+
+
सेयर बजार :

पूँजी वृद्धि : ब्रोकर सशंकित, लगानीकर्ता उत्साहित

विजय पराजुली विजय पराजुली
२०७९ असार २२ गते २१:३९

२२ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले पूँजीवृद्धि गर्दै खुला रुपमा ब्रोकरको लाइसेन्स दिने गरी कानुन संशोधनको प्रस्ताव गरेपछि पक्ष-विपक्षमा बहस सिर्जना भएका छन् । सेयर लगानीकर्ताहरूले यसलाई वर्षौंदेखि ब्रोकर प्रणालीमा रहेको लाइसेन्स राजको अन्त्यका रुपमा व्याख्या गरेका छन् भने कतिपयले कानुन कार्यान्वयन गर्न कठीन हुने र धितोपत्र बजार सीमित समूहको कब्जामा जाने आशंका व्यक्त गरेका छन् ।

मंगलबार नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिबाट धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ को संशोधित मस्यौदा स्वीकृत अर्थमन्त्रालयमा पठाएको छ । संशोधन प्रस्तावमा नयाँ ब्रोकर लागि खुला लाइसेन्स मापदण्ड लागू गर्ने प्रस्ताव गर्दै धितोपत्र व्यापारी (स्टक डिलर) लाइसेन्सको लागि १ अर्ब ५० करोड पूँजी प्रस्ताव गरेको छ । सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीलाई २० करोड, पूर्ण कार्य गर्ने धितोपत्र दलालको लागि ६० करोड चुक्ता पूँजी प्रस्ताव गरेको छ ।

धितोपत्र बोर्डले बजारको ‘मुटु’को रुपमा रहेको ब्रोकर प्रणालीमा कोटा राख्दा बजारको विकासमै असार परेकाले यस्तो गर्नुपरेको बताएको छ । धितोपत्र दलाल व्यवसायीको लाइसेन्सको लागि खुला नीति ‘ओपन इन्ट्री’ र ‘ओपन एक्जिट’ विश्वव्यापी अभ्यास कार्यन्वयनमा लैजान खोजेको दाबी बोर्डको दाबी छ ।

कार्यान्वयनमा आशंका

सरोकारवालाले  यस्तो व्यवस्थाले सीमित समूहलाई मात्रै लाभ हुने आशंका व्यक्त गरेका हुन् । धितोपत्र दलाल व्यवसायीहरुले कर्पोरेट हाउसको स्वार्थमा निर्णय भएको हुनसक्ने भन्दै बोर्डको निर्णयको आलोचना गरिरहेका छन् ।

धितोपत्र दलाल व्यवसायी, बजारका जानकारहरु मात्रै नभएर बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) कै अधिकारीहरू पनि सैद्धान्तिक रुपमा पूँजी वृद्धि आवश्यक रहको बताउँछन् । तर, बजारको विकास र विस्तार नहेरी एकैपटक ठूलो परिमाणमा पूँजी बढाउने निर्णय प्रश्नयोग्य भएको उनीहरुको भनाइ छ । एकैपटक बिना अध्ययन निर्णय हुँदा आशंका उत्पन्न भएको उनीहरु बताउँछन् । धितोपत्र दलाल व्यवसायीले व्यवसायीलाई विस्थापित गराउन सीमित समूहको एकाधिकार गराउने नियतसहित पूँजी बढाउन खोजिएको उनीहरुको आशंका छ ।

धितोपत्र बोर्ड सञ्चालक समितिले स्वीकृत गरेको नियमावलीको संशोधित मस्यौदाबाट बोर्डकै कतिपय अधिकारीहरू पनि अलमलमा छन् । बोर्ड सञ्चालक समितिले गरेको निर्णय सैद्धान्तिक रुपमा गलत नभए पनि कार्यान्वयनका लागि व्यवहारिक भने नभएको बोर्डका एक अधिकारीले बताए ।

‘लाइसेन्सको लागि खुला नीति कार्यन्वयन गर्ने र पूँजी बढाउने कुरा सैद्धान्तिक रुपमा गलत भन्न सकिदैन । यस विषयमा बोर्ड विगतदेखि नै पटक-पटक छलफल गरेको हो,’ बोर्डका ती अधिकारीले भने, ‘तर बजारको अवस्था र आवश्यकता,  विस्तारको सम्भावना र विकासको गतिसँगै कार्यन्वयनमा लैजानुपर्नेमा एक्कासी निर्णय गर्नुको औचित्य भने बुझ्न सकिएन ।’

उनका अनुसार विगतको नेतृत्व पनि पूँजी वृद्धि गर्ने र आवश्यकता अनुसार लाइसेन्स दिने कुरामा सकारात्मक थियो । तर, यसरी बिना अध्ययन नियमावली नै संशोधन प्रक्रियामा जाने कुराले अलमल भएको ती अधिकारी बताउँछन् ।

