+
+

मायादेवी मन्दिरको दानपेटिका खोलियो, पैसा गनिसक्न ४ दिन लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते २१:०१

१९ असार, बुटवल । लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा राखिएको दानपेटिका तीन महिनापछि आइतबार खोलिएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितिमा दानपेटिका खोलिएको हो ।

दानपेटिकामा संकलित रकमलाई पारदर्शी बनाउन सीसीटीभी क्यामेरा जडान गरी गणना सुरु गरिएको छ । लुम्बिनी भ्रमणमा आएका पर्यटकहरुले गरेको दानलाई लुम्बिनीको विकासमा लगाउने गरी दानपेटिका सबै पक्षको रोहवरमा खोलिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईले बताए ।

उनले आफूले कोषाध्यक्ष पद सम्हालेदेखि दानपेटिकामा संकलित दान पारदर्शी बनाउने र यसको सदुपयोग भएको सन्देश दिन सञ्चारकर्मीलाई समेत बोलाएर गणना थालिएको बताए । उनका अनसार आइतबार एउटा मात्रै दानपेटिका खोलिएको छ । चार वटा दानपेटिका खोलेर संकलित दानको गणना गर्न ४ दिनसम्म लाग्ने कोषाध्यक्ष भट्टराईले बताए ।

विगतमा दानपेटिका चोरी हुने गरेको घटना समेत बाहिरिएको थियो । तर, अहिले लुम्बिनी क्षेत्रको सुरक्षा व्यवस्था समेत चुस्त पारिएकाले चोरी हुने समस्या नरहेको लुम्बिनीका सुरक्षा अधिकृत खगेन्द्र काफ्लेले बताए ।

गणना सुरु भएपछि हरेक दिनको गणना गरिएको दान रकम मुचुल्का उठाएर बैंकमा जम्मा गरिने बताए । राजस्व शाखा, लुम्बिनीका सुरक्षा प्रतिनिधि, नेपाल प्रहरी, दंगा प्रहरी बल, सशस्त्र प्रहरी र लुम्बिनी साँस्कृतिक नगरपालिका प्रतिनिधिहरुको उपस्थितिमा दानपेटिका खोलिएको बताए ।

यसअघि २०७८ चैत १८ गते दानपेटिका खोलिएको थियो । १५/१५ दिनमा दानपेटिका खोल्नुपर्ने भएपनि दानपेटिका भरिएपछि मात्रै खोल्ने गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईले बताए । अघिल्लो पटक दानपेटिकामा ३७ लाख दान संकलन भएको थियो ।

लुम्बिनीमा प्रमुख आम्दानीको स्रोतका रुपमा दानलाई लिने गरिएको छ । आन्तरीक आम्दानीबाटै कर्मचारी र अन्य व्यवस्थापन गर्दै आएको कोषले जनाएको छ । कोभिड–१९ महामारीपछि भने दानपेटिका लामो समयसम्म खाली हुने गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आएपछि भने भारतीय पर्यटकको आवागमन वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?