+
+
प्रदेश १ :

मुख्यमन्त्री राईको प्रस्ताव : बजेट सर्वसम्मतिले पास गरौं, नामकरणको वातावरण बन्छ

हरि अधिकारी हरि अधिकारी
२०७९ असार १८ गते १८:३६

१८ असार, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणको वातावरण बनाउन बजेट सर्वसम्मतिले पास गर्न आग्रह गरेका छन् ।

शनिबारको प्रदेशसभा बैठकमा उनले सर्वसम्मतिले प्रदेशको नाम टुङ्गो लगाउने वातावरण बनाउनका लागि पहिला बजेट सर्वसम्मतिले पास गर्न आग्रह गरेका हुन् ।

चालु अधिवेशनबाट प्रदेशको नाम टुङ्गो लगाउन सबै दल सहमत छन् । बजेट पास गरेपछि नामको विषयमा छलफल गर्ने विषयमा दलहरु सहमत भए पनि पहिचान कि भूगोलका आधारमा नाम राख्ने भन्ने विषयमा विवाद छ ।

‘अब बजेट पास गरौं, विनियोजन विधेयक पास गरौं, नामको वातावरण बनाउनका लागि सर्वसम्मति रुपमा हाँसीहाँसी बजेट पास गरौं’, उनले भने, ‘पक्ष प्रतिपक्ष भन्दा पनि सबैले हाँसीहाँसी पास गरे त्यो कामको (नामकरण) वातावरण सहज बन्छ ।’

प्रदेश १ को आर्थिक वर्ष २०७९–८० का लागि विनियोजन गरेको बजेटमाथिको छलफल सकिएको छ । मन्त्रालयगत छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको शनिबार सम्बन्धित मन्त्रीहरुले जवाफ दिएपछि बजेटमाथिको छलफल सकिएको हो । प्रदेशसभाको आइतबार बस्ने बैठकबाट बजेट पास गर्ने सरकारको तयारी छ ।

शेरधन महाराजबाट सिक्यौं !

मुख्यमन्त्री राईले जनतासँग मुख्यमन्त्री टेलिभिजन कार्यक्रम आवश्यक रहेको बताए । उनले सरकारी टेलिभिजनको संरक्षणका लागि पनि सो कार्यक्रम आवश्यक रहेको बताए । सो कार्यक्रमका लागि सरकारले एक करोड रुपैयाँ रकम विनियोजन गरेको छ । प्रदेशसभामा बोल्ने क्रममा सांसदहरुले जनतासँग मुख्यमन्त्री कार्यक्रमका बारेमा प्रश्न उठाएका थिए ।

‘पहिला पनि राजा महाराजहरुले, तानाशाहहरुले यसै गर्थे, आफ्ना भजन मण्डली तयार गर्थे, यसरी सत्ताको आयु लम्ब्याउन सकिदैन, आयु लम्ब्याउन काम गर्नुपर्छ, जनता सुखी पार्नुपर्छ भनेर यहाँ भनिएको छ,’ जवाफ दिने क्रममा मुख्यमन्त्री राईले भने, ‘यो राजा महाराजाहरुले नै गर्नेजस्तो कार्यक्रम हो भने हामीले शेरधन महाराजज्यू (पूर्व मुख्यमन्त्री शेरधन राई)ले सुरु गरेको कार्यक्रम अहिलेसम्म गर्दैछौं र अर्काे वर्षलाई पनि त्यही कुरा सिक्यौं ।’

सरकारले आफ्ना कामका बारेमा जनतालाई सूचित गर्नका लागि जनतासँग मुख्यमन्त्री कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ ।

‘सरकारले आफ्ना काम बारेमा जनतालाई सूचित गर्नुपर्छ, उनले भने, ‘अझ हजुरहरु जस्तो प्रतिपक्षी भएको ठाउँमा त विरोध नै धर्म हो, भ्रम फैलाउनु नै धर्म हो भनेर सधैभरि सदनमा बोलिरहेका बेला हाम्रा कुरा प्रष्ट पार्नका लागि एउटा विश्वासिलो टेलिभिजन कार्यक्रम त गर्नै पर्ने रहेछ, नगरी भएन नि ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?