+
+
Shares

गोलचक्करमा कांग्रेस बैठक : महाधिवेशन नियमित कि विशेष ?

कांग्रेस केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशनको लागि संकलित हस्ताक्षरले चर्चा पाएको छ । महामन्त्री गगन थापाले प्रस्तुत गरेको कार्यतालिकाअनुसार १५औं महाधिवेशन हुन नसके विशेषमा जानुपर्ने एक पक्षको तर्क छ । कतिपय नेता भने विशेष महाधिवेशन गरे पार्टी विभाजन हुने डर देखाइरहेका छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ कात्तिक १९ गते २०:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले १५औं महाधिवेशन पुस १६ देखि १९ सम्म गर्ने महामन्त्री गगन थापाको प्रस्तावमा छलफल गरिरहेको छ।
  • सहमहामन्त्री महेन्द्र यादवले चुनावपछि महाधिवेशन गर्ने छुट्टै प्रस्ताव पेस गरेका छन् र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले त्यो व्यक्तिगत धारणा भएको जानकारी गराएका छन्।
  • केन्द्रीय सदस्यहरूले नियमित महाधिवेशन र विशेष महाधिवेशनबारे मतभेद राखेका छन् र पार्टी फुट्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

१९ कात्तिक, काठमाडौं । २८ असोजदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन सातापछि एजेन्डा केन्द्रित छलफलमा प्रवेश गरेको छ । बुधबारको बैठकमा पार्टीको महाधिवेशन नियमित कि विशेष भन्ने विषयमा तर्क-वितर्क भए । बैठक महाधिवेशन वरपर घुमिरह्यो ।

महामन्त्री गगन थापाले मंगलबार पेस गरेको प्रस्तावमा पुस १६ देखि १९ सम्म १५ औं महाधिवेशन गर्ने उल्लेख छ । हिजोको बैठकमा सहमहामन्त्री महेन्द्र यादवले चुनावपछि महाधिवेशन हुनेगरी छुट्टै प्रस्ताव प्रस्तुत गरेका थिए ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आजको बैठकमा सहमहामन्त्री यादवको प्रस्ताव व्यक्तिगत रहेको जानकारी गराएका थिए ।

बुधबारको बैठकको प्रारम्भमा बोल्दै गर्दा सहमहामन्त्री फरमुल्लाह मन्सुरले सहमहामन्त्री यादवको प्रस्ताव विधिसंगत नआएको उल्लेख गरेका थिए । सभापतिको सल्लाहमा महामन्त्रीले प्रस्ताव ल्याउने विगतको प्रचलन रहेको मन्सुरले बताएपछि कार्यवाहक सभापति खड्काले सहमहामन्त्री यादवले पेस गरेको कार्यतालिका व्यक्तिगत भएको जानकारी गराएका थिए ।

विगतमा सभापति शेरबहादुर देउवा समूहमा रहेका केही नेता महामन्त्री गगन थापाको प्रस्तावको पक्षमा उभिएका छन् । १४औं महाधिवेशनका संस्थापन पक्षबाट सहमहामन्त्रीमा निर्वाचित फरमुल्लाह मन्सुर खुलेर महामन्त्री थापाको पक्षमा बोलेका हुन् ।

‘केन्द्रीय समितिले उहाँको व्यक्तिगत धारणा भनिसकेपछि आज कुन पत्रिका र कुन मिडियाले के लेख्यो भन्ने कुरा सान्दर्भिक होला जस्तो लाग्दैन । सबैको ध्यानाकर्षण यो विषयमा गराएँ,’ कार्यवाहक सभापति खड्काले बैठकमा भने ।

सहमहामन्त्री यादवले २७-३० वैशाखसम्म १५औं महाधिवेशन गर्नुपर्ने प्रस्ताव राख्दै केन्द्रीय समिति बैठकमा कार्यतालिका प्रस्तुत गरेका थिए ।

विगतमा सभापति शेरबहादुर देउवा समूहमा रहेका केही नेता महामन्त्री गगन थापाको प्रस्तावको पक्षमा उभिएका छन् । १४औं महाधिवेशनका संस्थापन पक्षबाट सहमहामन्त्रीमा निर्वाचित फरमुल्लाह मन्सुर खुलेर महामन्त्री थापाको पक्षमा बोलेका हुन् ।

दुई महामन्त्री थापा र विश्वप्रकाश शर्माको सक्रियतामा संकलन भएको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरको पक्षमा उनी खुले । विशेष महाधिवेशन गरी महामन्त्री थापालाई सभापति बनाएर भावी प्रधानमन्त्रीमा उनकै नाम प्रस्ताव गरेर चुनावमा जानुपर्ने तर्क मन्सुरको थियो ।

