+
+

पोखराको ल्यान्डफिल साइट : जता गयो, उतै विरोध !

मेयर भन्छन् : वातावरणीय प्रभाव मूल्यांकन भएपछि अन्तै हुन पनि सक्छ

विकास रोकामगर विकास रोकामगर
२०७९ असार १९ गते १९:३५

१९ असार, पोखरा । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन प्रमुख वाधकको रुपमा देखिएका थिए, रिट्ठेडाँडा र ल्यान्डफिल साइट ।

जसमध्ये रिट्ठेडाँडा काट्न बाटो खुलिसकेको छ । तर ल्यान्डफिल साइट स्थानान्तरणको विषयमा भने अझै ठोस प्रगति हुन सकेको छैन । हाल महानगरले पोखरा १४, बच्छीबडूँवामा फोहोर विर्सजन गर्दै आइरहेको छ ।

१५ वर्षका लागि स्थानीयबासिन्दासँग सम्झौता गरेर फोहोर विसर्जन थालिए पनि अहिले १७ वर्ष बितिसकेको छ ।

निर्माणाधीन विमानस्थलदेखि करिब २ किलोमिटरको दूरीमा रहेको उक्त ल्यान्डफिल साइटमा उड्ने विभिन्न चराचुरुंगीका कारण उडान प्रभावितमात्रै नभएर दुर्घटना हुने विमानस्थल आयोजनाले सुरुआतदेखि नै बताउँदै आइरहेको छ ।

विमानस्थल सञ्चालनका विभिन्न अड्चनमध्ये ल्यान्डफिल साइट स्थानान्तरण पोखरा महानगरको कार्य क्षेत्रभित्र पर्छ । यसबारे आयोजनाले पटकपटक पोखरा महानगरका तत्कालीन नेतृत्वलाई पटकपटक जानकारी पनि गराउँदै आइरहेको थियो । तर, महानगरले ल्यान्डफिल साइटको विकल्प खोज्न नसक्दा विषय चुनौती बन्दै गएको छ । महानगरभित्र दैनिक १ सय ८० टन फोहोर उत्पादन हुँदै संकलन हुँदै आएको छ ।

निर्वतमान मेयर मानबहादुर जिसीको कार्यकालको अन्तिम घडीमा आएर ल्यान्डफिल साइट स्थानान्तरण गर्न केही प्रयास भए पनि त्यसले मूर्तरुप दिन सकेको छैन । विभिन्न वडाध्यक्षको संयोजकत्वमा पटकपटक अध्ययन समिति गठन भए पनि ठोस निर्णय दिन नसकेको हो ।

यसअघि पोखरा महानगरले वडा नम्बर १६ र २० को सीमानामा पर्ने पस्मराङमा ल्यान्डफिल सार्ने निर्णय गरेको थियो । पोखरा १६ का वडाध्यक्ष जीवन आचार्यको संयोकत्वमा गठित समितिले बुझाएको प्रतिवेदनका आधारमा पस्मराङ पोखराको नयाँ ल्यान्डफिल साइट तोकियो ।

पस्मराङमा करिब २ सय ५० रोपनी क्षेत्रफललाई ल्यान्डफिल साइटका लागि प्रयोग गर्ने महानगरको निर्णय थियो । तर, पछि स्थानीयबासिन्दाको तीव्र विरोध भएपछि निर्णय कार्यान्वयनमा आउन सकेन । र, नयाँ विकल्प खोज्न थालियो ।

नयाँ विकल्पका रुपमा कार्यपालिकाको ५५ औं कार्यपालिका बैठकले पोखरा वडा नम्बर ३३ मा सार्न अध्ययन गर्ने निर्णय गर्‍यो । पोखरा ३३ लाई ल्यान्डफिल साइट बनाउन त्यसअघि नै पस्मराङको विकल्पमा राखेर प्रतिवेदन तयार पारिएको थियो । निवर्तमान मेयर जिसीले आफ्नो कार्यकालको अन्तिममा आएर ल्यान्डफिल साइट पोखरा वडा नम्बर ३३ मा सार्न अध्ययन गर्ने निर्णयसँगै महानगरबाट बिदा भए ।

नयाँ मेयरका रुपमा आएका धनराज आचार्य नेतृत्वको पहिलो कार्यपालिका बैठकले पोखरा ३३, टिमुरपाटामा नयाँ ल्यान्डफिल साइट बनाउने निर्णय गर्‍यो । टिमुरपाटामा ल्यान्डफिल साइट बनाउनका लागि विस्तृत अध्ययन गर्न, जग्गा प्राप्ति प्रक्रिया पूरा गर्न तथा पूर्वाधार निर्माण गर्न महानगरले १० करोड रुपैयाँ आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको छ ।

स्थानीयको विरोध : हुकुमी पारा चल्दैन, अन्तै विकल्प खोज !