बोर्ड अध्यक्ष रमेश हमालले अर्थमन्त्री र प्रधानमन्त्रीको सुझावअनुसार नै  पूँजी वृद्धिसहित लाइसेन्स खुला गर्न नियमावली संशोधन प्रस्ताव तयार गरेर बोर्डबाट स्वीकृत भएको बताएका छन् । बोर्ड अध्यक्षले नै  अध्ययन र आवश्यकताका आधारमा भन्दा स्वतन्त्र रुपमा हुनुपर्ने निर्णय अर्थमन्त्री र प्रधानमन्त्रीको सुझावको आधारमा भएको बताउनुले कसको स्वार्थ र के आधारमा निर्णय भएको भन्ने स्पष्ट हुने धितोपत्र बजारका विज्ञ डा. गोपाल भट्ट बताउँछन् ।

‘आवश्यक हैन भनौ भने विश्वव्यापी रुपमा चलेको खुला बजार अनुसार लाइसेन्स दिने कुरालाई नकारात्मक रुपमा लिन सकिंदैन । प्रक्रिया पुरा गरेकालाई लाइसेन्स दिने र ब्रोकरको वर्गिकरण गर्ने कुरा सकारात्मक र स्वाभाविक हो । यो अभ्यास अन्य देशमा छ,’ उनले भने, ‘बजार विकास र विस्तार र सुधारका क्रममा सँगै अगाडि आएको भए यसमा कुनै  अन्यथा मान्न आवश्यक थिएन ।’

ब्रोकर वर्गीकरण गर्ने, लाइसेन्सलाई खुल्ला छोड्ने कुरा स्वभावित भए पनि यसमा कतिका पारदर्शिता कायम हुन्छ भन्ने कुराले अर्थ राख्ने उनको तर्क छ  । ‘प्स्तावित सबै प्रकारका लाइसेन्स अहिले तत्काल दिन आवश्यक हो की हैन ?  ब्रोकर लाइसेन्सको एजेन्डाले किन प्राथमिकता पायो ?’ उनले भने,’बोर्डमाथि अहिले यस्ता प्रश्न उठेका छन् ।’

ब्रोकरको पूँजीबारे प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिले भारत, बंगलादेश र श्रीलंका लगायतका देशको धितोपत्र बजारमा पुगेर गरेको एक अध्ययन नगरेको भने हैन ।  समितिले दलाल व्यवसायीले दिने सेवामा विविधीकरण आवश्यक रहेको बताउँदै १० करोड पूँजी सहित पब्लिक लिमिटेड कम्पनीमा लैजाने निर्देशन दिएको थियो ।साथै  समितिले अहिलेकै धितोपत्र दलाल व्यवसायीको शाखा विस्तार गरेर पहुँच विस्तार लगर्न सकिन्छ की सकिंदैन ? ब्रोकरको शाखा विस्तार गरेर नै पहुँच विस्तार किन नगर्ने ? जस्ता दजनौं सवाल उठाएको थियो ।

तर, धितोपत्र बोर्डले भने कुनै विस्तृत अध्ययन गरेको छैन । अहिलेको ब्रोकरलाई पाखा लगाउने उद्देश्यले मात्रै पूँजीवृद्धि गर्न लागिएको हो कि भन्ने शंका गर्नुपर्ने अवस्था रहेको नेपाल ब्रोकर एसोसिएसनका निवर्तमान अध्यक्ष भरत रानाभाट बताउँछन् ।

‘एकपटक दुई वर्षमा ३० गुणाले पूँजी बढाउने कुरा व्यवहारिक छ, कि छैन भनेर हामी छलफलमा छौं,’ उनले भने । एकैपटक ३० गुणाले पूँजी वृद्धि न्यायोचित नभएको उनको भनाइ छ ।

अर्का दलाल व्यवसायी नरेन्द्र  सिंजापति पनि पूँजीवृद्धि गर्दा नै विरोध गर्नुपर्ने विषय नभएपनि कुन उद्देश्यसहित उक्त व्यवस्था गर्न लागियो भन्ने कुरा महत्वपूर्ण हुने बताउँछन् ।

‘बोर्डले प्रस्ताव गरेको पूँजीले सीमित समूहलाई मात्रै दलाल व्यवसायीको काम गर्ने वातावरण तयार गर्छ, यसले दलाल व्यवसायीको संख्यालाई सीमित गरेर झनै सिन्डिकेट सिर्जना हुन्छ,’ उनले भने, ‘प्रस्तावित व्यवस्था धितोपत्र बजारको हितमा छैन, के कारणले पूँजी बढाउन लागियो, २२५ वटा सूचीकृत संस्था भएको र अहिलेको पूँजीकरणमा यति धेरै पूँजी दलाल व्यवसायीका लागि आवशयक छ त ?’

