+
+

कटारी तिल्केवासीको त्रास : जतिखेर पनि पहिरोले गाउँ बगाउन सक्छ

उदयपुर जिल्लाको कटारी नगरपालिका– १० को तिल्केको पहाडी क्षेत्रमा बसोबास गर्ने १७ घर स्थानीयवासी अहिले पहिराको उच्च जोखिममा परेका छन् ।

रासस रासस
२०७९ असार १७ गते १४:५२
फाइल तस्वीर

१७ असार, उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिका– १० को तिल्केको पहाडी क्षेत्रमा बसोबास गर्ने १७ घर स्थानीयवासी अहिले पहिराको उच्च जोखिममा परेका छन् ।

तिल्केका मनकुमारी कार्की, लिबहादुर थापासहितका स्थानीयवासी भन्छन्, ‘गाउँभन्दा माथिबाट तलसम्म २०० मिटर जमिन फाटेर भासिँदै चिरा परिसक्यो, जतिखेर पनि आफूहरूको गाउँलाई पहिराले बगाउन सक्छ, आफूहरू उच्च जोखिममा छौँ ।’

निरन्तर वर्षाका कारण तिल्केगाउँको माथिल्लो डाँडा क्षेत्रबाट तल गाउँसम्म २०० मिटरभन्दा बढी जमिन भासिँदै गइरहेको र जमिन चिरासमेत पर्न थालेका कारण जतिखेर जुनसुकै बेला पनि पहिराले गाउँ लान सक्ने अवस्था आएको अर्का स्थानीय दुर्गाबहादुर थापाले बताए ।

कटारी नपा–१० का वडाध्यक्ष क्षेत्रहादुर खड्काका अनुसार तिल्के गाउँ पहिराको उच्च जोखिममा परिसकेका कारण अहिले यसको समाधानमा सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।

अहिले गाउँलेहरू दिनमा गाउँघरमा रहे पनि रातिको समयमा पहिराले गाउँ जतिखेर पनि बगाउन सक्ने भन्दै रातभरि ननिदाइ रात काट्न बाध्य हुनुपरेको स्थानीय मनकुमारी कार्की बताए ।

गाउँ नै पहिराको उच्च जोखिममा परेपछि समयमै आफूहरूको उद्धार नभए जतिखेर पनि ज्यान र धनमाल खतरामा रहेको तिल्केवासी बताउँछन् ।

यस विषयमा कटारी नपाका प्रमुख राजेशचन्द्र श्रेष्ठ भन्छन्, ‘तीन–चार वर्षदेखि तिल्के पहिराको जोखिममा पर्दै आएको हो, यसपटकको वर्षाले २०० मिटर क्षेत्र जमिन भासिएर चिरा परेपछि जतिखेर पनि गाउँ पहिराले लाने खतरा बढेको छ, यसका लागि के गर्न सकिन्छ भन्नेबारेमा जिल्ला प्रशासन, प्रदेश सरकारसहित सङ्घीय सरकार गृह मन्त्रालयसहित सम्बन्धित मन्त्रालयहरूको समेत ध्यानाकर्षण गराइकेका छौँ।’

अब तिल्केवासीलाई तत्काल अन्यत्र स्थापना गर्नका लागि सुरक्षित स्थानतिर सार्नुको विकल्प नभएको र यदि समयमा यसो गर्न नसकिए सिङ्गो गाउँ नै पहिराको चपेटामा पर्ने अवस्था रहेको जनप्रतिनिधिसमेत बताउन थालेका छन् । झनै दिनानुदिन वर्षा बढ्दै जान थालेका कारण छिटोभन्दा छिटो आफूहरूको समयमै उद्धार हुनुपर्नेसमेत तिल्केवासीले माग गरेका छन् ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?