+
+

मलेसियाको विस्टर्न कम्पनीले शून्य लागतमा नेपाली लैजाने

पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । मलेसियाको सो कम्पनीले पहिलो चरणमा ४५० श्रमिक लैजान लागेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १९:३१

२१ असार, काठमाडौं । मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । मंगलबार यहाँ आयोजित एक कार्यक्रममा मलेसियाको विस्टर्न टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्विपक्षीय सम्झौता भएको छ ।

सम्झौतापत्रमा विस्टर्न टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गरे। सम्झौताअनुसार उक्त कम्पनीमा दुई मेनपावर कम्पनीमार्फत नेपाली श्रमिक शून्य लागतमा मलेसिया जान पाउनेछन् ।

मलेसियाको सो कम्पनीले पहिलो चरणमा ४५० श्रमिक लैजान लागेको छ । आकर्षण इन्टरनेशनलबाट १४० महिला र ६० पुरुष तथा लालधनुष इन्टरनेशनलबाट १७५ महिला र ७५ पुरुष श्रमिक मलेसिया जाँदैछन् । नेपाली श्रमिक मलेसिया लैजान कम्पनीको उच्च व्यवस्थापक टोली काठमाडौँमै आएको छ । बुधबार र बिहीबार श्रमिक छनोटका लागि अन्तर्वार्ता तोकिएको छ ।

छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने विस्टर्न टेक्नोलोजीका डेपुटी जनरल म्यानेजर डेभिडले बताए । ‘कामदारको सुरक्षा र स्वास्थ्यका बारेमा हामी अत्यन्त सजक छौँ,’ उनले भने, ‘नेपाली श्रमिक र मलेसियाका श्रमिकका बीचमा ज्याला तथा अवसरमा कुनै विभेद हुने छैन ।’

सो कम्पनीको विभिन्न चीन, भारत, ताइवान, मेक्सिको, चेक रिपब्लिक, फिलिपिन्सलगायत देशमा उद्योग रहेको छ । मलेसियामा मात्रै दुई उद्योग छन् । सो कम्पनीमा विभिन्न देशमा गरी करिब ८० हजार श्रमिक कार्यरत छन् । डेपुटी जनरल म्यानेजर डेभिडले श्रमिकको आरामदायी बसोबासका लागि आफ्नै अपार्टमेन्ट रहेको बताए ।

उक्त कम्पनीले नेपाली श्रमिकलाई न्यूनतम एक हजार ५०० मलेसियन रि¬ङ्गेट तलब पाउनेछन् । त्यसका अतिरिक्त भत्ता र बोनसका साथै वार्षिक बिदाको पनि व्यवस्था रहेको छ ।

आकर्षण इन्टरनेशनलका अध्यक्ष केसीले श्रमिकको न्यायोचित भर्नाको सुरुआत गरिएको र नमूना मेनपावर लक्ष्यसहित लागि परेको बताए । १८ वर्षदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउँदै आएको सो मेनपावरले सन् २०१५ देखि शून्य लागतमा श्रमिक पठाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?