+
+

विदेश पढ्न जान ६ महिनामा ८२ हजारले लिए अनुमति, धेरैजसो अष्ट्रेलिया जाने

नुनुता राई नुनुता राई
२०७९ असार २१ गते १५:३२

२१ असार, काठमाडौं । विदेशमा अध्ययन गर्न जान पछिल्लो ६ महिनामा मात्रै ८२ हजार भन्दा बढी नेपालीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार २०२२ जनवरी १ देखि जुलाई ४ सम्म(१७ पुस २०७८ देखि २० असार २०७९ सम्म) ८२ हजार ४०९ वटा एनओसी जारी भएको छ ।

यो गत वर्षको तथ्यांक भन्दा करिब दुई गुणा बढी हो । शाखा प्रमुख हरिप्रसाद निरौला भन्छन् ‘गत वर्षमा वर्षभरिको तथ्याङ्क भन्दा करिब दुई गुणा बढी यो ६ महिनामा नै देखिएको छ ।’ शाखाका अनुसार १७ पुस २०७७ देखि १६ पुस २०७८ को एक वर्षमा ४५ हजार ८४३ एनओसी जारी भएको थियो ।

गत चैतमा एनओसी लिनेको संख्या अत्यधिक बढेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाले अनलाइनमार्फत मात्रै भेरिफिकेसन गरिरहेको छ । तर, पछिल्लो समय चाप निकै कम भएको शाखा प्रमुख निरौलाले बताए ।

उनले भने ‘अहिले धेरै कम भएको छ । हामीले व्यवस्थित गर्नको लागि लिन आउने समय पनि फरक फरक दिइरहेकोले सबैलाई सहज भएको छ ।’ शाखाले भीड व्यवस्थित गर्नको लागि भेरिफिकेसन भएको सूचनासँगै लिन आउने समय पनि तोकेर पठाउन थालेको जनाएको छ ।

अधिकांशको रोजाइ अष्ट्रेलिया

एनओसी लिनेमध्ये सबैभन्दा बढी अष्ट्रेलिया जान इच्छुक भएको एनओसी शाखाले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाले जारी गरेको ८२ हजार ४०९ एनओसी मध्ये ५९ हजार ७४८ अष्ट्रेलियाका लागि भएका छन् ।

त्यसैगरी जापानका लागि ९ हजार ४३५, अमेरिकाका लागि दुई हजार ४१९, बेलायतका लागि एक हजार ७२२, रसियाका लागि ४४६, थाइल्यान्डका लागि १२२ वटा एनओसी जारी भएको छ ।

तर एनओसी जारी भएको संख्या बराबर नै नेपाली विद्यार्थी विदेश नजाने शाखाको भनाइ छ । शाखा प्रमुख निरौलाले भने, ‘कुनै देश अथवा विश्वविद्यालयमा अध्ययन गर्न जानको लागि एउटा विद्यार्थीले ३ वटासम्म एनओसी लिनुपर्ने अवस्था छ ।’

उनका अनुसार जापान, फ्रान्स लगायतका देशमा जाँदा भाषाका लागि एउटा र एकेडेमिक कोर्सका लागि अर्को गरी दुई वटा एनओसी लिनुपर्छ । त्यसैगरी कुनै विश्वविद्यालयले कोर्सलाई पनि पनि डिप्लोमा र एडभान्स डिप्लोमा गरेर दुई वटा बनाएका हुन्छन् ।

त्यस्तो विश्वविद्यालयमा भाषाका लागि एउटा र दुई वटा कोर्सका लागि दुई वटा नै एनओसी लिनुपर्ने निरौलाले जानकारी दिए । अष्ट्रेलिया जाने अधिकांश विद्यार्थीले एउटा मात्रै एनओसी र कुनै विश्वविद्यालयले भने दुई वटा कोर्स बनाएकाले दुई वटा नै एनओसी लिनुपर्ने शाखाले जनाएको छ ।

आवेदन दिएपछि विश्वविद्यालयले पठाउने अफर लेटरको आधारमा विद्यार्थीले एकदेखि तीनवटासम्म एनओसी लिने गरेका छन् ।

शाखाले २०७७ भदौदेखि अनलाइन मार्फत भेरिफिकेसन दिन थालेदेखि जारी भएको १ लाख ४१ हजार ९९ एनओसीमध्ये करिब ४ हजार एनओसी फिर्ता भएको जनाएको छ ।

एउटा देश अथवा विश्वविद्यालयको लागि जारी भएको एनओसी फिर्ता नभएसम्म अर्को विश्वविद्यालय अथवा देशको लागि एनओसी लिन नपाइने भएकाले कतिपय विद्यार्थीले लिएको एनओसी फिर्ता गरेर अर्को लिने गरेको शाखाले जनाएको छ ।

शुल्क बढाउने तयारी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अब एनओसीको शुल्क पनि बढाउने तयारी गरेको छ । हाल एउटा एनओसी जारी गरेवापत दुई हजार रुपैयाँ शुल्क तोकिएको छ ।

यो शुल्क १५ वर्षअघि तय भएको र अब बढाउने तयारी गरेको शाखाले जनाएको छ । शाखा प्रमुख निरौलाले भने ‘धेरै समयको अन्तरमा बढाउन लागिएकाले दोब्बर हुने गरी बढाउने कि भन्ने कुरा भइरहको छ ।’

सरकारले २०७७ साल भदौदेखि २०७९ असार २० गतेसम्म एनओसीबाट २८ करोड १५ लाख राजश्व संकलन गरेको छ ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?