+
+

पोखराका निवर्तमान मेयरले जाँदाजाँदै लगाए ६८ रोपनी जग्गा सेटिङमा ठेक्का

मानबहादुर जिसी आफैंले हस्ताक्षर गरेर पोखरा उपत्यका नगर विकास समितिको स्वमित्वमा रहेको गल्फ कोर्स रहेको ४५ रोपनी, पर्यटन बसपार्कको १८ रोपनी र यसअघि यातायात व्यवस्था कार्यालयले सञ्चालन गरेको सवारी ट्रेनिङ सेन्टरको करिब ५ रोपनी गरी जम्मा ६८ रोपनी जग्गा १० वर्षका लागि ठेक्कामा लगाएको पाइएको छ ।

अमृत सुवेदी अमृत सुवेदी
२०७९ असार २० गते १९:४८
ठेक्कामा लगाइएको गल्फकोर्ष ।

२० असार, पोखरा । पोखरा महानगरका निवर्तमान मेयर माबहादुर जिसीले कार्यकाल सकिनु २ दिनअघि ६८ रोपनी सरकारी जग्गा चोरबाट ठेक्का लगाएको पाइएको छ । राष्ट्रबैंक चोकस्थित पोखरा पर्यटन बसपार्क, गल्फ कोर्स र पृथ्वीचोकस्थित यातायात व्यवस्था कार्यालय नजिकै रहेको सवारी ट्रायल सेन्टर रहेको जग्गा मेयर जिसी आफैंले सम्झौता गरेर जेठ ३ गते ठेक्का लगाएका हुन् ।

३० गते स्थानीय तहको चुनाव भएपछि जेठ ५ गते निवर्तमान मेयर जिसीको कार्यकाल सकिँदै थियो । जेठ ११ गतेमात्र पोखरामा धनराज आचार्य निर्वाचित भएका आएका हुन् । तर मतगणना चलिरहेको बेला जिसीले आफैंले हस्ताक्षर गरेर पोखरा उपत्यका नगर विकास समितिको स्वमित्वमा रहेको गल्फ कोर्स रहेको ४५ रोपनी, पर्यटन बसपार्कको १८ रोपनी र यसअघि यातायात व्यवस्था कार्यालयले सञ्चालन गरेको सवारी ट्रेनिङ सेन्टरको करिब ५ रोपनी गरी जम्मा ६८ रोपनी जग्गा १० वर्षका लागि ठेक्कामा लगाएको पाइएको छ ।

पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष पनि मेयर हुने व्यवस्था छ । यो समितिसँग पोखरामा सबैभन्दा बढी सरकारी तथा सार्वजनिक जग्गाको स्वामित्व छ । २०७५ चैतअघिसम्म नगर विकास समितिको अध्यक्ष राजनीतिक नियुक्तीबाट हुने व्यवस्था थियो । नगर विकास ऐन २०४५ संशोधन गर्दै सरकारले समिति गठन व्यवस्था फेर्दै मेयर नै अध्यक्ष हुने व्यवस्था गर्‍यो ।

मेयर अध्यक्ष, जिल्ला समन्वय समितिले तोकेको एक जना, प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको एक जना अधिकृत, मालपोत, नापी कार्यालयका प्रमुख वा निजले तोकेको एकजा अधिकृत र स्थानीय पालिकाको कार्यपालिकाबाट तोकिएका ३ सदस्य, स्थानीय विकासमा महत्वपूर्ण योगदान गर्ने एक महिलासहित २ जना र समितिको सदस्य सचिवको रुपमा सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था ऐनमा छ ।

पोखराका मेयर जिसीले समितिको बैठक नै नगरी गुपचुपमा ठेक्का लगाएको खुलेको छ । प्रमुख जिल्ला अधिकारी, नापी, मालपोत र वन कार्यालयका प्रमुखलाई जानकारी नै नदिई समितिका कर्मचारी र निजी कम्पनीको मिलेमतोमा ठेक्का लगाइएको हो ।

चुनावी सारगर्मीकै बीच पोखराबाट सूचना र विज्ञापन हुँदामात्र प्रकाशित हुने एक पत्रिकामा सूचना आह्वान गरिएको थियो । चैत २६ गते जग्गा भाडामा दिने सम्बन्धी शिलबन्दी बोलपत्र आह्वान भनेर विज्ञापन निकालिएको थियो ।

सूचना प्रकाशित भएको दिन सो पत्रिका ३ प्रतिमात्र प्रकाशित भएको उपत्यका नगर विकास समितिकै एक कर्मचारीले बताए । समितिको बैठक नै नबसी एकल अधिकार प्रयोग गरेर यसअघि पनि पोखरा महानगरका विभिन्न ठेक्कामा संलग्न भएका व्यक्तिहरुलाई १० वर्षसम्म जग्गा जिम्मा लगाइएको पाइएपछि अहिले महानगरभित्र तरंग ल्याएको छ ।

