दा मार्ग जीर्ण र अव्यवस्थित बनिसकेका छन् ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अनुसार बागमती सम्पदा पदमार्गको काम ७० प्रतिशत सकिएको छ । ललितपुर र काठमाडौं महानगरमा रहेको बागमती नदी दुई किनारमा एसियाली विकास बैंकको सहयोगमा बागमती सभ्यता विकास समितिमार्फत पदमार्ग र सत्तल निर्माणको काम भइरहेको छ ।

दुई धार गरी १४ दशमलव २ किलोमिटरको पदमार्गमा २८ वटा ऐतिहासिक मन्दिरहरु पनि पुनर्निर्माण हुनेछन् । ३ वटा प्याकेजमा निर्माण भइरहेका मन्दिरहरुमध्ये अहिलेसम्म ११ वटा मात्रै बनेको अधिकार सम्पन्न बागमती सभ्यता विकास समितिका सूचना अधिकारी इन्जिनियर कमल अर्यालले जानकारी दिए । २८ सत्तलको लागि ३ प्याकेजमा प्रतिप्याकेज ३५ करोडको दरले बजेट खर्च भइरहेको छ ।

अर्यालकाअनुसार काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकामा पर्ने वाग्मती करिडोरमा पदमार्गको लागि १ अर्ब ५० करोड रुपैयाँ खर्च गरिंदैछ ।

पदमार्गमा सातवटा अपाङ्गमैत्री शौचालय, दुई मिटरको फुटपाथ, दुई मिटर फराकिलो साइकल लेन बनाउने योजना अनुरुप काम भइरहेको छ । ढुंगा छाप्ने, बगैंचा बनाउने, बत्ती राख्ने लगायतका योजना पनि रहेको अर्यालले बताए । नदी करिडोरमा बनिरहेका सत्तल/मन्दिरहरु साउन महिनाभित्र महानगरपालिकालाई हस्तान्तरण गर्ने उनले सुनाए । तर काठमाडौंतर्फ थापाथली पुलदेखि माथि बस्ती, करिडोरमा रहेको वृहस्पती बाबाको मन्दिर नहट्दा काम सुरु नै हुन सकेको छैन ।

पुरातत्व विभागले प्राविधिक सहयोग गरेको परियोजनामा काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले समन्वयमा सघाएका छन् । तर, चर्चामा आएको यो मार्ग अझै सम्पन्न नहुँदा प्रयोगयोग्य बनेको छैन ।

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम अहिलेको काममा विभागको भूमिका नरहेको बताउँछन् । ‘यो पदमार्गमा थुप्र्रै पुरातात्विक महत्वका थुप्रै सम्पदा रहेका छन्, जुन हाम्रो संरक्षणमा रहन्छ,’ उनले भने, ‘बागमती नदी किनारमा बनिरहेका पूर्वाधारहरुको डिजाइनको काम हामीले गरेका हौं, अन्य काम हामीले हेरेका छैनौं ।’

वाग्मती सम्पदा मार्गको काम छिटो सकाउनुपर्ने भन्दै उनले भित्री सहरका सम्पदाहरुलाई पनि पदमार्गमार्फत जोड्ने महत्वपूर्ण योजना पनि अघि बढाउन सके भविष्यमा थुप्रै लाभहरु हुने बताए । ‘स्वयम्भू-हनुमानढोका पदमार्ग बनाउने निर्णय सांस्कृतिक पर्यटनको हिसाबले महत्वपूर्ण हो, कार्यान्वयन गर्ने एक एकाइको रुपमा हामी स्वागत गर्छौं,’ उनले भने, ‘यसलाई पूरा गर्न राज्यका अरु निकायहरुले पनि भूमिका खेल्नुपर्छ ।’ विशेषगरी स्थानीय सरकारले पनि अपनत्व लिएर काम गर्नुपर्ने उनले बताए ।
उनका अनुसार अब अध्ययन गरेर मुख्य मार्गहरु, सहायक मार्गहरु खोजिने छ । काष्ठमण्डपदेखि स्वम्यम्भूसम्मको बीचमा पर्ने सम्पदाहरुको संरक्षण गर्दै देवल, हिटी, चोक, पेटीहरु पत्ता लगाएर काम सुरु हुने महानिर्देशक गौतमको भनाइ छ । ‘यो रुटका प्राचीन कुराहरुमा हाम्रो विभागको विशेष ध्यान हुनेछ, बाँकी शौचालय, साइकल लेन लगायतका पूर्वाधारहरु राज्यका अन्य निकायले हेर्नुपर्छ,’ उनले भने ।

आशावादी, तर आशंका

सम्पदा संरक्षणका अभियन्ताहरु दुई विश्वसम्पदा सूचीका सम्पदाहरु ‘नो भेहिकल जोन’ मार्फत जोडेर पर्यटकहरुले ओहोर-दोहोर गर्नसक्ने गरी बन्नुपर्ने बताउँछन् । सम्पदा संरक्षणका अभियन्ता श्रेष्ठका अनुसार हनुमान ढोकाबाट मरुँ-ढोकाटोल-नरदेवीको गल्ली हुँदै भुरुङखेलबाट स्वयम्भू पुग्ने मार्ग बनाउनुपर्ने माग गरिएको छ । ‘यो रुटमा भित्री गल्लीहरुलाई पनि जोड्न सकिन्छ । यहाँका गल्लीहरु, चोकहरु प्राचीन छन् । पर्यटकहरुले यसलाई महसुस गरेर हिँड्न पाउनुपर्छ,’ उनी थप्छन्, ‘अहिले हनुमानढोका, बसन्तपुर आएका पर्यटकहरु गाडी चढेर स्वयम्भू जानुपर्छ, उनीहरुलाई हाम्रो भित्री शहर देखाउँदै स्वयम्भू लैजान र त्यहाँबाट ल्याउन सक्नुपर्छ ।’

यो पदमार्गको निर्माणपछि मात्रै पर्यटकहरु लामो समय अडिने उनी बताउँछन् । भित्री सम्पदाहरुको प्रचार र त्यहाँको व्यापार बढाउन पनि सघाउने उनको तर्क छ । ‘काठमाडौंका भित्री बस्तीहरुमा अझै अध्ययन गरेर अन्य पदमार्गहरुलाई रचनात्मक बनाउन सकिन्छ । सम्पदा प्रहरी राखेर भित्री सहरभित्र पर्यटकहरुलाई गाइड गरेर घुमाउन सकिने सम्भावना धेरै छ,’ श्रेष्ठले थपे ।
मन्त्री श्रेष्ठको संलग्नतामा विगतमा स्वयम्भूमा सम्पदा संरक्षणको मर्म विपरीत काम भएको भन्दै उनले भने, ‘चर्चाको लागि नभएर काम गर्नकै लागि मन्त्रीज्यूले सम्पदा मार्गबारे निर्णय गर्नु भएको होला, कसरी काम हुन्छ हेरौं न ।’

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?