२० असार, रोल्पा । जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको कार्यकक्ष तेस्रो तलामा छ । सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतको कार्यकक्ष दोस्रो तलामा छ । उनीहरूलाई अपाङ्गता भएका सेवाग्राहीले सजिलै भेट्न सक्दैनन् ।
रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र घर्ती मगर र उपमेयर गीता आचार्य कार्यालय भवनको दोस्रो तलामा बस्छन् । आफ्नै जनप्रतिनिधिको कार्यकक्षसम्म अपाङ्गता भएका सेवाग्राहीलाई पुग्न मुस्किल पर्छ ।
लिवाङमा रहेको बालकल्याण नमुना माध्यामिक विदालयका प्रधानाध्यापक मधुसुधन पोख्रेलको कार्यकक्ष पनि दोस्रो तलामा छ । जसकारण अपाङ्गता भएका विद्यार्थीले समस्या पर्दा उनलाई भेट्न मुस्किल पर्छ ।
यी तीन कार्यालय रोल्पाका सरकारी संरचना नै अपाङ्गतामैत्री छैनन् भन्ने उदाहरण हुन् । अर्थात, सेवा प्रवाह गर्ने कार्यालय प्रमुखका कार्यकक्ष अपाङ्गतामैत्री नहुँदा यस्ता सेवाग्राहीले सास्ती भोग्ने परेको छ ।
जिल्लाका अधिकांश सरकारी, गैरसरकारी तथा निजी संरचनाहरू अपांगमैत्री नभएको अपाङ्गता भएका व्यक्तिहरूले गुनासो छ । भौतिक संरचना निर्माणमा गर्दा सबैलाई सहज हुने गरी गर्नुपर्ने भए पन त्यसो नभएको उनीहरू बताउँछन् ।
पछिल्ला दिनमा वनेका केही संरचनाहरु अपाङ्गतामैत्री बने पनि पूर्ण अपाङ्गतामैत्री छैनन् । संरचना मैत्री भए पनि सेवा प्रवाह अपाङ्गतामैत्री नभएको बताउँछन् नेत्रहीन संघका अध्यक्ष चित्रबहादुर डाँगी । ‘कार्यालय प्रमुखको कार्यकक्ष भूईं तलामा नभई दोस्रो, तेस्रो तलामा हुँदा भर्याङ चढेर जान निकै सास्ती हुन्छ,’ डाँगीले भने ।
सरकारी भवन, विद्यालय, विश्वविद्यालय, अस्पताल, धार्मिकस्थल, कार्यस्थल, सार्वजनिक सडक, सडक पेटी, यात्रु प्रतीक्षालय, पार्किङ्गस्थल, मनोरञ्जनस्थल, खेल मैदान जस्ता सार्वजनिक स्थलहरू अपाङ्गतामैत्री हुनुपर्ने उनीहरूको भनाइ छ ।
सार्वजनिक भौतिक संरचनामा उपयुक्त सुविधा उपयोग गर्न सक्षम बनाई विकास प्रक्रियामा सहभागी हुन पाउने आफूहरूको अधिकार भए पनि अहिले बनेका संरचना अपाङ्गतामैत्री नभएको नेत्रहीन धना घर्तीमगर गुनासो गर्छिन् ।
सार्वजनिक भौतिक संरचनामा उपयुक्त र्याम्प, ढोका, झ्याल, गाइडिङ्ग ब्लक र ब्रेलसमेतको व्यवस्था गरी अपाङ्गता भएका व्यक्तिको सहज आवागमन र उपयोगको लागि पहँुच योग्य बनाउनु पर्ने अध्यक्ष डाँगीको माग छ ।
टेलिभिजन, रेडियो जस्ता सार्वजनिक सञ्चार तथा सूचना सेवामा समेत अपाङ्गता भएका व्यक्तिको पहँुच अभिवृद्धि गर्न, अपाङ्गता भएका व्यक्तिलाई हुने अवरोध हटाई पहुँच वृद्धि गर्नुपर्ने घर्तीमगरको भनाइ छ ।
स्थानीय तहमा अव बन्ने भौतिक संरचनाहरु अपाङ्गतामैत्री बनाइने रोल्पा नगरपालिकाका उपमेयर गीता आचार्यको भनाइ छ । ‘भवन मात्र हैन अन्य सबै संरचना अपाङ्गतामैत्री बनाउन नगरपालिकाले पहल गर्छ’ उपमेयर आचार्यले भनिन्, ‘सरकारी बजेट खर्च गरेर बन्ने संरचनाहरू सबैका साझा भएकाले ती संरचना सबैले सहज उपभोग गर्न पाउनुपर्छ ।’
पुरानाबाहेक नयाँ बनेका अधिकांश सरकारी संरचनाहरू अपाङ्गतामैत्री बनाउने प्रयास भए पनि ती पूर्ण नभएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।
पुराना संरचनालाई पनि मर्मत गरी अपाङ्गतामैत्री बनाउन सकिने उनको भनाइ छ । ‘जिल्लामा अव बन्ने सबै संरचना अपाङ्गतामैत्री बनाउनु पर्छ,’ सापकोटाले भने ।
अपाङ्गता भएका विद्यार्थीले पढ्ने क्याम्पस, विद्यालयहरू अपाङ्गतामैत्री हुनुपर्ने जलजला बहुमुखी क्याम्पसका उपप्रध्यापक कृष्णप्रसाद न्यौपानेले बताए ।
जिल्लामा विशेष कक्षा संचालन भएका केही विद्यालयहरु अपाङ्गतामैत्री बनाउन खोजिए पनि क्याम्पस र अन्य विद्यालय अपाङ्गतामैत्री नभएको उनको भनाइ छ ।
विद्यालय र क्याम्पसमा विभिन्न प्रकारका अपाङ्गता भएका विद्यार्थी पढ्न आउने भएकाले उनीहरूलाई अनुकुल हुने होस्टेल, कक्षा कोठा र खेल मैदानको आवश्यकता भएको न्यौपानेले बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4