ठेक्का लगाउनुमा समितिका प्रशासकीय अधिकृत अशोक सुनार र मेयरका सचिवालय तथा उनीसँग नजिक रहेका व्यक्तिहरुको हात रहेको समितिकै कर्मचारीको आरोप छ ।

धनराज आचार्य मेयर निर्वाचित भएपछि महानगरले दिएको क्वार्टर छाड्दै जिसी । पक्षघात भएका जिसी हिँडडुल गर्न अरुको सहयोग आवश्यक पर्छ ।

मेयर जिसीले कार्यकालको अन्तिमा समितिका प्रशासकीय अधिकृत सुनारलाई आफ्नै सचिवालयमा सचिव बनाएका थिए । सुनारले ठेक्का लगाइएपछि फाइल गुपचुप पारेको र आफूले हालैमात्र जानकारी पाएको प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालको भनाइ छ ।

अधिकृत सुनारलाई समितिको काम नगर्न मेयर धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत रिज्यालले निर्देशन दिएर महानगरमै सबै फाइल झिकाइएको छ । सुनारलाई पनि महानगरको कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।

हालै निर्माण सम्पन्न भएर महानगरलाई हस्तान्तरणसमेत नभएको पोखरा पर्यटन बसपार्क शिला शालिग्राम निर्माण सेवालाई भाडामा दिइएको छ । शिला शालिग्राम निर्माण सेवा प्रालिका तर्फबाट छबिलाल कुँवर र समितिका तर्फबाट अध्यक्षसमेत रहेका पूर्व मेयर जिसीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

अध्यक्षले यसो गर भन्नुभयो, गर्नैपर्‍यो । म कार्यकारी पदमा भएको व्यक्ति होइन, गलत हो या सही भनेर हेर्ने, अध्ययन, अनुसन्धान गर्ने निकाय छन् । यथार्थ बाहिर आउला नि त ।

१८ रोपनी जग्गा भाडामा लिएबापत शिला शालिग्रामले महानगरलाई २ लाख ७५ हजार रुपैयाँ मासिक बुझाउने सम्झौता छ । यतिसम्मकी कम्पनीले बसपार्कमा कति शुल्क उठाउँछ र ठेक्कामा लिएपछि उसले केके काम गर्छ भन्नेसमेत सम्झौतामा उल्लेख छैन ।

राष्ट्र बैंक चोकस्थित ४५ रोपनी क्षेत्रफलमा रहेको गल्फ कोर्स एक्सन बिल्डर्स प्रालिलाई ठेक्का दिइएको छ । २ लाख ७२ हजार रुपैयाँ मासिक भाडा बुझाउने गरी दिइएको ठेक्का सम्झौतामा विल्डर्सका विष्णु भण्डारी र मेयर जिसीले हस्ताक्षर गरेका छन् ।

यस्तै पृथ्वीचोकस्थित यातायात व्यवस्था कार्यालयले यसअघि सवारी ट्रायल सेन्टरको रुपमा प्रयोग गरेको करिब ५ रोपनी जग्गा राइजिङ प्रालिले १० वर्षका लागि ठेक्का पाएको छ । सवारी पार्किङ गर्ने, सटर बनाएर भाडामा लगाउने गरी दिइएको ठेक्कामा राइजिङका तर्फबाट गीरबहादुर पुन र समितिका तर्फबाट जिसीले नै हस्ताक्षर गरेका छन् । यो जग्गा प्रतिमहिना १ लाख ३५ हजार रुपैयाँ भाडा बुझाउने गरी ठेक्का लगाइएको हो ।

मेयर जिसीले नै हस्ताक्षर गरेर जाँदाजाँदै समितिको जग्गा ठेक्का लगाएपछि नागरिकस्तरबाट विरोध हुन थालेको छ भने नवनिर्वाचिन मेयर आचार्य चकित परेका छन् ।

हचुवाको भरमा पर्यटन बसपार्क निजी कम्पनीलाई ठेक्कामा दिइएको भन्दै पर्यटन व्यवसायीले समेत बिरोध गरेका छन् । पोखरा पर्यटन परिषदको नेतृत्वमा महानगर पुगेर मेयर आचार्य र प्रमुख प्रशासकीय अधिकृत रिज्याललाई भेटेर ठेक्काको यथार्थ सार्वजनिक गर्न भनेका छन् । ‘तर, मेयर र प्रमुख प्रशासकीय अधिकृत नै रनभुल्लमा देखिनुभयो, हामीले किन गुपचुपमा ठेक्का लिइयो, यथार्थ सार्वजनिक गर्नुस् भनेका छौं,’ परिषद अध्यक्ष गोपिबहादुर भट्टराईले भने ।