धितोपत्र बजार सञ्चालक नेप्सेका अधिकारीहरू पनि बोर्डले नसोचेको निर्णय गरेको बताउँछन् । बोर्डको निर्णयमा सैद्धान्तिक रुपमा नेप्से पनि सहमत रहेको  नेप्सेका एक अधिकारीले बताए ।

तर, अहिले सञ्चालनमा रहेको दलाल व्यवसायीले दुई वर्षभित्र २० करोड र ६० करोड पूँजी पुर्‍याउन पनि नसक्ने र आवश्यक पनि नरहेको उनको तर्क छ । ‘विकसित पूँजी बजारको सपना देख्ने हो भने बोर्डले गरेको निर्णय सही छ, तर १/२ वर्षमा नै त्यसलाई कार्यन्वयन गर्न सकिन्छ भन्ने लाग्दैन,’ उनले भने, ‘६० करोड लगानी गरेर ब्रोकर लाइसेन्स पाइएला तर, अहिलेको बजारमा यति ठूलो लगानी गरेर के गर्ने ?’

पहिले बजारको विकास गर्ने र सोहीअनुसार आवश्यक पूर्वाधार पनि थप गर्दै जाने नीति लिनुपर्ने उनको भनाइ छ । अहिलेको बजारमा ६० करोड  लगानी गरेर ब्रोकर सञ्चालन गर्न सम्भव नरहेको उनको दाबी छ ।

लगानीकर्ता उत्साहित

बोर्डका अध्यक्ष रमेशकुमार हमाल भने प्रस्तावित व्यवस्थाहरु धितोपत्र बजारको व्यवस्थापनमा कोसेढुंगा सावित हुने दाबी गर्छन् । ‘ब्रोकर सिस्टम भनेको बजारको मुटु हो, यो सिस्टम सबल नभई लगानीकर्तालाई गुणस्तरीय र भदरपर्दो रुपमा सेवा दिन सकिंदैन,’ उनले भने, ‘नियमनकारी बोर्डले त्यसलाई ध्यानमा राखेर यसखालको वर्गीकरणसहितको प्रस्ताव गरेको हो ।’

नेप्सेले विगतमा विभिन्न अध्ययनमार्फत पूँजी बढाउने तथा वर्गीकरण गर्नुपर्ने लगायतका सुझाव दिएको र अहिले पनि सैद्धान्तिक रुपमा बोर्डको निर्णयको पक्षमा रहेको उनले बताए । यद्यपी व्यवहारिक रुपमा भने बोर्डको निर्णय कार्यन्वयन चुनौपतिपुर्ण रहेको उनले बताए ।

बोर्डले गरेको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएमा निश्चित कोटा तोकेर आवेदन माग हुने र त्यसमा हुने चलखेल अन्त्य हुनेछ । यससँगै प्रक्रिया पुरा गर्ने र बजारमा स्वच्छ प्रतिस्पर्धा गर्ने बाटो पनि खुल्नेछ भने लाइसेन्स वितरणमा नेप्से र धितोपत्र बोर्डको तजबीजी अधिकार कटौती हुनेछ ।

लगानीकर्ताहरु भने विगतका अध्ययनबाट नै यस्तो नीति आएकाले यसलाई स्वागत गरिरहेका छन् ।

सरकारले २० मंसिर २०७५ सालमा मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृत्तिहरुको समग्र मूल्यांकन गरेर सुझाव दिन तत्कालीन डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा कमिटी गठन गरेको थियो ।
नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष तथा सरकारले गठन गरेको सोही समितिकी सदस्य राधा पोखरेलका अनुसार वित्तीय स्थायित्व एवम् लगानीका लागि वित्तीय स्रोत व्यवस्थापनमा देखिएका समस्याहरु पहिचान गरेर बजारका समस्याहरुमा ५८ वटा बुँदासहित बैंकलाई ब्रोकर बनाउन सुझाव पेश गरेको थियो ।

पोखरेलले धितोपत्र बोर्डको यो कार्य स्वागतयोग्य भएको बताएकी छिन् । पछिल्लो निर्णयले धितोपत्र बजारमा विद्यमान रहेको सिन्डिकेट तोडिने र बजारको यथोचित वृद्धि विकास हुने भएकाले आम लगानीकर्तामा हर्षोल्लास छाएको उनको भनाइ छ ।

‘संघले विगत ४/५ वर्षदेखि नीति बनाउनेदेखि कार्यान्वयन तहमा यसको कार्यान्वयनका लागि पहल गर्दै पछिल्लो समय प्रधानमन्त्रीज्यू सामुन्ने पनि छलफल गरेको थियो,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्,’ धितोपत्र बोर्डले गरेको यो व्यवस्थाहरु भर्खरै बामे सर्दै गरेको पूँजीबजारमा कोसेढुंगा सावित हुनेछ । जबसम्म जग बलियो रहदैन तबसम्म घर बलियो हुँदैन ।’

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?