‘जसको प्रभाव छ, त्यसलाई मूल्यांकन गरेर यहींबाट एउटा नयाँ निर्णय गरौं । संघीय निर्वाचनमा हाम्रो पार्टीको तर्फबाट प्रधानमन्त्री गगन भनेर जाऔं,’ सहमहामन्त्री मन्सुरले भने, ‘म कुरा लुकाएर हिँड्ने मान्छे होइन । आम जनताको भावनाको निष्कर्ष मैले राखेको छु । नेपाली जनताले कांग्रेस सभापति र प्रधानमन्त्रीको उम्मेदवार गगन भए राम्रो हुन्छ भनेको सुनेको छु ।’

कांग्रेसले जनतासमक्ष जाँदा देखाउने अनुहार महामन्त्री थापा भएको दाबी गर्दै मन्सुरले गरेका थिए ।

महाधिवेशन चुनावअघि वा पछि भन्दै पार्टीका नेताहरू दुई कित्तामा उभिइरहेको बेला केन्द्रीय सदस्य एवं योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेल चुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा देखिए । महामन्त्री थापाले मंगलबार प्रस्ताव गरेको कार्यतालिकाअनुसार १५औँ महाधिवेशन हुनुपर्ने विचार पोखरेलले राखेका थिए ।

महामन्त्री थापाले पुस १६ देखि १९ सम्म नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गरेका थिए । केन्द्रीय समिति बैठकमा पोखरेलले भने, ‘अहिलेसम्म हामीबीच महाधिवेशन कहिले गर्ने भन्ने प्रश्नमा मतैक्य हुन नसकिरहेको हो भन्ने मलाई लाग्छ । नियमित महाधिवेशनका सम्बन्धमा महामन्त्री गगनकुमार थापाको प्रस्तावले सबैलाई एउटै बिन्दुमा ल्याउँछ जस्तो लाग्छ ।’

गण्डकीका मुख्यमन्त्री एवं केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले एक पक्षले पुसभन्दा उता महाधिवेशन हुन नहुने र अर्को पक्षले वैशाख यता नहुने भनी अडान राख्न नहुने विचार राखे । नियमित महाधिवेशनको कार्यतालिका पारित गरेर निर्वाचन भएको अवस्थामा हेरफेर गर्न सकिने उनले बताए ।

अर्का केन्द्रीय सदस्य मदन अमात्य चुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा देखिए । नेता अमात्यले पार्टीको नियमित महाधिवेशन छलफलको विषय नै नभएको जिकिर गरे । ‘नियमित अधिवेशन छलफल गर्ने विषय नै होइन,’ उनले भने, ‘ठिक टाइममा गरिहाल्नुपर्छ । चुनाव नगर्ने अनि हामी लोकतन्त्रवादी भनेर बस्ने ?’

नियमित महाधिवेशन हुन नसक्ने अवस्था बने विशेष महाधिवेशन गर्नुपर्ने अडानमा दुई महामन्त्री र संस्थापन इतरका नेताहरू छन् ।

आजको केन्द्रीय समितिको बैठकमा महामन्त्री थापाले पेस गरेको समयतालिकाअनुसार नियमित महाधिवेशन हुन नसके विशेष गर्नुपर्ने तर्क केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले गरे ।

पार्टी बैठकमा जेनजीका मागहरू सम्बोधन नगरी चुनावमा जाँदा मत माग्नै नसकिने चिन्ता व्यक्त भएको छ ।

विधानको व्यवस्था उल्लेख गर्दै बैठकमा सिवाकोटीले भने, ‘तपाईंहरू विधान मान्नुहुन्छ भने मंसिरभित्र महाधिवेशन गर्न तयार हुनुस् । विशेष महाधिवेशन टार्ने हो भने २९ पुसअघि १५औँ महाधिवेशनको कार्यतालिकामा सहमति जनाउनुस् । नत्र विधानले बाध्य बनाउने विशेष महाधिवेशन रोक्न कसरी सक्नुहुन्छ जवाफ दिनुस् ।’

केन्द्रीय सदस्य अमात्यले सभापति शेरबहादुर देउवाको परिवारप्रति बैठकमा रोष प्रकट गरेका थिए । अमान्यले देउवापत्नी डा. आरजु राणाको नाम उल्लेख नगरी उनलाई आदर गर्न नसकिने बताए ।

‘सभापतिलाई अहिले पनि आदर गर्छु । तर सभापतिको परिवारलाई म मान्दिनँ । दास होइन हामी । दासत्व स्वीकार गर्न सक्दिनँ म,’ उनले भने, ‘प्रजातान्त्रिक अधिकार बोक्न पाइन्छ भनेर आएको हो । कुनै नेताको परिवारलाई बोकेर, दासत्व स्वीकार गरेर हिँड्न सकिँदैन । त्यसकारण परिवर्तन चाहिन्छ । परिवर्तन आउनुपर्छ ।’