पोखरा महानगरले टिमुरपाटामा नयाँ ल्यान्डफिल साइट बनाउने निर्णय गरेसँगै स्थानीयले विरोध सुरु गरेका छन् । उनीहरुले महानगरले स्थानीय बुद्धिजीवी, राजनीतिक दलसँग परामर्श नै नगरी आफ्नो क्षेत्रमा ल्यान्डफिल साइट बनाउन लागेको आरोप लगाएका छन् ।

शनिबारमात्रै पोखरा ३३ मा सर्वदलीय बैठक बसेर महानगरलाई कार्यपालिका बैठकको निर्णय सच्याउन दबाब दिने निर्णय गरेका थिए ।  स्थानीयवासीको टोलीले आइतबार पोखरा महानगरपालिकाका मेयर आचार्यलाई निर्णय ल्यान्डफिल साइटको अन्य विकल्प खोज्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्रमा पोखरा महानगरका ३३ वटै वडामध्ये अन्य वडामा ल्यान्डफिल साइटको विकल्प खोज्न माग गरिएको छ ।

ज्ञापन पत्र बुझाउँदै स्थानीय बासिन्दा ।

‘अहिले प्रस्ताव गरिएको टिमुरपाटा बस्तीभन्दा नजिक छ । त्यो उब्जनी हुनेमात्रै नभएर पानीको मुहान पनि भएको ठाउँ हो । त्यो आवसीय र पर्यटकीय ठाउँ हो,’ स्थानीय किरण थापाले भने, ‘स्थानीयसँग परामर्श नगरी हुकुमी निर्णय गरियो । यो निर्णय फिर्ता लिन माग गर्छौं ।’

स्थानीयले टिमुरपाटालाई पर्यटकीय ठाउँका रुपमा ब्रान्डिङ गर्नेबारे योजना बनाइरहेका बेला महानगरले फोहोर विसर्जन गर्ने ठाउँ तोकेकोमा आफूहरुको आपत्ती स्थानीयको भनाइ छ । ‘यसले त हाम्रो भौगोलिक ब्रान्डिङलाई नै असर पु¥याएको छ,’ स्थानीयवासीको अगुवाइ गरिरहेका थापाले भने, ‘यसबारे मेयर साब पनि सकारात्मक हुनुहुन्छ ।’

मेयरको स्वीकारोक्ति : ईआईए बिना ठाउँ तोक्यौं, गल्ती गर्‍यौं !

महानगरले नयाँ ल्यान्डफिल साइटका लागि तोकेको क्षेत्र मेयर धनराज आचार्यको पनि गृह क्षेत्र हो । उनले फोहोर विसर्जन गर्न लागिएको ठाउँको वातावरणीय मूल्यांकनबिनै आफूहरुले हतारमा निर्णय गरेको बताएका छन् ।

‘वातावरणीय प्रभाव मूल्यांकन अध्ययन हुन बाँकी नै छ । त्यो डिक्लियर नभएसम्म ठाउँ तोकियो भन्ने कुरा छ । त्यसलाई हामीले ठिकै हो भन्ठानेका छौं,’ मेयर आचार्यले अनलाइनखबरसँग भने, ‘वातावरणीय प्रभाव मूल्यांकन गर्दा अहिले भनिएको (पोखरा ३३, टिमुरपाटा) अनुपयुक्त पनि हुन सक्छ । त्यसमा पनि हामीले विचार गर्नैपर्छ ।’

मेयर आचार्यले नयाँ ल्यान्डफिल साइटमा पहिलेजस्तो सबै प्रकृतिको नभई सुरुमै वर्गीकृत गरेरमात्रै फोहोरमात्रै विर्सजन गरिने भएकाले अन्यथा नलिन आग्रह गरे । ‘अहिले हामीले बनाउने भनेको पहिलेको जस्तो जस्ताको तस्तै फोहोर बटुलेर फाल्न जाने होइन,’ उनले भने, ‘यसलाई सुरुमै सेग्रिगेट, रिसाइकलिङ गरेर निकै कममात्रामा मात्रै फोहोर लैजाने हो ।’

एअरपोर्ट सञ्चालनका लागिमात्रै नभई महानगरलाई व्यवस्थित गर्न पनि ल्यान्डफिल सार्नुपर्ने दबाब महानगरलाई रहेकाले बजेट पारित पछि पहिलो प्राथमिकतामा राखिएको जानकारी दिए । ‘पहिले बजेट सक्छौं । त्यसपछिको काम भनेकै ल्यान्डफिल साइट व्यवस्थापन हो,’ उनले भने ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?