ठेक्का लगाएपछि फाइल नै गुपचुप राखिएको र असार १२ गतेमात्र ठेक्का सम्बन्धी जानकारी पाएको समितिका अन्य कर्मचारी बताउँछन् ।

यतिसम्मको जिल्ला प्रशासन कार्यालय कास्कीमा शुक्रबारमात्र टेण्डर खोल्ने भनेर पत्राचार गरिएको पाइएको छ । ‘पहिले नै टेण्डर लगाएर पुरानो मिति राखेर पत्र पठाइएको छ । चिठीमा पुरानो चलानी नम्बर राखेर पठाइएको छ प्रशासनमा जानकारी गराइएको छ,’ समितिका एक कर्मचारीले भने, ‘टेण्डर खोल्ने सम्बन्धी वैशाख २५ गतेको मिति राखेर शुक्रबारमात्र चलानी ढड्डामा पनि केरेर पुरानो मिति राखिएको छ ।’

समितिका प्रशासकीय अधिकृत अशोक सुनारले आफूले अध्यक्षको निर्देशनको पालनामात्र गरेको बताए । आफूले हस्ताक्षर गर्ने, ठेक्का लगाउने अधिकार नभएको र एउटा कर्मचारीका रुपमा अध्यक्षको निर्देशनमात्र मानेको उनको भनाइ छ ।

‘अध्यक्षले यसो गर भन्नुभयो, गर्नैपर्‍यो । म कार्यकारी पदमा भएको व्यक्ति होइन,’ सुनारले भने, ‘गलत हो या सही भनेर हेर्ने, अध्ययन, अनुसन्धान गर्ने निकाय छन् । यथार्थ बाहिर आउला नि त ।’

औपचारिक ढोकाबाट नभएको पाइयो : मेयर आचार्य

पोखराका मेयर धनराज आचार्यले समितिको औपचारिक बैठकबाट जग्गा भाडामा दिने निर्णय नभएको बताए । रातारात ठेक्कामा लगाउने काम भएकाले केही न केही नहुनुपर्ने काम भएको आफूले बुझेको उनको भनाइ छ ।

‘यो नगर विकास समितिको औपचारिक बाटोबाट नभएको र रातारात, हतारहतार गरेर ठेक्का दिइएको हुँदा यसमा केही न केही नगर्नु पर्ने कुरा छन् भन्ने बुझिन्छ,’ मेयर आचार्यले भने, ‘अब समितिको औपचारिक बैठक बसेर पुनमूल्यांक गर्छौं ।’

धनराज आचार्य ।

केही दिनभित्रै बैठक बसेर गलत भएको भए कारबाही गर्ने मेयर आचार्यले बताए । ‘फाइल डिटेलमा अध्ययन गर्न पाएका छैनौं । सुन्दै नसुनेको मिडियामा विज्ञापन दिएर जसरी रातारात भाडामा लगाउने काम भएको भन्ने सुनिएको छ,’ आचार्यले भने, ‘विज्ञापन निस्किएको पत्रिका त्यो दिन ३ कपिमात्र निस्किएको बुझेका छौं । यथार्थ छानबिन गरेर कारबाही गर्छौं ।’

छानबिन समिति बनाउँछौं : प्रशासकीय अधिकृत रिज्याल

बलराम रिज्याल ।

समितिका सदस्य सचिव रहेका पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले आफू नभएको मौका पारेर गलत बाटोबाट ठेक्का लगाउने काम भएको बताए । ‘म त्यो बेला बैदेशिक भ्रमणमा थिएँ । भ्रमणमा जानुअघि यस्ता कुनै पनि ठेक्काको प्रक्रिया अगाडि नबढाउनू भनेको थिएँ तर निमित्त लिएर ठेक्का लगाउने काम भएको भेटिएको छ,’ रिज्यालले भने, ‘यस विषयमा छानबिन समिति नै गठन गर्छौं र यथार्थ बाहिर ल्याउँछौं ।’

समितिको काम गर्नका लागि काजमा पठाइएको कर्मचारीबाट गलत मनसायले काम भएको हुनसक्ने उनको आशंका छ । ठेक्काका विषयमा आफूसँग कहिल्यै सल्लाह नभएको उनको दाबी छ । तर, समितिका अधिकृत भने यातायात व्यवस्था कार्यालयनजिकको ट्रायल सेन्टर भाडामा लगाउने सूचना निकाल्न रिज्यालले नै लेखेर दिएको दाबी गर्छन् ।

रिज्यालले भने आफूले निर्वाचनका बेला यस्तो काम गर्न नहुने र नयाँ जनप्रतिनिधि आएपछिमात्र अगाडि बढाउन भनेको बताउँछन् । महानगरले छानबिन समिति नै बनाउने, सबै फाइलहरुको अध्ययन गर्ने र गलत सम्झौतालाई खारेज गर्ने उनको भनाइ छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?