पार्टी बैठकमा जेनजीका मागहरू सम्बोधन नगरी चुनावमा जाँदा मत माग्नै नसकिने चिन्ता व्यक्त भएको छ । संस्थापन पक्षकै केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले आफ्नै पक्षका नेताहरूलाई चुनावी एजेन्डा र दृष्टिकोण माग गरे ।

‘धेरै नेताले चुनावमा जाऔँ, अधिवेशन पर पुर्‍याऔँ भन्नुभयो । अधिवेशन पर पुर्‍याएर हाम्रो दृष्टिकोण के हो त ? हाम्रो एजेन्डा के हो त ?,’ उनले प्रश्न गरे ।

नेता शेर्पाले कांग्रेसप्रति जनता रुष्ट रहेको उल्लेख गर्दै गाउँघरका मतदाता लौरो र प्रश्न बोकेर बसिरहेको बताए ।

‘हामीले चुनाव-चुनाव भनिरहँदा के लिएर चुनावमा जाने ? चुनाव भनेको यान्त्रिकता हो ? कांग्रेस आयो भनेर भोट फरफर आउने हो ?,’ शेर्पाले प्रश्न गरे, ‘कांग्रेसलाई भोट दिन जनता पर्खेर बसेका छन् ? जनता त लौरो लिएर बसेका छन् । हजारौँ प्रश्न लिएर बसेका छन् ।’

जेनजी आन्दोलनले कांग्रेसको संगठनात्मक संरचनालाई ‘ग्राउन्ड जिरो’ मा पुर्‍याएको शेर्पाको निष्कर्ष थियो । बैठकमा तल्लो तहको अवस्था व्याख्या गर्दै उनले सुनाए, ‘अहिले हामीले त्यो ग्राउन्ड जिरोबाट उठाएर पार्टी संगठनलाई कसरी निर्माण गर्ने भनेर आत्मसमीक्षा गर्नुपर्ने ठाउँमा एक्कासि चुनावको मात्रै कुरा गरिराखेका छौँ ।’

बुधबारको बैठकमा विचार राख्ने नेताहरू उदयशमशेर राणा, जीवनबहादुर शाही लगायतले विशेष महाधिवेशनले पार्टी विभाजनतर्फ जाने चिन्ता व्यक्त गरे ।

केन्द्रीय सदस्य एवं कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही पनि विशेष महाधिवेशनले पार्टीमा विग्रह ल्याउने दाबी गर्छन् ।

केन्द्रीय सदस्य राणाले विशेष महाधिवेशनले पार्टी चक्रब्यूहमा फस्ने टिप्पणी गरे । ‘विशेष महाधिवेशनमा गर्‍यौं भने महाभारतको चक्रब्यूहमा पसेको जस्तै हुन्छ । त्यो चक्रब्यूहमा हामीहरू छिर्न सक्छौं । तर बाहिर कसरी आउँछौं हामीलाई थाहा छैन,’ राणाको निचोड थियो, ‘कुनै पनि हालतमा हामी विशेष महाधिवेशनमा जानु हुँदैन। पार्टी फुट्ने सम्भावना हुन्छ ।’

नियमित महाधिवेशन नभए विशेष हुनुपर्ने जोडसहित नेताहरूले त्यसका लागि दबाब बढाइरहेको बेला राणाले विभाजन भएको इतिहास स्मरण गरे ।

देउवाको नेतृत्वमा कांग्रेस विभाजन भई कांग्रेस प्रजातान्त्रिक गठन भएको तत्कालीन समय स्मरण गर्दै राणाले भने, ‘म सम्झिन्छु, प्रजातान्त्रिक कांग्रेस र कांग्रेस छुट्टिँदा त्यतिबेलाको पहिलो भेलामा मेरो बुवा सागर शमशेर जिल्ला सभापति हुनुहुन्थ्यो । आजको दिनसम्म पनि मैले गल्ती गरें भन्ने उहाँको मनमा छ ।’

पुस वा वैशाखमा नियमित महाधिवेशन गर्नुपर्ने उनको जोड थियो ।

केन्द्रीय सदस्य एवं कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही पनि विशेष महाधिवेशनले पार्टीमा विग्रह ल्याउने दाबी गर्छन् । विशेष महाधिवेशनको पक्षमा संकलित ५४ प्रतिशत हस्ताक्षर झुटो हुनसक्ने आशंका समेत उनले गरे ।

शाहीले बैठकमा भने, ‘मैले बुझेको विशेष महाधिवेशन भनेको हाम्रो समय हुँदाहुँदै नेतृत्व सक्षम भएन भनेर हटाएर अर्को ल्याउने भन्ने होला । आज त हाम्रो करिबकरिब सबै समय अवधि सिद्धिसकेको छ ।’

शाहीले महामन्त्री थापा र सहमहामन्त्री यादवले प्रस्तुत गरेको महाधिवेशनको कार्यतालिकाबाट साझा मिलनबिन्दु खोजेर नियमित महाधिवेशन गर्न सकिने विकल्प देखाए ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?